नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरपालिकाको बजेट संशोधन प्रक्रिया सुरु

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ । काठमाडौँ महानगरपालिका नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डङ्गोलले चालु आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गरेकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरु हेरफेर गर्न जरुरी देखिएको छ”, उपप्रमुख डंगोलले भनिन्, “विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने, कतिपय बहुवर्षिय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले यो संशोधन प्रस्ताव पेश गर्नुपरेको हो ।”

Ncell
Extreme Energy

संशोधन बजेट प्रस्ताव गर्दा विषय विज्ञ, महानगरपालिकाका विषयगत समिति एवं अन्य विभिन्न समितिहरुमा छलफल तथा विश्लेषण गरी बजेट तथा कार्यक्रम तर्जुमा समिति र कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पास गरी नगरसभामा पेस गरिएको उपप्रमुख डङ्गोलले बताइन् । आर्थिक वर्षका लागि विनियोजित कूल बजेट रकम, चालुगत तथा पुँजीगत खर्च रकममा कुनै थपघट नगरी क्रियाकलापमा मात्र संशोधनको प्रस्ताव पेस गरेको नगरसभामा उनले स्पष्ट पारिन् । 

संशोधित प्रस्ताव अनुसार आर्थिक विकासको क्षेत्रमा बजेट घटाएर रू ७२ करोड ४३ लाख ७१ हजार बजेट कायम गर्न लागिएको छ । सो क्षेत्रमा यस अघि रू ७२ करोड ९९ लाख ७१ हजार विनियोजन भएको थियो ।

कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा रू तीन अर्ब ७० करोड ५३ लाख ८ हजार विनियोजन भएकोमा त्यसलाई बढाएर रू तीन अर्ब ७२ करोड ६८ लाख ४२ हजार कायम गर्ने प्रस्ताव गरिएको छ ।  

त्यस्तै, पूर्वाधार विकासको क्षेत्रमा रू १२ अर्ब एक करोड ९३ लाख ९१ हजार पाँच सय बराबर वार्षिक विनियोजन रहेकोमा त्यसलाई घटाएर रू ११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ ।

सामाजिक विकासका क्षेत्रमा यसअघि रू पाँच अर्ब ४८ करोड ८६ लाख ६९ हजार पाँच सय विनियोजन भएकोमा त्यसलाई घटाएर रू पाँच अर्ब ३५ करोड ३३ लाख ८८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ ।

त्यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालु आर्थिक वर्षका लागि रू दुई अर्ब २२ करोड ६५ लाख ८५ हजार बराबर बजेट कायम गर्ने प्रस्ताव महानगरले गरेको छ । उक्त क्षेत्रमा यस अघि रू दुई अर्ब ९६ करोड २९ लाख ८५ हजार विनियोजन भएको थियो ।

पाँच महिनामा १६ प्रतिशत बजेट खर्च

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट खर्च कार्यान्वयनमा भने कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले रू २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट ल्याएकोमा पुस ११ गतेसम्म रू चार अर्ब एक करोड चार लाख ५६ हजार बराबर खर्च भएको उपप्रमुख डङ्गोलले नगरसभालाई जानकारी गराइन् । हालसम्मको बजेट खर्च कूल विनियोजनको १६ दशमलव १० प्रतिशत हो । 

महानगरपालिकाले हालसम्म चालु शीर्षकमा २३ दशमलव ५८ प्रतिशत र पुँजीगत खर्च १० दशमलव ९२ प्रतिशत खर्च भएको छ ।

“हालसम्म पूर्वाधार विकासमा १२ दशमलव १३ प्रतिशत, आर्थिक विकासमा २४ दशमलव १८ प्रतिशत, सामाजिक विकासमा १२ दशमलव २३ प्रतिशत खर्च भएको छ”, उपप्रमुख डङ्गोलले भनिन्, “त्यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ सात दशमलव ९२ प्रतिशत खर्च भएको देखिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा वढी ३६ दशमलव ५४ प्रतिशत खर्च भएको देखिन्छ ।”

महानगरपालिकाले चालु आर्थिक वर्षमा रू १२ अर्ब ९० करोड ६३ लाख २५ हजार बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । यही पुस ११ गतेसम्म कुल रू चार अर्ब नौ करोड ८९ लाख ३६ हजार बराबर राजस्व प्राप्त भएको महानगरपालिकाले जनाएको छ । जसमा आन्तरिक राजस्वतर्फ कुल रू दुई अर्ब ६१ करोड ५५ लाख ४३ हजार सङ्कलन भएको छ भने राजस्व बाँडफाँडबाट रू ५९ करोड ८९ लाख ४१ हजार र सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान रू ८८ करोड ४४ लाख ५१ हजार रहेको छ । हालसम्मको कुल राजश्व सङ्कलन वार्षिक लक्ष्यको ३१ दशमलव ०७ प्रतिशत हुन आउँछ भने आन्तरिकतर्फ कुल लक्ष्यको ३२ दशमलव ५५ प्रतिशत प्रगति भएको देखिन्छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले ८२ दशमलव ७५ अङ्क प्राप्त गरेको पनि उपप्रमुख डङ्गोलले बताइन् । यो अङ्क काठमाडौँ महानगरपालिकाले पाएको हालसम्मकै उच्च अङ्क हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।