नेभिगेशन
सबै कुरा
इजरायल हमास द्वन्द्व :

हमासका मास्टरमाइन्ड नेताहरू, जो मस्ट वान्टेड छन् !

काठमाडाैँ : १० नेपाली विद्यार्थीहरूको समेत ज्यान जानेगरि अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि प्यालेस्टाइनको लडाकु समुह हमासको विश्वभर चर्चा भैरहेको छ ।

प्यालेस्टाइनको गाजा क्षेत्रमा शासन गरिरहेको हमासले अहिले विश्वमै सैन्य शक्तिमा पावरफूल मध्ये एक दाबी गरिने इजरायललाई आकाश, जमिन र पानीबाट एक साथ आक्रमण गरेपछि हमास के हो रु र यसका लिडर को छन् रु भन्ने धेरैको जिज्ञासा छ । 

Dish Home
Global Ime Bank

यही जिज्ञासा मेटाउन बीबीसी र अलजजिराको सहयोगमा यो सामाग्री तयार पारिएको छ । 

के हो हमास ?

हमास एउटा प्यालेस्टिनी इस्लामवादी लडाकु समूह हो । सन् २००७ देखि गाजा स्ट्रिपमा हमासको शासन चलिरहेको छ । गाजाको शासनमा आएका देखि कैयौँ पटक इजरायलमाथि आक्रमण गरिरहेको छ । कारण, हमासले इजरायललाई विनाश गर्ने शपथ लिएको छ ।

इजरायल, संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र यूकेका साथै विभिन्न मुलुक समग्रमा हमासलाई आतङ्कवादी समूह भन्छन् ।

हमासलाई इरानले सघाउँदै आएको छ । उसले सो समूहलाई आर्थिक सहायता उपलब्ध गराउनुका साथै अस्त्र तथा प्रशिक्षण दिँदै आएको छ ।

हमासका ‘लिडर’हरु ?

इजरायलसँग वर्षौँदेखि लडिरहेको हमासमा केही मास्टरमाइन्ड लिडर छन् जो सञ्चारमाध्यममा सार्वजनिक हुँदा मुखौटो मात्रै देखिन्छन् । उनीहरू अधिकांश इजरायलको मस्ट वान्टेड सूचीमा छन् ।  अब हमासका प्रख्यात नेता र हमासको सैन्य ब्रिगेडका कमान्डरबारे चर्चा गरौँ ।

मोहम्मद डेफ (दाइफ)

मोहम्मद डेफ हमास लडाकुहरूलाई गाजाबाट इजरायलमा प्रवेश गर्न मिल्ने सुरुङ निर्माण गर्ने इन्जिनियर मानिन्छन् । 

आफूलाई अबु खालिद अर्थात अल डेफ भन्न रुचाउने उनको पूरा नाम मोहम्मद दैयब एल–मसरी हो । 


सन् १९६५ मा गाजामा जन्मिएका उनले सन् २०२० देखि हमासको सैन्य सङ्गठन इज्ज अल–दिनअल–कसम ब्रिगेडको नेतृत्व गरिरहेका छन् । उनकै नेतृत्वमा हमासले धेरै पटक इजरायलमाथि आक्रमण गरिरहेको छ 

प्यालेस्टिनीहरू उनलाई सफल योजनाकार मान्छन् भने इजरायलीहरु मृत्युका मान्छे भनेर चिन्छन् । 

उनले गाजाको स्लामिक विश्वविद्यालयबाट जीवविज्ञानमा स्नातक गरेका छन् । नाटक घरमा अभिनयमा रुचि भएका उनले सुरुमा कलाकारहरूको एउटा समूह गठन गरेका थिए । त्यहीबाट हमासको स्थापनासँगै दाइफ हमासमा लागे । 

उनलाई सन् १९८९ मा इजरायले पक्राउ गरि १६ महिना जेल हालेको थियो ।  उनी जेलमा रहेका समयमा इजरायली सैनिकहरूलाई समाउने हमास भन्दा भिन्न अभियान सुरु गर्ने प्रतिबद्धता जनाए र रिहा भए । जसअनुसार उनले अल–कसम ब्रिगेड गठन गरे । तर उनी थुनामुक्त भएपछि उनी सहितका नेताहरूको नेतृत्वमा इज्ज अल–दिन अल–कसम ब्रिगेड देखा पर्यो ।

त्यसपछि उनले गाजाबाट इजरायल प्रवेश सुरुङको परिकल्पना गरे । सुरुङमार्गसँगै हवाई मार्गबाट रकेट हान्ने रणनीति पनि उनकै थियो । 

उनी माथिका सबैभन्दा गम्भीर आरोपहरूमा हमासका एक जना बम निर्माता मारिएपछि बदलामा ५० जना इजरायली मारिने गरी बम आक्रमण गरेको छ । इजरायलले बारम्बार दाइफलाई मार्ने कोसिस गरे पनि सफल हुन सकेको छैन । दाइफलाई सिध्याउन इजरायलले कम्तीमा सात प्रयास गरेको बताइन्छ ।

उनलाई सन् २००० मा पनि इजरायलले पक्राउ गरेको थियो । तर जेल भित्रैको एउटा विद्रोहमा उनी उम्किएको बिबिसीले जनाएको छ । 

त्यसपछि उनी हरेक रात फरक फरक स्थानमा बस्ने गरेका छन् भने उनी सार्वजनिकरूपमै कतै देखिँदैनन् । बिबिसीका अनुसार अहिलेसम्म उनका तीन वटा तस्विर मात्रै सार्वजनिक भएका छन् । 

इजरायलले उनलाई सन् २००२ मा हत्याको प्रयास गरेको थियो तर उनी घाइते मात्रै भए । उनले एउटा आँखा, एउटा हात र एउटा खुट्टा पनि गुमाएका छन् । अहिले उनी अत्याधुनिक ह्विलचेयरमा बसेर युद्धको कमान्ड गरिरहेका हुन्छन् ।

सन् २०१४ मा इजरायलले गाजा माथि गरेको ५० दिन लामो आक्रमणमा पनि इजरायलले उनको हत्या प्रयास गरेको थियो तर उक्त आक्रमण उनकी श्रीमती र दुई छोराछोरी मारिए तर दाइफ भाग्न सफल भए । 

आफूलाई डेफ भन्न रुचाउने उनले सुरक्षाका हिसाबले हरेक रात नयाँ ठाउँमा बास बस्ने गरेका छन् । उनीहरूको भाषामा डेफको अर्थ पाहुना हो । 

मारवान इसा

मारवान इसालाई मोहम्मद डेफ ९दाइफ०को दाहिने हात मानिन्छ । उनी इज्ज अल–दिन अल–कसम ब्रिगेडका उप–कमाण्डर–इन–चीफ हुन् र हमास आन्दोलनको राजनीतिक र सैन्य इकाइका सदस्य हुन् । उनी प्रतिष्ठित बास्केटबल खेलाडी समेत हुन् । तर सन १९८७ मा हमासमा सामेल भएको आरोपमा इजरायलले पक्राउ गरेपछि उनी औपचारिकरूपमा हमास प्रवेश गरे । 


इजरायली सुरक्षा बलले उनलाई प्यालेस्टाइनको पहिलो विद्रोहको समयमा पक्राउ गरेको थियो । हमासका गतिविधिमा सक्रिय भएको आरोपमा इजरायलले उनलाई पाँच वर्षसम्म हिरासतमा राखेको थियो । उनलाई सन् १९९७ मा प्यालेस्टाइन सरकारले पनि पक्राउ गरेको थियो । सन् २००० मा जेलबाट रिहा भएपछि भने इज्ज अल–दिन अल–कसम ब्रिगेडहरूमा सैन्य प्रणालीहरू विकास गर्न भूमिका खेले ।

सन् २००६ मा इजरेलले इज्ज अल–दिन अल–कसम ब्रिगेडका प्रमुख नेताहरूको बैठक चलिरहेका समयमा डेफसँगै उनको पनि हत्या गर्ने प्रयास गरेको थियो । उक्त आक्रमणमा उनी घाइते भएका थिए तर उनीहरूलाई हत्या गर्ने इजरायलको प्रयास सफल भएन ।

इजरायलको लडाकु विमानहरूले गाजामा सन् २०१४ मा आक्रमण गर्दा उनको घर ध्वस्त भएको थियो । यसबेला उनका एक जना भाइको मृत्यु भएको थियो । सन् २०११ सम्म उनको अनुहार कसैले देखेका थिएनन् ।

उनलाई अबु अल–बारा भनेर पनि चिनिन्छ । घुसपैठको योजनाकारका रूपमा उनलाई इजरेलले खोजिरहेको छ । सन् २०१२ को शेल स्टोन्स देखि २०२३ को अल–अक्सा फ्लड जस्ता हमासका गतिविधिमा उनी संलग्न भएको इजरायलको आरोप छ ।

इजरायलले उनी बाँचुन्जेल हमाससँगको ‘मस्तिष्क युद्ध’ जारी रहने बताएको छ । उनी इजरायलको ‘मोस्ट वान्टेडे सूचीमा छन् । 

याह्या सिनवार

याह्या सिनवार गाजा क्षेत्रमा हमासको राजनीतिक इकाई प्रमुख हुन् । सन् १९६२ मा जन्मेका सिनवार गाजाको आन्तरिक सुरक्षा हेर्ने हमासको सुरक्षा सेवा‘माजद’का संस्थापक समेत हुन् ।  माजदले सन्दिग्ध इजरायली एजेन्टहरूको अनुसन्धान गर्ने काम पनि गर्छ । 


सिनवार तीन पटक पक्राउ परेका छन् । सन् १९८२ मा इजरेली सुरक्षा बलले उनलाई पहिलो पटक पक्राउ गरेको थियो । त्यति बेला उनलाई चार महिना जेलमा राखिएको थियो।

सिनवार सन् १९८८ मा तेस्रो पटक पक्राउ परेका थिए। यसपछि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । उनी जेलमै रहेका समयमा हमासको क्षेप्यास्त्रले इजरायली सैनिक ग्लाड शालितको ट्याङ्क ध्वस्त पारेर सैनिकलाई हमासले बन्धक बनाएको थियो । तिनै सैनिक रिहाइको बदलामा इजरायलले याह्या सिनवार सहितलाई रिहा गरेको थियो ।  कैदबाट मुक्त भएपछि सिनवार हमासमा फर्किएर गाजा क्षेत्रमा हमासको राजनीतिक इकाई प्रमुख बने । 

अब्दुल्लाह बरगुटी ‘प्रिन्स अफ द स्याडो’

कुवेतमा जन्मिएका अब्दुल्लाह बरगुटी सन् १९९०को दोस्रो युद्धपछि जोर्डन पुगेका थिए । 


उनले दक्षिण कोरियाली विश्वविद्यालयमा तीन वर्षसम्म इलेक्ट्रोनिक इन्जिनियरिङसँग  विस्फोटक पदार्थ बनाउन सिके । त्यसपछि उनी प्यालेस्टाइन छिरे । तर उनको वरपरका मानिसहरू मध्ये कसैलाई पनि उनको विस्फोटक बनाउने क्षमताको बारेमा थाहा थिएन ।

एक दिन उनले आफ्नो भाइ बिलाल अल बरगुटीलाई पश्चिम तटीय दुर्गम क्षेत्रमा लिएर गए । त्यहाँ उनले आफ्नो सीप देखाए ।

बिलालले आफ्नो सेनापतिलाई आफूले देखेको कुरा बताए । अब्दुल्लाह बरगुटीलाई त्यसपछि इज्ज अल–दिन अल–कसाम ब्रिगेडमा सामेल गराइयो । 

अब्दुल्लाह बरगुटीले आफ्नो सहरको गोदाममा सैन्य उत्पादनका लागि विशेष कारखाना स्थापना गरेका थिए ।

बरगुटीलाई सन् २००३ मा इजरेली सुरक्षा बलले पक्राउ गरि तीन महिनासम्म सोधपुछ गरेको थियो । दर्जनौँ इजरायलीको मृत्युको लागि बरगुटीलाई जिम्मेवार मानिन्छ । उनीमाथि दोस्रो पटक मुद्दा चल्दा मृतकका आफन्त पनि सुनुवाइमा उपस्थित थिए ।

उनलाई इजरायलको इतिहासमा सबैभन्दा लामो सजाय सुनाइएको थियो । उनलाई ६७ वर्ष आजीवन कारावास र ५,२०० वर्षको जेल सजाय सुनाइएको थियो ।

उनलाई केही समय एकान्त कारागारमा राखिएको थियो। त्यसको विरोधमा उनले अनशन सुरु गरे । यसपछि उनको एकान्त कारावासको अन्त्य भयो ।

बरगुटीलाई ‘छाया राजकुमार’ पनि भनिन्छ । जेलभित्र लेखिएको सोही नामको किताबबाट उनलाई ‘प्रिन्स अफ द स्याडो’ उपनाम दिइएको हो ।

यस पुस्तकमा उनले आफ्नो जीवन र अन्य कैदीहरूसँग मिलेर चलाएका अभियान बारेमा वर्णन गरेका छन् । 

इस्माइल हानिया

इस्माइल हानिया, अबु अलअब्द पनि भनेर पनि चिनिन्छन् । प्यालेस्टिनी शरणार्थी शिविरमा जन्मिएका उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए । 


सन् १९८९ मा इजरायलले उनलाई तीन वर्ष जेलमा हालेको थियो । यसपछि उनलाई हमासका धेरै नेताहरूसँगै इजराय र लेबनन बीचको ‘नो म्यान्स ल्यान्ड’को रूपमा रहेको मार्ज अल–जुहुरमा निर्वासनमा पठाइयो ।

आफ्नो निर्वासन पूरा गरेपछि उनी गाजा फर्किए। सन् १९९७ मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए । जसले उनको राजनीतिक हैसियत उच्च बनाइदियो ।

हमासले उनलाई सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त गरेको थियो । तर त्यसको एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमूद अब्बासले उनलाई आफ्नो पदबाट बर्खास्त गरेका थिए ।

इज्ज अल–दिन अल–कसम ब्रिगेडले गाजा क्षेत्र कब्जा गरेपछि अब्बासको फतह आन्दोलनका प्रतिनिधिहरू निष्कासन भएसँगै उनले पनि पद गुमाएका थिए । त्यसक्रममा एक सातासम्म चलेको भिडन्तमा धेरै मानिस मारिएका थिए ।

हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गरे । उनले आफ्नो सरकारले नियमित कामलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताए ।त्यसयता हानियाले फतहसँग मेलमिलापका लागि पटकपटक अपिल पनि गरिसकेका छन् ।

सन् २०१७ मा हमासको राजनीतिक इकाई प्रमुखमा निर्वाचित भएका उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो ।

खालिद मशाल

मशालको पूरा नाम ‘अब अल–वालिदु’ हो र उनको जन्म सन् १९५६ मा वेस्ट ब्याङ्कको सिलवाड गाउँमा भएको थियो । उनले प्राथमिक शिक्षा त्यहीँ प्राप्त गरे। पछि उनको परिवार कुवेत गयो र त्यहाँ उनले माध्यमिकसम्मको शिक्षा पूरा गरे ।


मशाल सन १९९६ देखि २०१७ सम्म हमासको राजनीतिक इकाईको अध्यक्ष पनि थिए । सन् २००४ मा शेख अहमद यासिनको मृत्यु पछि मशाललाई यसको नेता नियुक्त गरिएको थियो । इजरायलको गुप्तचर सेवा मोसादले सन् १९९७ मा उनलाई निशाना बनाएको थियो ।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निर्देशनमा उनको हत्या गर्ने प्रयास गरिएको थियो। नेतान्याहुले मोसादका प्रमुखलाई मशालको हत्याको योजना बनाउन निर्देशन दिएका थिए । मोसादका १० जना एजेन्ट नक्कली क्यानेडेली राहदानीमा जोर्डन प्रवेश गरेका थिए ।

खालेद मशालसँग त्यति बेला जोर्डनको नागरिकता थियो । राजधानी अम्मानको सडकमा हिँड्दै गर्दा उनलाई विषाक्त पदार्थको सुई लगाइएको थियो ।

जोर्डनका अधिकारीहरूले यो हत्या प्रयास पत्ता लगाए । उनीहरूले यसमा संलग्न दुई मोसाद एजेन्टलाई पक्राउ गरेका थिए ।

त्यस बेला जोर्डनका राजा हुसेनले इजरायली प्रधानमन्त्रीसँग मशाललाई दिइएको विषाक्त पदार्थको औषधि मागेका थिए । तर नेतान्याहुले सुरुमा यो अनुरोध अस्वीकार गरे ।

उनको हत्याको प्रयासले राजनीतिक विवादको रूप लियो । यसमा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले हस्तक्षेप गरेका थिए । उनले नेतान्याहुलाई औषधी दिन बाध्य पारे ।

मशालले डिसेम्बर सन् २०१२ मा पहिलो पटक गाजा क्षेत्रको भ्रमण गरेका थिए । उनी ११ वर्षको हुँदा प्यालेस्टाइन छोडेका थिए । त्यसपछि प्यालेस्टिनी क्षेत्रमा उनको यो पहिलो भ्रमण थियो ।

राफा क्रसिङमा प्यालेस्टिनी नेताहरूले उनलाई स्वागत गरेका थिए । गाजा सहरमा पुगेपछि उनलाई स्वागत गर्न प्यालेस्टिनीहरुको भीड सडकमा जम्मा भएको थियो ।

महमूद जहर

जहरको जन्म गाजामा सन् १९४५ मा भएको थियो । उनका बुबा प्यालेस्टिनी र आमा इजिप्सियन थिए । उनको बाल्यकाल इजिप्टको इस्माइलिया सहरमा बित्यो । उनले गाजामा माध्यमिक तहसम्मको शिक्षा हासिल गरेका थिए । उनले सन् १९७१ मा कायरोको ऐन शम्स विश्वविद्यालयबाट जनरल मेडिसिनमा स्नातक गरे ।


त्यसपछि १९७६ मा जनरल सर्जरीमा स्नातकोत्तर गरे। पढाइ सकेपछि उनले गाजा र खान योनिसको अस्पतालमा डाक्टरको रूपमा काम गरे । उनको राजनीतिक गतिविधिको कारण पछि उनी त्यहाँबाट बर्खास्त भएका थिए ।

जाहर हमासका प्रमुख नेता मध्ये एक मानिन्छन् ।  उनलाई हमास आन्दोलनको राजनीतिक नेतृत्वको सदस्य मानिन्छ । सन् १९८८ मा हमासको स्थापना भएको छ महिनापछि महमूद जहरलाई छ महिनासम्म इजरायलको जेलमा राखिएको थियो ।

इजरायले उनलाई सन् १९९२ मा अन्य नेताहरूसँगै उनलाई मार्ज अल–जुहुरमा निर्वासन पठाएको थियो । उनी एक वर्ष त्यहाँ बसे ।

सन् २००५ मा भएको निर्वाचनमा हमासले बहुमत प्राप्त गरेपछि जहरले प्रधानमन्त्री इस्माइल हनियाको सरकारमा विदेश मन्त्रीको रूपमा काम गरे। त्यसपछि राष्ट्रपति महमूद अब्बासले सरकार बर्खाककस्त गरेपछि प्यालेस्टिनीहरूबीच विभाजन निम्तियो ।

इजरेलले सन २००४ मा जहरको हत्या गर्ने प्रयास गरेको थियो। गाजा सहर नजिकैको रिमालमा रहेको जाहरको घरमा एफ–१६ लडाकू विमानले बम खसालेको थियो। यो बम पाँच क्विन्टलको रहेको बताइएको छ  । यस आक्रमणमा उनी सामान्य घाइते भए। तर उनका जेठा छोरा खालिदको मृत्यु भयो ।

उनका अर्का छोरा होसाम पनि २००८ मा गाजाको पूर्वी क्षेत्रमा इजरेली सेनाको कारबाहीमा मारिएका थिए। यस हमलामा होसाम सहित १८ जनाको मृत्यु भएको थियो । होसाम कसम ब्रिगेडका सदस्य पनि थिए ।

जहरले बौद्धिक, राजनीतिक र साहित्यिक किताब लेखेका छन् । यसमा ‘द प्रब्लम अफ आवर कन्टेम्परेरी सोसाइटी।।। अ कुरानिक स्टडी’, ‘नो प्लेस अन्डर द सन’ समावेश छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अमेरिकाले बन्द गर्यो एमसीसी, नेपालको परियोजना के हुन्छ ?

अमेरिकाले बन्द गर्यो एमसीसी, नेपालको परियोजना के हुन्छ ?

संघीय खर्च कटौती गर्ने अभियानअन्तर्गत यस्तो कदम चालिएको हो । मंगलबार एमसीसी का कर्मचारीहरूलाई इमेलमार्फत “चाँडै कर्मचारी र कार्यक्रमहरूमा ठूलो कटौती हुने” जानकारी दिइएको सिएनएनले उल्लेख गरेकाे छ...
ओली र मोदीबीच टेलिफोन संवाद, आतंकवादविरुद्ध नेपाल भारतको साथमा रहने

ओली र मोदीबीच टेलिफोन संवाद, आतंकवादविरुद्ध नेपाल भारतको साथमा रहने

प्रधानमन्त्री ओलीले आतंकवादी हमलमा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै यस्ता जघन्य कृत्यप्रति नेपाल भारतको साथमा रहेको जानकारी गराएको बताएका छन्  ।
रास्वपा निकट अष्ट्रेलियाको प्रवास नेपाली सम्पर्क विभागद्वारा तास्मानियामा समिति गठन 

रास्वपा निकट अष्ट्रेलियाको प्रवास नेपाली सम्पर्क विभागद्वारा तास्मानियामा समिति गठन 

रवि सिंह बिष्टको अध्यक्षतामा ११ सदस्य रहेको समिति गठन गरिएको हो । समितिको उप राज्य प्रमुखमा कैलेंद्र दसौदी रहेका छन् भने रुमी गोतामेलाई सचिवको जिम्मेवारी दिइएको छ ।...