काठमाडौँ । सन् २०१३, बीस वर्षे एक नेपाली युवक कम्प्युटर साइन्स पढ्न अस्ट्रेलिया पुग्छ । अस्ट्रेलिया पुगेको केही समयमै ऊ सम्पर्कविहीन हुन्छ । तेह्र वर्षपछि ऊ भेटिन्छ ।
Watch On
पढाइ र कमाइको आसमा अस्ट्रेलिया पुगेका मकवानपुरका ३२ वर्षीय विक्रम लामा ६ महिनाअघि सिड्नीको सेन्ट जेम्स सुरुङमा भेटिँदा उनको शरीरमा प्राण थिएन । उनको शरीरबाट दुर्गन्ध फैलिएको थियो । यसको अर्थ उनी जीवित थिएनन्। विक्रमको मृत्यु कसरी भयो ? कसैलाई अत्तोपत्तो थिएन ।
डिसेम्बर ७, २०२५ । मध्यान्ह बाह्र बजे । सुरुङमार्ग स्टेसनका कर्मचारीले विक्रमको शव फेला पार्नुअघि एक लाखभन्दा बढी अस्ट्रेलियालीले सुरुङमार्ग पार गरिसकेका थिए । तर, कसैको नजर विक्रमको निर्जीव शरीरमा परेन ।
विश्व चर्चित सहर सिड्नी । नेपाली युवा विद्यार्थीहरुको लागि त सपनाको सहर । तर, त्यही सहरमा एउटा सपना समाप्त हुँदा न कसैको चित्त दुखेको थियो, न कसैका आँखा रसाएका थिए । सामाजिक सुरक्षा र मानवअधिकारका लागि विश्वमै ख्याति कमाएको अस्ट्रेलियासमेत विक्रमको यो दुखान्तमा किन्चित संवेदनशील थिएन, देखिएन । यतिसम्म कि, सपना साँचेर सिड्नी पुगेको एक युवकको इहलीला समाप्त हुँदा पनि अस्ट्रेलिया सरकारको आँखा पुगेन ।
अस्ट्रेलियामा हजारौं नेपाली छन् । नेपाली मात्रै होइन, अरु देशका नागरिक पनि छन् । तर, त्यहाँ पुग्न सजिलो छैन । कानुनी प्रक्रिया पुरा गर्न जति समस्या छ, त्यो भन्दा बढी गाह्रो त त्यहाँ जान लाग्ने खर्च जोहो गर्न छ । घर जग्गा बेच्नुपर्छ, ऋण खोज्नुपर्छ । त्यसको बोझ सिंगो परिवारमा पर्छ । बिक्रमलाई सपनाको सहरमा पढाउन लामा परिवारले पनि त्यही बोझ उठायो, अहिले पनि भोगिरहेको छ ।
अस्ट्रेलियालाई पक्कै पनि लागेको हुनुपर्छ– सुरुङको छेउमा एक आप्रवासीको मृत्यु भयो । तर, उसले यो सोचेन कि, त्यहाँ एउटा नेपाली युवाले अकालमा ज्यान गुमायो, एक नेपाली आमाको काख रित्तियो, नेपालको एउटा परिवारको सपना समाप्त भयो । यतिसम्म कि, ऊ को हो र, कसरी उसको मृत्यु भयो भन्नेसम्म पनि अस्ट्रेलिया सरकारले चासो देखाएन ।
द गार्जियनले झण्डै ६ महिना लगाएर अनुसन्धान गरेर जब रिपोर्ट सार्वजनिक गर्यो, त्यसले अस्ट्रेलियाले अपनाउँदै आएको मानवअधिकार र सामाजिक सुरक्षा नीति पनि उदांगो गरिदियो । गार्जियनले सोमबार रिपोर्ट सार्वजनिक गरेपछि अस्ट्रेलियाली मिडियासँगै संसारभरका मिडियाले यस घटनालाई प्राथमिकता दिँदै समाचार लेखे । सिड्नीको एउटा व्यस्त पार्कमा एक घरविहीन युवाको मृत्युले धेरैलाई स्तब्ध बनायो । अब त पक्कै पनि अस्ट्रेलिया सरकारको ध्यान तानेको हुनुपर्छ ।
एक आप्रवासी युवा कसरी सडकमा पुग्छ अनि उसको कसरी कसैले चाल नपाउने गरी मृत्यु हुन्छ, यसको एउटा उदाहरण हो विक्रम लामाको मृत्यु, अनि व्यक्तिको मृत्युमा राज्य र समाज कतिसम्म उदासीन हुन्छ भन्ने अर्को उदाहरण हो, अस्ट्रेलिया ।
सिड्नीको एउटा व्यस्त पार्क, हाइड पार्क । यही पार्कमुनि छ– सिड्नीको केन्द्रीय व्यावसायिक जिल्ला वारपार गर्न प्रयोग हुने यो मुख्य सुरुङमार्ग । सहरमा सबैभन्दा बढी आवतजावत गर्ने स्थानमध्येको एक । यति ठूलो अनि व्यस्त सार्वजनिक स्थलमा भएको मृत्युमा पनि कसैको नजर परेन ।
पहिले समाजबाट ओझेलमा परे, पछि सबैको नजरबाट हराए । जीवनको सहारा खोज्दै पुगेका युवा विक्रम अन्ततः बेसहारा भए, कोही कसैबाट सहायता पाएनन्, आखिर उनको मृत्यु अर्थहीन भयो ।
सपना पुरा गर्ने रहरले सिड्नी पुगेका विक्रम सुरुङमार्गको छेउमा अस्ताए । के उनी रहरले नै अस्ताएका हुन् त? पक्कै होइन । रहरले सिड्नी पुगे, बाध्यताले सडकमा । तर पनि उनी दयालु थिए । सुरुङमा पुग्दासमेत उनले दैनिक परेवाहरुलाई दाना खुवाउँथे । सुरुङमा आफूसँगै बस्नेहरुले परेवाहरूलाई दाना खुवाउन रुचाउने भएकैले माया गरेर ‘बर्डम्यान’ नाम राखिदिएका थिए ।
मकवानपुरको एउटा विकट पहाडी गाउँबाट सपना साँचेर सिड्नी पुगेका विक्रम अहिले त अस्ताए नै । यसअघि नै उनी सम्पर्कविहीन हुँदा उनको परिवारमा के बितेको थियो होला ? एकपटक कल्पना गरौं त । विक्रम सिड्नी पुगेको डेढ वर्षपछि नै परिवारसँग सम्पर्क टुटेको थियो । परिवारले उनको खोजी गरिदिन हार गुहार गरिरह्यो । न नेपाल सरकारले खोजी गरिदियो, न अस्ट्रेलिया सरकारले । वर्षौंदेखि बेखबर परिवारलाई गत महिना परराष्ट्र मन्त्रालयले मकवानपुरबाट काठमाडौं झिकायो । विक्रमकी वृद्ध आमा काठमाडौं आइन् । उनको डीएनए परीक्षण गर्न लगाइयो । त्यसपछि बल्ल आमाले आफ्नो काख खाली भएको थाहा पाइन् । त्यतिबेला उनको मनमा के खेल्यो होला ? तै पनि सरकारले सान्त्वना दिएन । विक्रमको शव हो होइन भन्ने पहिचानका लागि उनकी आमाको डीएनए परीक्षण गरिएको थियो ।
विक्रम लामा अस्ट्रेलियाली नागरिक थिएनन् । त्यहाँको पीआर वा नागरिकता पाएको भए उनले त्यहाँ सरकारबाट पाउने सबै सेवा सुविधा पाउँथे । अस्ट्रेलियाको नियम र कानुनले नै विक्रमलाई सिड्नी पुर्यायो। अनि त्यही कानुनले सडकमा । यसरी सडकमा पुग्ने विक्रम एक्ला होइनन् । ‘द अस्ट्रेलियन होमलेसनेस मोनिटर २०२४’ का अनुसार पछिल्लो तीन वर्षको अवधिमा देशव्यापी रूपमा सडकमा सुत्ने मानिसहरूको संख्यामा २२ प्रतिशतले वृद्धि भएको छ । चर्को घरभाडाकै कारण कम आय भएका मानिस सडकमा पुग्ने गरेका छन् । सरकारकै एक तथ्यांकअनुसार अस्ट्रेलियामा करिब १ हजार २२ हजार मानिस घरविहीन छन । घरविहीन हुनेमा आप्रवासी र शरणार्थीको संख्या बढी छ ।
विक्रमको मृत्युको घटनाले हामी धेरैलाई झस्काएको छ । सपनाको बर्बादी कसरी हुन्छ भन्ने पनि यो घटनाले उजागर गरिदिएको छ । गीतकार कृष्णहरि बरालले लेखेका छन्– मर्ने कसैको रहर हुँदैन, मान्छे नमर्ने सहर हुँदैन...।
यी कारणहरूले कति नेपाली फर्किन्छन् भन्ने यकिन नभए पनि धेरै नेपालीहरू स्वदेश फर्किन लागेका छन् । नयाँ नियम लागु भएपछि भिसा नवीकरण नभएर फर्किने नेपालीको सङ्ख्या जापानमा भएका...आइतबार, जेठ २४, २०८३
मृतक भुजेल पूर्वगृहमन्त्री गुरुङकै गोरखा क्षेत्र नं १ का वासिन्दा थिइन् । तारकेश्वर नगरपालिका–६ लोलाङ पैयुटार बस्ने ४२ वर्षीयकुमार कुमार थापा मगरले गए राति ४२ वर्षीया श्रीमती ईश्वरीको...शनिबार, जेठ २३, २०८३
डोजरबाट खसेको पाइपमा च्यापिँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा गलकोट नगरपालिका–३ हटियास्थित इमर्जेन्सी अस्पतालमा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणिन्द्रप्रसाद प्रसाईंले जानकारी दिए ।शनिबार, जेठ २३, २०८३
गएरातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार...शनिबार, जेठ २३, २०८३