नेभिगेशन
समाज

अस्ट्रेलियाको सुरुङमा अस्ताएको नेपाली सपना...

काठमाडौँ । सन् २०१३, बीस वर्षे एक नेपाली युवक कम्प्युटर साइन्स पढ्न अस्ट्रेलिया पुग्छ । अस्ट्रेलिया पुगेको केही समयमै ऊ सम्पर्कविहीन हुन्छ । तेह्र वर्षपछि ऊ भेटिन्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पढाइ र कमाइको आसमा अस्ट्रेलिया पुगेका मकवानपुरका ३२ वर्षीय विक्रम लामा ६ महिनाअघि सिड्नीको सेन्ट जेम्स सुरुङमा भेटिँदा उनको शरीरमा प्राण थिएन । उनको शरीरबाट दुर्गन्ध फैलिएको थियो । यसको अर्थ उनी जीवित थिएनन्। विक्रमको मृत्यु कसरी भयो ? कसैलाई अत्तोपत्तो थिएन । 

Ncell
Extreme Energy

डिसेम्बर ७, २०२५ । मध्यान्ह बाह्र बजे । सुरुङमार्ग स्टेसनका कर्मचारीले विक्रमको शव फेला पार्नुअघि एक लाखभन्दा बढी अस्ट्रेलियालीले सुरुङमार्ग पार गरिसकेका थिए । तर, कसैको नजर विक्रमको निर्जीव शरीरमा परेन ।

विश्व चर्चित सहर सिड्नी । नेपाली युवा विद्यार्थीहरुको लागि त सपनाको सहर । तर, त्यही सहरमा एउटा सपना समाप्त हुँदा न कसैको चित्त दुखेको थियो, न कसैका आँखा रसाएका थिए । सामाजिक सुरक्षा र मानवअधिकारका लागि विश्वमै ख्याति कमाएको अस्ट्रेलियासमेत विक्रमको यो दुखान्तमा किन्चित संवेदनशील थिएन, देखिएन । यतिसम्म कि, सपना साँचेर सिड्नी पुगेको एक युवकको इहलीला समाप्त हुँदा पनि अस्ट्रेलिया सरकारको आँखा पुगेन । 

अस्ट्रेलियामा हजारौं नेपाली छन् । नेपाली मात्रै होइन, अरु देशका नागरिक पनि छन् । तर, त्यहाँ पुग्न सजिलो छैन । कानुनी प्रक्रिया पुरा गर्न जति समस्या छ, त्यो भन्दा बढी गाह्रो त त्यहाँ जान लाग्ने खर्च जोहो गर्न छ । घर जग्गा बेच्नुपर्छ, ऋण खोज्नुपर्छ । त्यसको बोझ सिंगो परिवारमा पर्छ । बिक्रमलाई सपनाको सहरमा पढाउन लामा परिवारले पनि त्यही बोझ उठायो, अहिले पनि भोगिरहेको छ । 

अस्ट्रेलियालाई पक्कै पनि लागेको हुनुपर्छ– सुरुङको छेउमा एक आप्रवासीको मृत्यु भयो । तर, उसले यो सोचेन कि, त्यहाँ एउटा नेपाली युवाले अकालमा ज्यान गुमायो, एक नेपाली आमाको काख रित्तियो, नेपालको एउटा परिवारको सपना समाप्त भयो । यतिसम्म कि, ऊ को हो र, कसरी उसको मृत्यु भयो भन्नेसम्म पनि अस्ट्रेलिया सरकारले चासो देखाएन । 

द गार्जियनले झण्डै ६ महिना लगाएर अनुसन्धान गरेर जब रिपोर्ट सार्वजनिक गर्यो, त्यसले अस्ट्रेलियाले अपनाउँदै आएको मानवअधिकार र सामाजिक सुरक्षा नीति पनि उदांगो गरिदियो । गार्जियनले सोमबार रिपोर्ट सार्वजनिक गरेपछि अस्ट्रेलियाली मिडियासँगै संसारभरका मिडियाले यस घटनालाई प्राथमिकता दिँदै समाचार लेखे । सिड्नीको एउटा व्यस्त पार्कमा एक घरविहीन युवाको मृत्युले धेरैलाई स्तब्ध बनायो । अब त पक्कै पनि अस्ट्रेलिया सरकारको ध्यान तानेको हुनुपर्छ । 

एक आप्रवासी युवा कसरी सडकमा पुग्छ अनि उसको कसरी कसैले चाल नपाउने गरी मृत्यु हुन्छ, यसको एउटा उदाहरण हो विक्रम लामाको मृत्यु, अनि व्यक्तिको मृत्युमा राज्य र समाज कतिसम्म उदासीन हुन्छ भन्ने अर्को उदाहरण हो, अस्ट्रेलिया । 
सिड्नीको एउटा व्यस्त पार्क, हाइड पार्क । यही पार्कमुनि छ– सिड्नीको केन्द्रीय व्यावसायिक जिल्ला वारपार गर्न प्रयोग हुने यो मुख्य सुरुङमार्ग । सहरमा सबैभन्दा बढी आवतजावत गर्ने स्थानमध्येको एक । यति ठूलो अनि व्यस्त सार्वजनिक स्थलमा भएको मृत्युमा पनि कसैको नजर परेन । 

पहिले समाजबाट ओझेलमा परे, पछि सबैको नजरबाट हराए । जीवनको सहारा खोज्दै पुगेका युवा विक्रम अन्ततः बेसहारा भए, कोही कसैबाट सहायता पाएनन्, आखिर उनको मृत्यु अर्थहीन भयो । 

सपना पुरा गर्ने रहरले सिड्नी पुगेका विक्रम सुरुङमार्गको छेउमा अस्ताए । के उनी रहरले नै अस्ताएका हुन् त? पक्कै होइन । रहरले सिड्नी पुगे, बाध्यताले सडकमा । तर पनि उनी दयालु थिए । सुरुङमा पुग्दासमेत उनले दैनिक परेवाहरुलाई दाना खुवाउँथे । सुरुङमा आफूसँगै बस्नेहरुले परेवाहरूलाई दाना खुवाउन रुचाउने भएकैले माया गरेर ‘बर्डम्यान’ नाम राखिदिएका थिए । 

मकवानपुरको एउटा विकट पहाडी गाउँबाट सपना साँचेर सिड्नी पुगेका विक्रम अहिले त अस्ताए नै । यसअघि नै उनी सम्पर्कविहीन हुँदा उनको परिवारमा के बितेको थियो होला ? एकपटक कल्पना गरौं त । विक्रम सिड्नी पुगेको डेढ वर्षपछि नै परिवारसँग सम्पर्क टुटेको थियो । परिवारले उनको खोजी गरिदिन हार गुहार गरिरह्यो । न नेपाल सरकारले खोजी गरिदियो, न अस्ट्रेलिया सरकारले । वर्षौंदेखि बेखबर परिवारलाई गत महिना परराष्ट्र मन्त्रालयले मकवानपुरबाट काठमाडौं झिकायो । विक्रमकी वृद्ध आमा काठमाडौं आइन् । उनको डीएनए परीक्षण गर्न लगाइयो । त्यसपछि बल्ल आमाले आफ्नो काख खाली भएको थाहा पाइन् । त्यतिबेला उनको मनमा के खेल्यो होला ? तै पनि सरकारले सान्त्वना दिएन । विक्रमको शव हो होइन भन्ने पहिचानका लागि उनकी आमाको डीएनए परीक्षण गरिएको थियो । 

विक्रम लामा अस्ट्रेलियाली नागरिक थिएनन् । त्यहाँको पीआर वा नागरिकता पाएको भए उनले त्यहाँ सरकारबाट पाउने सबै सेवा सुविधा पाउँथे । अस्ट्रेलियाको नियम र कानुनले नै विक्रमलाई सिड्नी पुर्यायो। अनि त्यही कानुनले सडकमा । यसरी सडकमा पुग्ने विक्रम एक्ला होइनन् । ‘द अस्ट्रेलियन होमलेसनेस मोनिटर २०२४’ का अनुसार पछिल्लो तीन वर्षको अवधिमा देशव्यापी रूपमा सडकमा सुत्ने मानिसहरूको संख्यामा २२ प्रतिशतले वृद्धि भएको छ । चर्को घरभाडाकै कारण कम आय भएका मानिस सडकमा पुग्ने गरेका छन् । सरकारकै एक तथ्यांकअनुसार अस्ट्रेलियामा करिब १ हजार २२ हजार मानिस घरविहीन छन । घरविहीन हुनेमा आप्रवासी र शरणार्थीको संख्या बढी छ ।

विक्रमको मृत्युको घटनाले हामी धेरैलाई झस्काएको छ । सपनाको बर्बादी कसरी हुन्छ भन्ने पनि यो घटनाले उजागर गरिदिएको छ । गीतकार कृष्णहरि बरालले लेखेका छन्– मर्ने कसैको रहर हुँदैन, मान्छे नमर्ने सहर हुँदैन...।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...
सिधाकुरा सम्पादकीय– आगो निभाऔँ, आफैँलाई सम्हालौँ

सिधाकुरा सम्पादकीय– आगो निभाऔँ, आफैँलाई सम्हालौँ

हाम्रो देश सद्भाव र सहअस्तित्वको जीवन्त उदाहरण हो । हिमाल, पहाड र तराईलाई एउटै अँगालोमा बाँध्ने यो भूमि धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम उद्यान पनि हो। फरक–फरक धर्म,...
पासपोर्ट बनाउन पनि किन यति सास्ती ? (तस्बिरहरु)

पासपोर्ट बनाउन पनि किन यति सास्ती ? (तस्बिरहरु)

जिल्लामा पनि राहदानी बनाउनेको चाप उत्तिकै छ । विभागले दैनिक १५ सयसम्म राहदानी छापिने दाबी गरे पनि भीड घटेको छैन ।
मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मंगलबार दिउँसो प्रदर्शनको नेतृत्व गरेका सहकारी पीडितहरुलाई मन्त्री रावलले मन्त्रालयमै भेट गरेकी थिइन् । मन्त्री रावलले आफूले काम गर्दा गर्दै उनीहरुले अनावश्यक दवाव दिनु उचित नभएको बताएकी थिइन्...