नेभिगेशन
समाज

हुलाकीको झोलादेखि मोबाइलसम्म : फेरियो चिठीको यात्रा, उस्तै छ आत्मीयताको चाहना

लमजुङ । कुनै बेला गाउँमा हुलाकी देखिनासाथ मानिस घरबाट बाहिर निस्कन्थे । कसैका लागि त्यो परदेशमा रहेका श्रीमानको खबर हुन्थ्यो त कसैका लागि सन्तान र आफन्तको सुखदुःख बुझ्ने माध्यम । हुलाकीको झोलाबाट निस्कने एउटा चिठीले महिनौँदेखिको प्रतीक्षा अन्त्य गरिदिन्थ्यो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समय फेरिएको छ । हातले लेखिएका चिठीको ठाउँ मोबाइल फोन, म्यासेन्जर र सामाजिक सञ्जालले लिएका छन् । सूचना र सन्देश आदानप्रदान गर्न अब महिनौँ कुर्नुपर्दैन । तर, चिठीको प्रतीक्षा, त्यसले दिने खुसी र त्यसमा व्यक्त हुने आत्मीयताको सम्झना भने पुरानो पुस्ताको मनमा अझै ताजै छ ।

Marvel
Extreme Energy

बेँसीसहर नगरपालिका–१० का ९३ वर्षीय लालबहादुर गुरुङले चिठीको प्रतीक्षा र त्यसले दिने खुसी नजिकबाट अनुभव गरेका छन् । भारतीय सेनामा करिब ३५ वर्ष सेवा गर्नुभएका उनका लागि घरबाट आउने चिठी परिवारसँग जोडिने महत्त्वपूर्ण माध्यम थियो ।

“घरबाट चिठी आउन पाँच–छ महिना लाग्थ्यो, कहिलेकाहीँ एक वर्ष पनि कुर्नुपर्थ्यो,” उनले विगत सम्झँदै भने । श्रीमतीले चिठी लेख्दा कतिपय कुरा सङ्केत र विशेष शैलीमा व्यक्त गर्ने गरेको उनलाई अझै सम्झना छ ।

अहिले भने मोबाइलबाटै परिवारसँग तत्काल कुरा गर्न र तस्बिर हेर्न पाउँदा खुसी लाग्ने उनी बताउँछन् । सञ्चारको माध्यम फेरिए पनि परिवारसँग जोडिइरहने चाहना भने उस्तै रहेको उनको अनुभव छ ।

मध्यनेपाल नगरपालिका–३, सूर्यपालकी ७० वर्षीया आशकुमारी गौतमको अनुभव पनि चिठीसँगै जोडिएको छ । श्रीमान् परदेशमा रहँदा घरपरिवारको खबर आदानप्रदान गर्ने मुख्य माध्यम चिठी नै थियो । उनका अनुसार सामान्य चिठीभन्दा रजिस्ट्ररी चिठी छिटो आइपुग्थ्यो ।

त्यतिबेला पढ्नलेख्न सहज नहुँदा विद्यालय जाने बालबालिकाको सहयोग लिएर चिठी लेख्ने र पढ्ने गरिन्थ्यो । श्रीमान्को जागिर स्थायी भएको खबर चिठीबाटै पाउँदा आफूलाई ठूलो खुसी लागेको उनी सम्झन्छन् ।

“बेस्सरी भोक लागेको बेलामा भात खाएजस्तो आनन्द हुन्थ्यो,” उनले चिठी पढ्दाको खुसी सम्झँदै भने ।

मस्र्याङ्दी गाउँपालिका–३, ढंगैका पूर्णबहादुर गुरुङले भने हातले चिठी लेखेर पठाउने अनुभव खासै बटुलेका छैनन् । अहिले उनी मोबाइल, म्यासेन्जर र सामाजिक सञ्जालमार्फत आफन्तसँग सम्पर्क गर्छन् ।

उनका विचारमा प्रविधिले मानिसबीचको दूरी घटाए पनि हातले लेखिएको चिठीमा व्यक्त हुने माया र भावनाको महत्त्व छुट्टै हुन्छ । नयाँ पुस्ताले पुरानो चिठी लेख्ने परम्परासँग जोडिएको आत्मीयता र संस्कार बिर्सन नहुने उनी बताउँछन् ।

चिठी घटे, हुलाकको जिम्मेवारी फेरियो

व्यक्तिगत चिठी लेख्ने चलन घट्दै गए पनि हुलाक सेवाको आवश्यकता भने पूर्ण रूपमा समाप्त भएको छैन । जिल्ला हुलाक कार्यालय लमजुङका हुलाक अधिकृत श्यामविक्रम न्यौपानेका अनुसार अहिले व्यक्तिले व्यक्तिलाई पठाउने व्यक्तिगत तथा पारिवारिक चिठीको प्रयोग लगभग शून्यमा झरेको छ ।

यद्यपि सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका पत्राचार र विदेशबाट आउने पार्सलको ओसारपसार जारी छ । पहिले व्यक्तिगत चिठी, शोकपत्र, पोस्टकार्ड, पुस्तक, पत्रपत्रिका तथा सरकारी कागजात हुलाकका प्रमुख सामग्री थिए । अहिले भने राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, सिमकार्ड, एटिएम कार्ड, पार्सल तथा अदालतका मिसिलजस्ता सामग्रीको प्राप्ति र वितरण हुँदै आएको न्यौपानेले बताए ।

लमजुङमा जिल्ला हुलाक कार्यालयसहित सात स्थानीय तहमा हुलाक कार्यालय र बेँसीसहरमा एउटा हुलाक काउन्टर सञ्चालनमा छन् । जिल्लाका ३६ वडामा ३६ वटा अतिरिक्त हुलाक कार्यालय रहेका छन् ।

जिल्लाभर हुलाकी तथा हल्काराका ३४ दरबन्दी कायम रहे पनि अवकाश भएका कर्मचारीको ठाउँमा नयाँ पदपूर्ति नहुँदा जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको न्यौपानेले बताए ।

आर्थिक वर्ष २०८२/८३ मा लमजुङमा औसत प्रतिमहिना छवटा पार्सल वितरण भएका थिए । त्यस्तै, प्रतिमहिना आठदेखि नौवटा रजिस्ट्ररी पुलिन्दा तथा द्रुत डाँक सेवा (ईएमएस) सम्बन्धी सामग्री दर्ता गरी बाहिर पठाउने काम भएको थियो ।

सोही आर्थिक वर्षमा जिल्ला हुलाक कार्यालयले आठ लाख २५ हजार ८४७ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ११ प्रतिशत कम हो ।

न्यौपानेका अनुसार मोबाइल र इन्टरनेटको विस्तारले परम्परागत चिठीपत्रको काम घटाए पनि सुरक्षित पार्सल वितरण तथा सरकारी र संस्थागत कागजातको ओसारपसारमा हुलाकको भूमिका कायमै छ । आगामी दिनमा हुलाकलाई डिजिटल सरकारी सेवा, पार्सल वितरण, विद्युतीय व्यापार तथा नागरिक सेवा उपलब्ध गराउने आधुनिक सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।

कुनै बेला हुलाकीको झोलामा बोकेर गाउँगाउँ पुर्‍याइने चिठीले मानिसका भावना, सम्बन्ध र खबर जोड्थ्यो । अहिले मोबाइलको पर्दाबाटै ती खबर क्षणभरमै आदानप्रदान हुन्छन् । हुलाकीको झोला फेरिएको छ, चिठीको माध्यम फेरिएको छ, तर आफ्ना मान्छेको खबर पाउने र उनीहरूसँग जोडिइरहने चाहना भने उस्तै छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडे अनशन

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडे अनशन

सरकार र अनशनरत डा. गोविन्द केसीबीच छबुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले शनिबार राति आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् ।
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज देशका केही हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने भएको छ ।
चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा, यात्रु सहायता कक्षदेखि विशेष गस्ती

चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा, यात्रु सहायता कक्षदेखि विशेष गस्ती

तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ ।
अब पर्सामा हुलाकमार्फत घरघरमै पुग्नेछ टेलिकमको सिमकार्ड

अब पर्सामा हुलाकमार्फत घरघरमै पुग्नेछ टेलिकमको सिमकार्ड

नेपाल टेलिकमले पर्सामा सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ ।