नेभिगेशन
समाज

बिरामी आमा छाडेर खटिएँ उद्धारमा

यही भदौ १० गते रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिबारे मैले समाचारहरू हेरिरहेको थिएँ । समाचार देखिसकेपछि मलाई यस्तो बेलामा कसरी राज्यलाई सहयोग गर्न सक्छु होला भन्ने लागिरहेको थियो । उद्धारमा सरिक भएर मैले जानेको सीप कसरी प्रयोग गर्न सक्छु होला भन्ने सोचिरहेको थिएँ । त्यहीबेला ११ गते मैले एउटा सूचना देखेँ । नेपाल हेभी इक्युपमेन्ट अपरेटर सङ्घको पेजबाट जारी भएको त्यो सूचनामा, ‘तपाईंहरू कोही जान चाहने इच्छुक व्यक्तिहरू त्यहाँ गइदिनुस् उद्धारका लागि’ भनेर सम्पर्क नम्बर राखिएको थियो । मैले सम्पर्क गरेँ । अनि त्यो नम्बरको व्यक्तिले मलाई सेनासँग सम्पर्क गराउनुभयो र म सेनामार्फत त्यही दिन त्रिशुली थ्री ए जलविद्युत् आयोजनास्थलमा पुगेँ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यहाँ मैले सेनाको दुई समूहसँग काम गर्ने मौका पाएँ, पहिलो श्री नम्बर १ विपद् व्यवस्थापन गण र दोस्रो युद्ध भैरव गणको ‘स्पेशल फोर्स’ सँग । सुरुमा मैले एक्साभेटर प्रयोग गरेर बाटो बनाउने काम गरेँ । म जाँदाखेरि अवस्था दर्दनाक थियो । बजारहरू बगाएर केही थिएन । त्यहाँका मान्छेहरूको पीडा मैले नजिकबाट देखेँ । अनि त्यो कुराहरूले मलाई एकदमै काम गर्नका लागि ‘मोटिभेट’ गर्‍यो ।

Ncell
Extreme Energy

काम गर्ने ठाउँ नदीको छेउमै थियो । बाढीको त्रासको बीचमा हामीले काम गर्नुपथ्र्यो । गएको ११ गते बेलुकीदेखि मैले काम सुरु गरेको थिएँ । हामीलाई सुरुङ भएको ठाउँसम्म बाटो पुर्‍याउनै १२ गतेको लगभग ११–१२ बजेसम्म लाग्यो । बाटो पुगिसकेपछि सुरुङ उत्खनन गर्न जटिल परिस्थिति सिर्जना भयो । पानी परिरहेको थियो । हामीलाई विद्युत् प्राधिकरणका सरहरूले नक्सा दिनुभएको थियो, त्यही अनुसार काम गर्न एकदमै जटिल थियो, त्यहाँ ठुल्ठुला ढुङ्गाहरू थिए ।

हामीले १८ गते बेलुकासम्ममा सुरुङको प्रवेश बिन्दु पत्ता लगायौँ । अनि १९ गते त्यो सुरुङबाट प्रवेश गर्न सफल भयौँ । हामी १८ गते बिहान नै  प्रवेश बिन्दुमा पुगिसकेका थियौँ, तर त्यो एकदमै भरिएको थियो । त्यो खोतल्न हामीलाई दिनभर लाग्यो । कामलाई नरोक्न ‘सिफ्ट’ मा काम गरिरहेका थियौँ । रातिको १ देखि २ बजेको समयमा हामीले भित्र केही गुनगुन गरेको आवाज सुन्यौँ । त्यो सुनिसके पछि मान्छे जीवितै छ, झनै कामको रफ्तार बढाउनुपर्छ भनेर अरु आराममा गएका साथीहरूलाई पनि बोलाएर काम गर्‍यौँ । त्यसपछि हामीले सुरुङको केही जटिल भागहरू तोड्न सफल भयौँ र १९ गते बिहान हामी भित्र प्रवेश गर्न सक्यौँ । 

सुरुमा दुईजनाको जीवित उद्धार भयो । त्यसपछि मलाई पनि त्यो सुरुङभित्र जान इच्छा लाग्यो । सुरुदेखि मैले त्यहाँ काम गरेको हुनाले मैले सेनालाई त्यहाँ जान अनुरोध गरेँ । उहाँहरूले अनुमति दिनु भयो । त्यहाँ सर्वसाधारण नागरिकको रूपमा म एक्लै थिएँ । मलाई भित्रैदेखि एउटा ऊर्जा प्राप्त भयो । अब म पनि जान्छु, मैले पनि केही गर्छु भन्ने सोचेर म गएँ । भित्र गइसके पछि सुरुङको माथिल्लो  तलासम्म पुगेर मलगायत स्पेशल फोर्सको टोलीले एउटा लास निकाल्यौँ ।

पाँच–सात दिनसम्म हामी सुरुङको मुखमा पुग्न सकेका थिएनौँ, तर त्यो बेला विभिन्न मिडियाले एकदमै अफवाह फैलाएको थियो । अक्सिजन पुर्‍याइसक्यो, जुस पुर्‍याइसक्यो जस्ता समाचार मिडियाले प्रवाह गरेको देखेँ । त्यो देखेर मलाई चित्त बुझेन । अनि मैले स्थलगत रूपमा खास यस्तो भइरहेको छ भनेर भिडियो बनाएर सेयर गरेँ । त्यो देखेपछि पीडितले उहाँका हराएका आफन्तको खोजी गर्न मलाई सम्पर्क गर्न थाल्नुभयो । धेरैजनाले मलाई सम्पर्क गरेर फोटो, भिडियोलगायत उहाँहरूको पहिचान हुनसक्ने कुरा पठाउनुभयो । त्यसले मलाई उद्धारमा खटिन झनै नैतिक दबाब बढ्यो । उहाँहरूले मसँग गुहार मागे जस्तो अनुभूति भयो । मेरो शरीरले एकदमै काम गर्न नसक्ने स्थितिमा पनि मैले मैले काम गर्नुपर्छ, आज मैले अलिकति मेहेनत गरेँ भने कसैको सास बच्न सक्छ भन्ने मनमा लाग्यो । सासै नभए पनि कसैको लास फेला पारेर उसको आफन्तसँग पुर्‍याउन पाए पनि मलाई सन्तुष्टि मिल्छ भन्ने लाग्यो । अनि म झन् डटेर उद्धारमा खटिएँ । 

सुरुङभित्र लगभग १६० देखि १७० मिटर दूरी पावरहाउस पुग्न लाग्थ्यो । बीचमा ठूला–ठूला ढुङ्गाहरू, सिङ्गै रुखहरू त्यहाँ थिए । घुँडाभन्दा माथि लेदो थियो । अन्धकार सुरुङभित्र, त्यही पनि बाटो थाहा छैन, पूरै भलबाढीले हिलो, ढुङ्गा, माटो थुपारेको छ, त्यस्तो जटिल थियो जानका लागि । मैले एकदम आँट गरेँ । सेनासँग सहकार्य गरेर गएँ र सुरुङको माथ्लो तलाबाट जहाँ इन्टेकबाट पानी आउने सुरुङ हुन्छ, त्यहाँनिर एउटा लास देखेँ । अनि त्यो लास उद्धार गर्न सेनासहित पुग्यौँ ।

त्यसपछि हामी दोहोर्‍याएर पनि त्यहाँ फेरि गयौँ । तर कुनै लासहरू पनि भेटिएन र मान्छे जीवित भएको संकेत फेला परेन । अनि हामी फर्कियौँ । पछि सेनासहित चीनबाट आउनुभएका विशेषज्ञको टोली पनि जानुभयो । कुनै जीवित मान्छे फेला नपरेपछि उहाँहरू पनि फर्किनुभयो ।

सुरुमा यो उद्धारमा मेसिन लिएर पुग्ने बेला अपरेटरका रूपमा म एक्लै थिएँ । तीन दिनपछि भने पुलिस हेडक्वाटरबाट सरहरू पनि आउनुभएको थियो । सेनाका एक्साभेटर अपरेटरहरू पनि आउनुभयो । अरु सिभिल अपरेटरहरू पनि हुनुहुन्थ्यो । लगभग सात–आठजना अपरेटर भएका थियौँ ।

हामी २१ गते फर्कियौँ । दुईजनाको जीवित उद्धार गरिसकेपछि मलाई एकजना सेनाको कर्नेल साबले धाप मार्दै “थ्याङ्क यु सुजन भाइ” भन्नुभयो । त्यतिबेला म भावुक भएँ । मैले जे गरेँ ठीक गरेँ भन्ने लाग्यो । त्यतिबेला मेरो आमा बिरामी हुनुहुन्थ्यो । मैले “ल ममी यस्तो भइरहेछ, म चाहिँ उद्धारमा छु” भनेको थिएँ ।  खासमा म त्यहाँ दुई–तीन दिनका लागि भनेर गएको थिएँ, तर काम गर्दै जाँदा यस्तो भयो कि त्यहाँ केही सफलता हात नपरेसम्म मलाई फर्किनै मन लागेन । यस्तो विकराल अवस्थामा मैले एउटा नेपाली नागरिकको हैसियतले मेरो तर्फबाट गर्न सक्ने क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुहुने नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीय बासिन्दा सबैप्रति आभारी छु । अन्तरहृदयदेखि सबैलाई धन्यवाद भन्न चाहन्छु ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हजुर ओर्लिनु भयो भने मेरा बच्चा भोकै पर्छन्’

‘हजुर ओर्लिनु भयो भने मेरा बच्चा भोकै पर्छन्’

मैले धेरै ठाउँमा रिक्सा धकेलेँ। उहाँलाई ‘तपाईं बस्नुस्, म चलाउँछु’ भनेर पनि भनेँ। तर उहाँले मान्नुभएन। गन्तव्यमा पुगेपछि मेरो गोजीमा रहेको लगभग सबै पैसा उहाँलाई दिएँ, आफ्नो लागि...
निजामतीमा ३०/५५ बारे के भन्छ लोक सेवा आयोग ?

निजामतीमा ३०/५५ बारे के भन्छ लोक सेवा आयोग ?

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले निजामती सेवामा ३०/५५ को प्रावधानबारे सरकारले कुनै जानकारी नगराएको बताएको छ । रासससँग कुरा गर्दै अध्यक्ष रेग्मीले सरकारले ल्याउन खोजेको यो...
नेपालको शैक्षिक परामर्श क्षेत्रको संकट र समाधान

नेपालको शैक्षिक परामर्श क्षेत्रको संकट र समाधान

सरकारले अघि सारेको 'मोटो धरौटी' को प्रावधानले शैक्षिक परामर्श क्षेत्रलाई सुधार्ने होइन, बरु यसलाई धनी र माफियाहरूको 'सिन्डिकेट' मा बदल्ने खतरा बढी देखिन्छ। जबसम्म राज्यले युवाहरूको पलायनको मूल...
जलविद्युतदेखि हरित औद्योगिकीकरणसम्म: किन चाहिन्छ छुट्टै ‘हरित औद्योगिक प्राधिकरण’ ?

जलविद्युतदेखि हरित औद्योगिकीकरणसम्म: किन चाहिन्छ छुट्टै ‘हरित औद्योगिक प्राधिकरण’ ?

यदि हामीले दृढ राजनीतिक इच्छाशक्तिका साथ तत्कालै अधिकारसम्पन्न ‘नेपाल हरित औद्योगिक प्राधिकरण’ खडा गरेर समानान्तर रूपमा काम अगाडि बढायौँ भने, हाम्रा नदीबाट निस्किने बिजुलीले नेपाललाई ऊर्जा निर्यातक मात्र...