नेभिगेशन
सबै कुरा

इजरायलमा हमासको आक्रमण, के हो 'हमास', किन गर्दैछ आक्रमण ?

शनिबार प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गर्दा ३५० भन्दा बढीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हजारौँ घाइते छन् । जस मध्ये ९ नेपाली विद्यार्थीहरू पनि घाइते छन् । हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकपर्ने किवुज अलुमिनमा १४ जना नेपाली छन् जस मध्ये ९ जना घाइेत भएको इजरायलस्थित नेपाली दुतावासले जनाएको छ । इजरायलमा ४ हजार ५ सय भन्दा धेरै नेपाली छन् । जस मध्ये २ सय ५० कृषि पढ्न गएका विद्यार्थीहरु छन् । इजरायल स्थित नेपाली दुतावासका अनुसार घाइते विद्यार्थीहरुको उपचार र उद्धारका लागि समन्वय भैरहेपनि नेपाली विद्यार्थी भएको क्षेत्र विद्रोही हमासको कब्जामा भएकाले मुस्किल भैरहेको छ । 

अहिले इजरायल र प्यालेस्टाइनी समूह हमासले स्थल, हवाई र समुद्रीबाटो प्रयोग गरि लडिरहेका छन् । हमासले शनिबार बिहान २० मिनेटमा ५ हजार रकेट इजरायलको मध्य - दक्षिणी क्षेत्रमा खसालेको थियो । त्यसपछि तारजाली सहितका पर्खालमा डोजर चलाएर भत्काउँदै अघि बढेका थिए भने प्यारासुटबाट समेत इजरायल छिरेका छन् । 

CG

हमासको 'अप्रेसन अल अक्सा प्लड भर्सेस' इजरायलको 'अप्रेसन आइरन सोर्ड'

 हमासले 'अप्रेसन अल अक्सा प्लड' नाम सैन्य कारबाही भएको बताएका छ । इजरायली भूमिभित्र पसेका हमास लडाकुले सीमानजिक यहूदी बस्ती कब्जामा लिने, बाटोमा देखिएका मानिसमाथि अन्धाधुन्ध गोली हान्ने र सयौँलाई नियन्त्रणमा लिएर गाजातर्फ अपरहण गरेर लगेको सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीहरूले इजरायलको थुनामा रहेका आफ्ना लडाकु छुटाउन पुग्ने सङ्ख्यामा इजरायलीलाई कब्जामा लिएको दाबी गरेका छन् । लडाकु समुह हमासको 'अप्रेसन अल अक्सा प्लड'को जवाफमा इजरायलले अप्रेसन आइरन सोर्ड घोषणा गरेको छ । हमासको जवाफ आक्रमण स्वरुप इजरायलका लडाकु विमानले गाजा क्षेत्रमा बमबारी सुरु गरेको बीबीसीले जनाएको छ । गाजा पट्टी पनि दुई सय भन्दा धेरै मारिएको जनाएको छ । 


के हो 'हमास' ? 

'हमास' सन् १९८७ मा स्थापना भएको एक प्यालेस्टाइनी लडाकु समूह हो । सन् २००६ मा प्यालेस्टाइनी विधायक निर्वाचन जितेपछि यो समुहले गाजा क्षेत्रलाई कब्जा गरेर शासन गर्दै आएको छ । अलजजिराका अनुसार हमासको बडापत्रमा प्यालेस्टाइनलाई पुर्ण स्वतन्त्र बनाउने र इस्लामिक राज्य स्थापना गर्ने बताएको छ । हमासले धार्मिक इकाई, समाजिक सेवा इकाई र लडाकु इकाई बनाएको छ । हमासले गाजापट्टी र वेस्ट बैंकसँगै इजरायलको क्षेत्रलाई समेत प्यालेस्टाइनको आफ्नो क्षेत्र दाबी गर्दै आएको छ । हमासले शासन चलाइरहेको गाजा क्षेत्रमा २००६ पछि निर्वाचन भएको छैन । यि सबै क्षेत्रलाई जोडेर इस्लामिक राज्य स्थापना गर्न खोजिरहेको छ । हमासलाई इजरायल सहित मित्रराष्ट्र अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र जापानले हमास समूहलाई आतङ्कवादी संगठनको भन्ने गरेका छन् । 

'हमास'ले किन गर्यो आक्रमण ? 

अलजजिरासँग कुरा गर्दै हमासका सैन्य कमान्डर मोहम्मद डेइफले ‘पृथ्वीको अन्तिम अतिक्रमण अन्त्यका लागि ठूलो लडाइँ सुरु भएको’ टिप्पणी गरेका छन् । यस्तै हमासका प्रवक्ता खालिद कदोमीले आफूहरूको सैन्य कारबाहीलाई प्यालेस्टाइनले इजरायली पक्षबाट दशकौँदेखि भोगिरहेको अत्याचारको जवाफ भएको बताएका छन् । कदोमीले अलजजिरासँग भनेका छन् ‘हामीहरू अन्तर्राष्ट्रिय समुदायलाई गाजा, प्यालेस्टाइनी जनता र अल–अस्कामाथि भइरहेको अत्याचार रोक्न ध्यानाकर्षण गर्न चाहन्छौँ,’ 

कहाँकहाँ भयो आक्रमण ? 

हमासको रकेट आक्रमणको निसाना मध्य तथा दक्षिण इजरायल भए पनि केही रकेट इजरायलको राजधानी तेल अभिभसम्म पुगेकाे अलजजिराले उल्लेख गरेको छ । अलजजिराका अनुसार अहिले इजरायलका बस्तीमा छिरेका हमास लडाकुहरूले अन्धाधुन्ध गोली चलाइरहेका छन् । टाइम्स अफ इजरायलका अनुसार कफार अज, स्देरोत, साफु, नहाल ओज, मगेन, बेएरीरिएम लगायतका बस्ती हमास लडाकुको निसानामा परेका छन् । त्यहाँ हमास लडाकुहरू हतियार सहित घुमिरहेका छन् । इजरायलाको जवाफ 'हमास'को आक्रमण पछि इजरायलले गाजा क्षेत्र लक्षित आक्रमण गरिरहेको छ । इजरायलका प्रधानमन्त्री हमासले युद्ध सुरु गरेको बताउँदै इजरायलले त्यसलाई जितेरै छोड्ने बताएका छन् । अलजजिरासँग कुरा गर्दै हमासले इजरायलविरुद्ध युद्ध सुरु गरेर गम्भीर गल्ती गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय शक्ति को कता ? 

अमेरिकालगायत पश्चिमी राष्ट्रले इजरायल – प्यालेस्टाइन द्वन्द्वमा सधैँ इजरायलको ‘आत्मरक्षाको अधिकारको पक्ष’मा रहेको टिप्पणी गर्ने गरेका छन् । यसपटक पनि सबै पश्चिमी राष्ट्रले उस्तै प्रतिक्रिया दिएका छन् । अमेरिकाले इजरायललाई बर्सेनि ३.८ अर्ब डलरको निसर्त सैन्य अनुदान दिँदै आएको छ । हमासको आक्रमणपछि इजरायली प्रधानमन्त्री नेतान्याहु र अमेरिकी राष्ट्रपति बाइडेनबीच फोन वार्ता भएको छ । बाइडेनले आफूहरू इजरायलको पक्षमा अटल रूपमा उभिएको र इजरायलको आत्मरक्षाको अधिकारको पूर्ण समर्थन रहेको दोहोर्‍याएको इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ । यस्तै अमेरिकी रक्षामन्त्री ल्योयड अस्टिनले इजरायलको सुरक्षा प्रत्याभूत गर्न काम गर्ने बताएको इजरायली संचार माध्यले जनाएका छन् ।

यस्तै फ्रेन्च राष्ट्रपति इम्यानुयल म्याक्रो र डच प्रधानमन्त्री मार्क रुटले पनि इजरालयको आत्मरक्षाको अधिकारप्रति पूर्ण समर्थन जनाएका छन् । युरोपेली संघका विदेश विभाग प्रमुख जोसेफ बोरेलले इजरायलप्रति ऐक्यबद्धता जनाएका छन् । बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले पनि हमासको आकस्मिक आक्रमणको भर्त्सना गरेका छन् । 


इरान हमासको समर्थनमा 

इजरायलको अस्तित्व नै नमान्ने इरानले भने प्यालेस्टाइनी आक्रमणको समर्थन गरेको छ । इरानका सर्वोच्च नेता अलि खामेनीका सल्लाहकारले पछिल्लो आक्रमणमा संलग्न प्यालेस्टाइनी लडाकुलाई बधाई दिएको मिडियालाई जानकारी गराए । इजरायललाई शत्रु मान्ने छिमेकी लेबनानमा सक्रिय हेबजुल्ला समूहले पनि गाजामा भइरहेको घटनाक्रमप्रति नजिकबाट अवलोकन गरिरहेको जनाएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । कतारले भने पछिल्लो तनावका लागि इजरायल जिम्मेवार भएको भन्दै संयमता अपनाउन आग्रह गरेको छ । कतारको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यो घटनालाई गाजाका प्यालेस्टाइनी जनताविरुद्ध क्षति र्पुयाउने आक्रमणको बहाना बनाउनबाट रोक्न आह्वान गरेको छ । साउदी अरबले भने इजरायली र प्यालेस्टाइनबीचको हिंसा रोक्न आह्वान गरेको छ । 


इजरायल र प्यालेस्टाइनको द्वन्द्वको इतिहास

 यो तनाव यहूदी र अरबी बिचको हो । इजरायल यहुदीहरूको मुलुकको हो भने प्यालेस्टाइन अरबी । भूमिमाथि आफ्नो समुदायको नियन्त्रण जमाउन लडिरहेका इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्व निकै लामो समय देखि जेलिएको छ । दोस्रो विश्वयुद्धको अन्त्य अघिसम्म बेलायतको म्यान्डेट भूमि रहेको प्यालेस्टाइनलाई युद्धपछि संयुक्त राष्ट्रसंघले यहूदी र अरबबीचमा विभाजित गर्ने प्रस्ताव पारित गरेको थियो । विश्वभर विशेषतः युरोपमा छरिएर रहेका र ठाउँठाउँमा विभेद भोगेका यहूदीहरू तिनको आफ्नै भूमि खोजिरहेका थिए । त्यसैले तिनले तत्काल सो प्रस्ताव स्विकारे । केही यहूदीले सोही क्षेत्रमा आफुहरूलाई राष्ट्र निर्माण गर्न दिनुपर्ने अभियान चलाइरहेका थिए । दोस्रो विश्वयुद्धमा नाजीहरूको चरम यातना भोगेकाले उनीहरूप्रति सहानुभूति पनि थियो । तर, सो भूमिमा हजारौँ वर्षदेखि बस्दै आएका अरबीहरूले उक्त प्रस्तावलाई नमान्ने घोषणा गरे । यहूदीहरू पनि सङ्गठित हुँदै थिए र उनीहरूबीच विभिन्न सशस्त्र समूह निर्माण भइसकेको थियो । संयुक्त राष्ट्रसंघको प्रस्तावित भूमिलाई जब यहुदी नेताहरूले इजरायलका रूपमा स्वतन्त्र राष्ट्र घोषणा गरे, तब प्यालेस्टाइन वरपरका अरब मुलुकले उनीहरूविरुद्ध युद्ध घोषण गरे । सो युद्धमा इजरायली पक्षले अरबी फौजलाई हरायो । इजरायलले उसको भूमि थप बढायो । उसले गाजापट्टी र पश्चिमी किनारबाहेक पहिले ब्रिटिस शासन अन्तर्गत रहेको सम्पूर्ण भूभागमा कब्जा जमाउन सफल भयो । त्यसपछि पनि पटक–पटक इजरायल र अरबी लडाइँ चलिरह्यो । इजरायललाई पश्चिमी मुलुकहरूको सैन्य सहयोग थियो भने इजरायललाई अरबी मुलुकहरुको तर विस्तारै अरबी मुलुकहरूले पनि इजरायलसँग सम्बन्ध सुमधुर बनाउँदै गएका थिए । इजरायल झने शक्तिशाली बन्दै गयो । इजरायलले गाजापट्टी र पश्चिम किनारामा रहेका प्यालेस्टाइनमाथि अत्याचार गर्न थाल्यो । तिनको प्रतिरोधमा प्यालेस्टाइनमा जन्मिएका धेरै समुह मध्ये हमास शक्तिशाली बन्यो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पुर्‍यायो । लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा...
गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु

“आज हामी सबैका लागि अत्यन्त पीडादायी दिन हो”, मुख्यमन्त्री सावन्तले विज्ञप्तिमा उल्लेख गरेका छन्, “२५ जनाले ज्यान गुमाउनुभएको छ र छ जना घाइते हुनुभएको छ ।” उनले पत्रकारहरूसँग...
अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

युएस जियोलोजिकल सर्भेका अनुसार २०ः४१ जिएमटीमा गएको उक्त प्रमुख कम्पनपछिको तीन घन्टाभित्र ५.१ देखि ३.३ म्याग्निच्युडका झण्डै ३० वटा परकम्प महसुस गरिएको थियो ।
सामुद्रिक टापु ‘मदेइरा’मा नेपाली दूतावासको घुम्ती शिविर

सामुद्रिक टापु ‘मदेइरा’मा नेपाली दूतावासको घुम्ती शिविर

राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई घुम्ती शिविरमार्फत मदेइरामै सेवा दिन सुुुुरु गरिएको राजदूत पौडेलले बताए। दुई दिनसम्म सञ्चालन हुने...

भर्खरै