पश्चिम नवलपरासी । ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले उक्त कार्य सम्पन्न गरेको हो । विद्युत् सञ्जाल सुदृढीकरण र सीमापार विद्युत् सञ्जाल विस्तारका लागि नेपालको प्रयासका सन्दर्भमा यो महत्त्वपूर्ण उपलब्धि भएको एमसिए–नेपालले जनाएको छ ।
प्रसारण लाइन निर्माण सम्पन्न भएको अवसरमा पश्चिम नवलपरासीस्थित न्यू बुटवल सबस्टेसनमा आज आयोजित समारोहमा बोल्दै अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपालको सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले नेपाल, संयुक्त राज्य अमेरिका र एमसीसीबीचको साझेदारीप्रति कृतज्ञता व्यक्त गरे ।
उनले भने, ‘नेपालको विकासप्रतिको दीर्घकालीन प्रतिबद्धता तथा एमसीसी नेपाल कम्प्याक्टमार्फत उपलब्ध गराइएको सहयोगका लागि म अमेरिकी सरकारप्रति नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यस प्रसारण लाइनको निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधारको सुदृढीकरण र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि एक महत्त्वपूर्ण उपलब्धि हो। हामी यस उपलब्धिप्रति गर्व गर्छौँ र नेपालको विकासका लागि भएको यस साझेदारीबाट प्राप्त हुने लाभहरूका लागि हामी बाटो हेर्दैछौँ।’
कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले यस निर्माण सम्पन्नताबाट नेपालले आफ्नो विद्युतीय पूर्वाधार सुदृढ गर्न र सीमापार विद्युत् सम्पर्क विस्तार गर्न हासिल गरिरहेको प्रगति प्रतिविम्बित भएको बताए।
उनले भने, ‘नेपालले आफ्नो विद्युत् उत्पादन तथा प्रसारण क्षमतालाई निरन्तर सशक्त बनाउँदै लगेको छ र यस सन्दर्भमा सीमापार विद्युत् सम्पर्क यस प्रयासको एक अभिन्न अङ्ग हो । यस प्रसारण लाइनको नेपालतर्फको खण्ड सम्पन्न भएबाट सरकार, कार्यान्वयन गर्ने निकायहरू, विकास साझेदारहरू र स्थानीय समुदायबीचको बलियो समन्वयबाट के–कस्ता उपलब्धि हासिल गर्न सकिन्छ भन्ने स्पष्ट पारेको छ । निर्धारित कार्यतालिकाअनुरूप यो काम सम्पन्न गर्न एमसिए–नेपालले गरेको प्रयास सराहनीय छ ।’
नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले यस उपलब्धिका लागि एमसिए–नेपाललाई बधाई ज्ञापन गर्दै भने, ‘यस प्रसारण लाइनको निर्माण नेपालको ऊर्जा क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि हो । नेपाल सरकारको अनुरोधलाई सम्बोधन गर्दै समयसीमाभित्रै निर्माण कार्य पूरा गर्नका लागि एमसिए–नेपालले गरेको प्रयासको हामी सराहना गर्छौँ। यस उपलब्धिले नेपाल र भारतबीचको सुदृढ विद्युत् सञ्जालबाट प्राप्त हुने बृहत् लाभ हासिल गर्ने दिशामा हामी एक कदम अगाडि बढेका छौँ ।’
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यो उपलब्धिले नेपाल सरकारका प्राथमिकताहरू पूरा गर्ने सन्दर्भमा एमसिए–नेपालको प्रतिबद्धतालाई उजागर गरेको बताए ।
उनले भने, ‘अब हामी यस लाइनमा विद्युत् प्रवाह गरी अन्ततोगत्वा नेपाल र भारत एवं बृहत्तर क्षेत्रबीच विद्युत् सञ्जाल र ऊर्जा सहकार्य सुदृढ पार्ने दिशामा बाँकी कार्य सम्पन्न भएको हेर्ने प्रतीक्षामा छौँ ।’
नेपालतर्फको १८ किमि प्रसारण लाइन खण्ड पूरा भएबाट सीमापार प्रसारण लाइनअन्तर्गत एमसिए–नेपालबाट हुनुपर्ने निर्माण कार्य सम्पन्न भएको छ । अब यो प्रसारण लाइनमा विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याउनुपूर्व नेपाल–भारत सीमापार विद्युत् प्रवाह गर्न आवश्यक कार्य एवं स्वीकृति प्राप्तिलगायतका बाँकी काम अगाडि बढाइनेछ ।
यो १८ किलोमिटर खण्ड एमसिए–नेपालको विद्युत् प्रसारण आयोजनाको एक अंश हो । यस आयोजनाअन्तर्गत ३१५ किलोमिटर लामो उच्च–भोल्टेजयुक्त प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माणका साथै विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेका छन् ।
नेपालमा विद्युत्को उपलब्धता र विश्वसनीयतामा सुधार ल्याउनुका साथै ऊर्जा सुरक्षा, भावी विद्युत् उत्पादन र सीमापार विद्युत् व्यापारलाई टेवा पु¥याउन आवश्यक प्रसारण सञ्जाललाई सुदृढ बनाउने उद्देश्यले यो आयोजना तयार पारिएको आयोजनाले जनाएको छ ।