गण्डकी। आज रक्षाबन्धन पर्व। दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने दिन। तर गोरखाकी सीता कार्कीका लागि यस वर्षको रक्षाबन्धन पीडादायी बनेको छ।
सीताले यसपालि आफ्ना दाजु रामशरणलाई राखी बाँध्न पाइनन्। तीन दिनदेखि सम्पर्कविहीन दाजुको अवस्था पत्ता लगाउन उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी छन्।
शुक्रबार अपराह्न सीता प्रतिष्ठानको भवनको छिँडीमा मलिन अनुहार लिएर बसिरहेकी थिइन्। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि दाजु रामशरण सम्पर्कविहीन भएका हुन्।
बाढीले बगाएर धादिङ, गोरखा, नवलपुर र तनहुँका विभिन्न स्थानमा पुर्याएका शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएपछि सीता पनि दाजुको खोजीमा यहाँ आइपुगेकी हुन्।
‘दाइको खोजीका लागि कोही काठमाडौं जानुभएको छ, कोही चितवन। म पनि दाइको अवस्था पत्ता लाग्छ कि भनेर पोखरा आएकी हुँ,’ उनले भनिन्, ‘रसुवाको मैलुङबाट दाइ बेपत्ता हुनुभएको हो। बुधबार बिहानसम्म उहाँसँग कुरा भएको थियो, त्यसपछि बेखबर हुनुहुन्छ।’
गोरखाको आरुघाट गाउँपालिका–१० मङ्गलटारका ३८ वर्षीय रामशरण बाढीमा बेपत्ता हुनुभन्दा तीन दिनअघि मात्रै घर आएका थिए। त्यसपछि उनी पुनः रसुवा फर्किएका थिए। रसुवागढी नाकामा कोरियन कम्पनीले निर्माण गरिरहेको जलविद्युत् आयोजनामा उनी चालकका रूपमा कार्यरत थिए।
‘कोरियन कम्पनीका सरहरूलाई लिएर आयोजनास्थलतर्फ जाने क्रममा दाइ बाढीमा पर्नुभएको हो,’ सीताले भनिन्, ‘अहिलेसम्म उहाँको अवस्था पत्ता लाग्न नसक्दा परिवार निकै पीडामा छ। जतिसक्दो छिटो खोजी होस् भन्ने चाहना छ।’
कतै दाजुको शव भेटिएको छ कि भन्ने आशामा सीताले अस्पतालको फरेन्सिक मेडिसिन विभागमा राखिएका शवका तस्बिरसमेत हेरिन्। तर शुक्रबार अपराह्नसम्म दाजुको कुनै अत्तोपत्तो लागेन।
बाढीले शव विभिन्न जिल्लासम्म बगाएर पुर्याएकाले पहिचानमा समस्या भएको छ। शवको अवस्था बिग्रिएकाले कतिपयलाई प्रत्यक्ष हेरेर पहिचान गर्न कठिन भएको अस्पतालले जनाएको छ। बेपत्ता व्यक्तिका आफन्तलाई शव पहिचान गर्न सहज होस् भनेर अस्पतालले शवका तस्बिर स्क्रिनमा देखाउने व्यवस्था मिलाएको छ।
सीताजस्तै अन्य बेपत्ता व्यक्तिका आफन्त पनि पोखरा पुगेर आफन्तको खोजीमा छन्।
विदेशी पर्यटकको टोलीसँग गोसाइँकुण्ड जाने क्रममा सम्पर्कविहीन भएका भक्तपुरका चिकित्सक आयुष अधिकारीको खोजीमा उनका आफन्त मातृका ढुङ्गाना पनि अस्पताल पुगेका छन्। हातमा आयुषको तस्बिर बोकेर अस्पताल पुगेका ढुङ्गानाले आयुष बाढीपछि रसुवागढीबाट सम्पर्कविहीन भएको बताए।
‘आयुष मेरो साला बाबु हुन्। ग्रान्डी अस्पतालमा कार्यरत थिए,’ उनले भने, ‘पर्यटकको टोलीसँगै गोसाइँकुण्ड जाने क्रममा बाढी आएपछि रसुवागढीबाट सम्पर्कविहीन भएका छन्।’
अस्पतालमा राखिएका अधिकांश शव चिन्न कठिन अवस्थामा रहेको आफन्तहरूले बताएका छन्। शव पोखरा ल्याइएको खबर पाएपछि विभिन्न जिल्लाबाट आफन्तहरू पहिचानका लागि यहाँ आएका छन्।
धादिङको नीलकण्ठ नगरपालिका–९ धारापानी गाउँका २८ जना पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। उनीहरूका आफन्तसमेत पोखरा पुगेर खोजीमा जुटेका छन्।
स्थानीय बलराम लम्सालका अनुसार गोसाइँकुण्ड तीर्थयात्राका लागि बसमा गएका उनीहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।
‘एउटै घरका सात जनासम्म बेपत्ता हुनुभएको छ। सिङ्गो गाउँ नै अहिले शोकमा छ,’ उनले भने, ‘धादिङमा भेटिएका शव पोखरा ल्याएको थाहा पाएपछि हामी खोजीका लागि यहाँ आएका हौँ।’
सदरमुकाम धादिङबेँसीबाट तीर्थयात्री लिएर गएको बस नुवाकोटको बेत्रावतीबाट सम्पर्कविहीन भएको थियो। माथिबाट बाढी आएपछि बसमा रहेका तीर्थयात्री ओर्लेर नजिकैको घरसम्म पुगेको जानकारी आए पनि त्यसपछि उनीहरू सम्पर्कविहीन भएको लम्सालले बताए।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९३ र मणिपाल शिक्षण अस्पतालमा नौवटा शव राखिएका छन्। ती शवको पहिचान तथा परीक्षणको काम भइरहेको उनले बताए।
शव परीक्षणपछि पहिचान खुलेमा आफन्तलाई बुझाइनेछ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि नमुना काठमाडौं पठाइने प्रजिअ गुरुङले जानकारी दिए।
पहिचान हुन नसकेर बेवारिसे बनेका शवलाई ‘बेवारिसे शव व्यवस्थापन निर्देशिका’अनुसार व्यवस्थापन गरिनेछ। शवको संख्या धेरै हुनुका साथै अधिकांश शव चिन्न कठिन अवस्थामा रहेकाले पहिचान तथा व्यवस्थापनको काममा केही दिन लाग्न सक्ने प्रशासनले जनाएको छ।
त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न तथा परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको हो। नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट १४ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ। यसअघि तनहुँबाट थप नौवटा शव पोखरा ल्याइएको थियो।
रक्षाबन्धनका दिन दाजुको नाडीमा राखी बाँध्ने सीताको चाहना यस वर्ष अधुरै रह्यो। उनी भने अस्पतालमा राखिएका शवका तस्बिर हेर्दै दाजु रामशरणको अवस्था पत्ता लाग्ने आशामा छिन्।