नेभिगेशन
समाज

पाण्डाको एउटा छुट्टै संसार : विश्वलाई छेन्दुले सिकाइरहेको पाठ

सहरको गर्मी छिचोल्दै ३० मिनेटमा पुगिने त्यो ‘छुट्टै संसार’ हो – छेन्दु रिसर्च बेस अफ जायन्ट पाण्डा ब्रिडिङ अर्थात् पाण्डा पार्क ।

काठमाडौँ । सेप्टेम्बर महिनाको मध्य दिउँसो । काठमाडौँबाट करिब १२ सय किलोमिटर हवाई दूरीमा रहेको छेन्दु सहरमा बाहिर खपिनसक्नुको गर्मी छ । बाटोमा हिँड्नेहरू गर्मी छल्न छाया वा सियालको सहारा लिनुपर्ने बाध्यतामा छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसारलाई माथ खुवाउने गरी विकासको फड्को मारिरहेको सहरमा कृत्रिम बौद्धिकता (एआई) देखि हाइ टेक कम्पनीहरू गच्छेअनुसारको साम्राज्य खडा गर्दैछन् । तर त्यही सहरले आफ्नो एक कुनामा भने सिङ्गो चीनको पहिचान जोगाइरहेको छ । पुस्ता दरपुस्तालाईलाई सकुशल हस्तान्तरण गरिरहेको छ।

Ncell
Extreme Energy

छेन्दुको मध्य मानिने तायन्फु स्क्वायरबाट सहरको गर्मी छिचोल्दै ३० मिनेटमा पुगिने त्यो ‘छुट्टै संसार’ हो – छेन्दु रिसर्च बेस अफ जायन्ट पाण्डा ब्रिडिङ अर्थात् पाण्डा पार्क ।

२३८ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त पार्कमा प्रवेश गर्दा काला–सेता रौँले ढाकिएको भारी शरीर, गोलो टाउको र आँखाभरि देखिने कालो धब्बा भएका पाण्डाको चर्तिकलाले जो कोहीलाई मोहित बनाउँछ । सम्मोहित तुल्याउँछ।

पाण्डा स्वभावैले चिसो मौसम रुचाउने प्राणी भएकाले गर्मी याममा उनीहरूलाई सिसाले घेरिएका, वातानुकूलित ठूल्ठूला एअर कुल्ड कक्षमा राखिएको छ ।

मानिसहरू भने सिसाको अर्कोपट्टि उभिएर त्ययहाँका दृश्य नियालिरहेका छन् । मोबाइलका क्यामेरा चलिरहेका छन् । कोही भिडियो बनाउँदैछन्, कोही फोटो खिच्दैछन् । तर ती पाण्डालाई दर्शकको भीडले खासै छोएको छैन । उनीहरू आफ्नै तालमा छन् । आफ्नै लयमा छन्।

CHENGDU-PANDA-PARK-1-1789569225.jpg
जो कोहीलाई यो त एक सामान्य वन्यजन्तु पार्क त हो भन्ने लाग्न सक्छ । तर यो पार्क मात्रै होइन । जसरी मानिसले घर बनाउँदा कोठा, भान्सा, बैठक र आँगन छुट्याउँछ, त्यसैगरी पार्कभित्र पाण्डाका लागि पनि आवश्यक सम्पूर्ण संरचना बनाइएका छन् । सकेसम्म प्राकृतिक वातावरण नै दिने कोसिस देखिन्छ।

उनीहरूलाई गर्मीमा एसी जडित कोठाभित्र बस्ने ठाउँ मात्रै दिइएको छैन, खेल्ने ठाउँ छ, खाने ठाउँ छ, चढ्ने ठाउँ छ, लुक्ने ठाउँ छ, आराम गर्ने ठाउँ छ ।

त्यहीँ वाटर फाउन्टेन छन् । गुफाजस्ता संरचना छन् । चढ्न, ओर्लन, लुक्न र खेल्न रुख र हाँगाहरू छन् । ती हाँगामा झुण्डिएर खेल्न डोरी कसिएका छन् । त्यति मात्रै हैन, उनीहरूलाई आराम गर्न खटिया समेत बनाइएका छन् । वाह!

त्यही कोठाभित्र एउटा पाण्डा रूखको हाँगामा चढ्दैछ । केहीबेर हाँगामै अडिएर तल हेर्छ । तलबाट अर्को साथी पनि त्यही हाँगा र डोरीको सहायता लिएर माथि चढ्न लागेको के हुन्छ, माथि रहेको पाण्डा सुल्किएर साथीलाई लडाउँछ !

अर्को कोठामा आमा पाण्डा भुइँमा पल्टिएर बाँस चपाइरहेको हुन्छे । उसका २ बच्चा खटियामाथि उपरखुट्टि लगाएर मस्त निद्रामा छन् ।

कोही पानीको फोहरानजिक खेलिरहेका छन् भने कोही गुफाभित्र पसेर केहीबेरका लागि आँखाबाटै ओझेल भइरहेका ।

कस्तो प्राकृतिक वातावरण दिएको ! चिडियाघरमा कैद छु भन्ने आभास नै नगराएको !

उनीहरूको खानादेखि स्वास्थ्य, सरसफाइदेखि व्यवहारसम्म निरन्तर निगरानी गर्न चौबिसै घण्टा कर्मचारी खटाइएको छ ।

पाण्डाको चर्तिकला हेर्न दैनिक औसत २० हजार मानिसहरू त्यहाँ पुग्ने तथ्यांक छ ।

खुवाउनेदेखि सरसफाई र उपचारसम्मका लागि खटिन्छन् कर्मचारी

पाण्डाको समयको ठूलो हिस्सा खानेमै बित्छ । सामान्यतः उनीहरू दिनको १० घण्टा वा त्यसभन्दा धेरै समय खानमै बिताउँछन् ।

पाण्डाको मुख्य खाना बाँस हो । मौसमअनुसार बाँसका टुसा, पात र डाँठ खान्छ । पाण्डा बेसमा उनीहरूलाई खुवाउनका लागि भनेर चौतर्फी बाँस रोपिएका छन् ।

CHENGDU-PANDA-PARK-2-1789569224.jpg
छेन्दु रिसर्च बेस अफ जायन्ट पाण्डा ब्रिडिङका अनुसार बाँसको प्रकार र भागअनुसार पाण्डाले दिनमा दर्जनौं किलोग्रामसम्म खाना खान सक्छ । बाँसको टुसा उपलब्ध हुने समयमा एउटा पाण्डाले दैनिक करिब २३ देखि ४० किलोग्रामसम्म टुसा खान्छ। पात खाने समयमा करिब १० देखि १४ किलोग्रामसम्म र डाँठ खाने अवस्थामा करिब १७ किलोग्रामसम्म खान सक्छ ।

बाँसमा पोषण र ऊर्जा कम हुने भएकाले पाण्डाले धेरै परिमाणमा खानुपर्ने हुन्छ । सोही कारण पाण्डा बेसले राखिएको कोठामा चौबीसै घण्टा उपलब्ध हुन सक्नेगरी कर्मचारीहरू परिचालन गरेको छ । कुन पाण्डालाई कति, कुन प्रकारको र कुन अवस्थामा खाना दिने भन्ने कुरा समेतमा कर्मचारीहरू सचेत देखिन्छन् ।

त्यस्तै पाण्डाको बस्ने क्षेत्रमा दिनमै पटक–पटक सफा गरिन्छ । खानाको मात्रा र प्रकार हेर्ने, स्वास्थ्य अवस्था नियाल्ने, व्यवहारमा परिवर्तन आए–नआएको बुझ्ने र आवश्यक पर्दा उपचार गर्ने छुट्टाछुट्टै प्रणाली छ । उनीहरूको नियमित स्वास्थ्य जाँच र उपचारका लागि पाण्डा बेसमा पशु स्वास्थ्य तथा रोग नियन्त्रणका लागि छुट्टै संरचना र पाण्डा अस्पतालसमेत बनाइएको छ । खाना, सरसफाइ र नियमित स्वास्थ्य जाँचका लागि दैनिक औसतमा ३५ जना कर्मचारी खटिने गरेको बेसको भनाई छ ।

क्यामेराले पछ्याइरहेको हुन्छ पाण्डाको जीवन

छेन्दुको पाण्डा बेसको अर्को रोचक पक्ष हो—पाण्डाको जीवनको हरेकक्षण संसारले प्रत्यक्ष हेर्न सक्छ ।

चीनले पाण्डाका गतिविधि संसारलाई देखाउन सिसिटिभी आइपाण्डा नामक टेलिभिजन स्टेशन नै खडा गरेको छ । पाण्डाका दृश्य कैद गर्न पाण्डा बेसका विभिन्न भागमा २८ वटा क्यामेरा जडान गरिएका छन् । ती क्यामेराका ‘मल्टी फिड’ लाई कन्ट्रोल रुमबाट विभिन्न सामाजिक संजाल प्लेटफर्ममा लाइभ गरिन्छ ।

पाण्डा रूख चढेको दृश्य होस् वा बाँस खाँदै गरेको, मानिसहरूका लागि त्यो केही सेकेन्डको रमाइलो दृश्य हुन सक्छ । तर त्यसलाई संसारभर पुर्‍याउन क्यामेरा, प्राविधिक, सञ्चारकर्मी र व्यवस्थापनको पूरा संरचना काम गरिरहेको हुन्छ ।

CHENGDU-PANDA-PARK-3-1789569224.jpg
पाण्डाको प्रत्यक्ष प्रसारण र सामग्री निर्माणका लागि मात्र ३० भन्दा धेरै प्राविधिक तथा सञ्चार टोलीले एकसाथ काम गर्छन् । उनीहरूले सामाजिक संजालमा राखेका भिडियोहरू विश्वभरका सामाजिक संजाल प्रयोगकर्ताहरूले मन पराएका छन् ।

अनि दुर्लभको सूचीबाट हट्यो जायन्ट पाण्डा

कुनै समय विशाल पाण्डाको अस्तित्व नै चिन्ताको विषय थियो । सन् १९८० को दशकमा चीनका जंगलमा करिब ११०० वटा मात्रै विशाल पाण्डा रहेको अनुमान थियो ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आयूसीएन) को अभिलेखअनुसार पाण्डा सन् १९९०, १९९४, १९९६ र २००८ का मूल्याङ्कनमा लोपोन्मुख श्रेणीमा थियो । त्यसअघि पनि यसलाई दुर्लभ प्रजातिका रूपमा हेरिन्थ्यो ।

त्यसपछि चीनले पाण्डाको संरक्षणका लागि बासस्थान जोगाउने, प्राकृतिक संरक्षण क्षेत्र विस्तार गर्ने, वैज्ञानिक अनुसन्धान तथा कृत्रिम प्रजननलाई अघि बढाउने काम अघि बढायो । त्यसको नजिता सन् २०१६ मा देखियो । उक्त वर्ष आयूसीएनले पाण्डालाई लोपोन्मुखबाट जोखिम श्रेणीमा झार्‍यो । त्यतिबेलाको राष्ट्रिय सर्वेक्षणमा चीनका जंगलमा १,८६४ वटा पाण्डा भेटिएका थिए, जुन १९८० को दशकको अनुमानभन्दा उल्लेखनीय वृद्धि थियो ।

चीनले संरक्षणलाई अझ व्यवस्थित बनाउँदै ७३ वटा प्राकृतिक संरक्षण क्षेत्रलाई समेटेर करिब २२ हजार वर्ग किलोमिटर क्षेत्रफलको जायन्ट पाण्डा राष्ट्रिय निकुञ्ज स्थापना गरेको छ । पछिल्लो तथ्याङ्कानुसार चीनमा मानव संरक्षणमा रहेका पाण्डाको संख्या पनि सन् २०१५ को ४२२ बाट बढेर सन् २०२५ मा ८०८ पुगेको छ ।
त्यही ठूलो संरक्षण अभियानको एउटा महत्त्वपूर्ण केन्द्र हो छेन्दु रिसर्च बेस अफ जायन्ट पाण्डा ब्रिडिङ । सन् १९८७ मा स्थापना भएको यो केन्द्र अहिले २७० भन्दा बढी पाण्डा रहेको अनुसन्धान, प्रजनन र संरक्षण केन्द्र बनेको छ । रोचक त के छ भने, सन् १९८७ मा जंगलबाट उद्धार गरिएका ६ वटा पाण्डाबाट यसको सुरुआत भएको थियो । सन् २००८ सम्म त्यहाँ १२४ वटा पाण्डाका बच्चा जन्मिएका थिए भने मानव संरक्षणमा रहेका पाण्डाको संख्या ८३ पुगेको थियो । अहिले यही केन्द्रको पाण्डा समूह २७० भन्दा बढी पुगेको हो ।

CHENGDU-PANDA-PARK-5-1789569222.jpg
चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनको २०२५ को तथ्यांकअनुसार हाल जंगलमा रहेका पाण्डाको संख्या करिब १,९०० रहेको जनाएको छ । त्यस्तै, सन् २०२५ को अन्त्यसम्म मानव संरक्षणमा रहेका पाण्डाको संख्या ८०८ पुगेको छ ।

विभिन्न योजना ल्याएर पाण्डाको संख्या बढाइरहेको चीनले जंगली पाण्डाको संख्या र बासस्थान बढाउने, कृत्रिम रूपमा हुर्काइएका पाण्डालाई जंगलमा फर्काउने, प्रविधि र एआईको प्रयोग बढाउने, पाण्डाको आनुवंशिक विविधता र स्वस्थ प्रजननमा जोड दिने र सन् २०२६–२०३० को अवधिमा संरक्षण अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने नीति लिएको छ ।

नेपालका लागि एउटा ऐना

छेन्दुको यो संसारबाट बाहिर निस्किँदा बाहिरको गर्मी उस्तै उखरमाउलो छ । सडकमा मानिसहरू हतार–हतार गन्तव्यतर्फ लागिरहेका छन् । सहर आफ्नै लयमा छ । त्यसको चमकधमक उस्तै छ।

तर केहीबेरअघि देखिएको दृश्य भने मनमा अड्किरहन्छ ।

एउटा पाण्डा हाँगामा चढिरहेको छ । अर्को बाँस चपाइरहेको छ । कोही पानीसँग खेलिरहेको छ । कोही गुफाभित्र आराम गरिरहेको छ । कसैलाई दर्शकको भीडको मतलब छैन ।

उसलाई सायद थाहा छैन— उसको त्यो सामान्य दिनचर्यालाई सामान्य बनाइराख्न एउटा देशले असाधारण मेहनत गरिरहेको छ ।

छेन्दुले देखाएको पाठ यही हो— वन्यजन्तु संरक्षण भनेको जनावरलाई बचाउनु मात्रै होइन, उसका लागि आवश्यक संसार जोगाउनु पनि हो ।

नेपालमा विशाल पाण्डा त छैन । तर नेपालको जंगलमा रातो पाण्डा छ— सानो, दुर्लभ र उस्तै आकर्षक ।

चीनमा विशाल पाण्डाका लागि एउटा छुट्टै संसार बनाइएको छ । नेपालमा भने रातो पाण्डाको ठूलो हिस्सा अझै प्राकृतिक जंगल र सामुदायिक वनमा निर्भर छ ।

रातो पाण्डा संरक्षणको नाममा सरकारले विभिन्न समयमा विभिन्न योजना नल्याएको होइन । तर योजना भनेअनुरुप तर्जुमा गर्न नसक्दा आज रातो पाण्डा झनझन दुर्लभ बन्ने स्थिति छ ।

हुन त छेन्दुको पाण्डा पार्क घुम्दै गर्दा हाम्रो जिज्ञासासँगै अपेक्षा थियो– हाम्रो नेपालले पनि यस्तै गरि लोपोन्मुख जीवहरूको संरक्षण गर्नु नि है !

हामीसँगै रहेका त्रिभुवन विश्वविद्यालय आमसंचार तथा पत्रकारिता विभाग उपप्राध्यापक ऋषिकेश दाहालको ठट्यौली जवाफ थियो – नेपालले जनता त जोगाउन सकेको छैन, कसरी यस्ता जीवजन्तु जोगाओस!

नेपालको हाल त्यस्तै छ । त्यसैले छेन्दुको यो संसार नेपालका लागि केवल हेर्न लायक दृश्य होइन, एउटा प्रश्न पनि हो—हामीले आफ्ना रातो पाण्डा लगायत हाम्रा दुर्लभ जीव जोगाउनका लागि कस्तो संसार जोगाइरहेका छौँ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिरामी आमा छाडेर खटिएँ उद्धारमा

बिरामी आमा छाडेर खटिएँ उद्धारमा

हामीले १८ गते बेलुकासम्ममा सुरुङको प्रवेश बिन्दु पत्ता लगायौँ । अनि १९ गते त्यो सुरुङबाट प्रवेश गर्न सफल भयौँ । हामी १८ गते बिहान नै  प्रवेश बिन्दुमा पुगिसकेका...
‘हजुर ओर्लिनु भयो भने मेरा बच्चा भोकै पर्छन्’

‘हजुर ओर्लिनु भयो भने मेरा बच्चा भोकै पर्छन्’

मैले धेरै ठाउँमा रिक्सा धकेलेँ। उहाँलाई ‘तपाईं बस्नुस्, म चलाउँछु’ भनेर पनि भनेँ। तर उहाँले मान्नुभएन। गन्तव्यमा पुगेपछि मेरो गोजीमा रहेको लगभग सबै पैसा उहाँलाई दिएँ, आफ्नो लागि...
निजामतीमा ३०/५५ बारे के भन्छ लोक सेवा आयोग ?

निजामतीमा ३०/५५ बारे के भन्छ लोक सेवा आयोग ?

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले निजामती सेवामा ३०/५५ को प्रावधानबारे सरकारले कुनै जानकारी नगराएको बताएको छ । रासससँग कुरा गर्दै अध्यक्ष रेग्मीले सरकारले ल्याउन खोजेको यो...
नेपालको शैक्षिक परामर्श क्षेत्रको संकट र समाधान

नेपालको शैक्षिक परामर्श क्षेत्रको संकट र समाधान

सरकारले अघि सारेको 'मोटो धरौटी' को प्रावधानले शैक्षिक परामर्श क्षेत्रलाई सुधार्ने होइन, बरु यसलाई धनी र माफियाहरूको 'सिन्डिकेट' मा बदल्ने खतरा बढी देखिन्छ। जबसम्म राज्यले युवाहरूको पलायनको मूल...