नेभिगेशन
समाज

केराका बोटबाटै अतिरिक्त आम्दानी

धनुषा । मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ। लक्ष्मीपूजाका दिन घर तथा व्यापारिक प्रतिष्ठानमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यस क्षेत्रमा केराका थामको माग बढेको हो। यसबाट किसानले नियमित उत्पादनबाहेक पनि राम्रो आम्दानी गर्न थालेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दीपावली नजिकिएसँगै धनुषा र महोत्तरीका गाउँबस्तीमा केराका थामको कारोबार बढेको छ। किसानले ट्याक्टर तथा बयलगाडामा राखेर जनकपुरधामलगायतका बजारमा थाम बिक्रीका लागि पुर्‍याएका छन्। व्यापारीसमेत गाउँगाउँ र केराघारीमै पुगेर थाम खरिद गर्न थालेका छन्।

Marvel
Extreme Energy

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पकडियाका किसान सुशील सिंहले जनकपुरधाम बजारमा प्रतिथाम २५० देखि ३०० रुपैयाँसम्ममा केराका थाम बिक्री भएको बताए। दीपावलीका बेला केराका थामले राम्रो मूल्य पाउने भएकाले किसानलाई अतिरिक्त आम्दानी हुने गरेको उनको भनाइ छ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार लक्ष्मीपूजाका लागि शनिबार र आइतबार मात्रै जनकपुरधाममा करिब आठदेखि नौ हजार केराका थाम बिक्री भएका थिए। पर्वको एक दिनअघिदेखि नै थामको बिक्री बढेको उनले जानकारी दिए।

केराको झ्याङमा बोट धेरै गाँजिएपछि राम्रो उत्पादन लिन केही बोट हटाउनुपर्ने हुन्छ। सामान्य अवस्थामा उखेलेर फाल्नुपर्ने यस्ता बोट दीपावलीका बेला बिक्री हुँदा किसानलाई दोहोरो फाइदा हुने गरेको छ।

बर्दिबास नगरपालिका–९ पशुपतिनगरका केरा किसान ब्रह्मदेव महतोले केराका अतिरिक्त बोट व्यवस्थापन गर्नुपर्ने भए पनि दीपावलीमा बिक्री हुने भएकाले पर्व कुर्ने गरेको बताए। अन्य समयमा उखेलेर फाल्नुपर्ने बोट चाडपर्वमा राम्रो मूल्यमा बिक्री हुने गरेको उनको भनाइ छ। उनले यस वर्ष एकै दिनमा १५ हजार रुपैयाँभन्दा बढीका केराका थाम बिक्री गरेका छन्।

मिथिला परम्पराअनुसार लक्ष्मीपूजाका दिन घर तथा व्यापारिक प्रतिष्ठानमा केराका थाम प्रयोग गरी स्वागतद्वार बनाउने चलन छ। स्वागतद्वारका मूल खाँबाका रूपमा केराका थाम प्रयोग गरिने भएकाले दीपावलीमा यसको माग बढ्छ। सामान्यतया दुईवटा थाम प्रयोग गरेर स्वागतद्वार बनाइने भए पनि कतिपयले चारवटासम्म प्रयोग गर्ने गरेका छन्।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पकडियाका किसान रामनारायण सिंहका अनुसार यस वर्ष केराका थाम खरिद गर्न व्यापारीले एक साताअघिदेखि नै बैना दिन थालेका थिए। पर्वका दिन थामको अभाव हुन सक्ने र मूल्य बढ्न सक्ने भएकाले व्यापारीले किसानका केराघारीमै पुगेर मूल्य तय गरी खरिद गर्ने गरेका छन्।

महोत्तरीको भङ्गाहा नगरपालिका–४ का व्यावसायिक केरा किसान सत्यनारायण यादवले यस वर्ष ३५ हजार रुपैयाँ बराबरका केराका थाम बिक्री गरेको बताए। करिब एक बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका उनका अनुसार राम्रो उत्पादन लिन एउटा झ्याङमा तीनभन्दा बढी बोट राख्नु उपयुक्त हुँदैन। त्यसैले अतिरिक्त बोट हटाउनुपर्ने हुन्छ। दीपावलीमा त्यस्ता बोट बिक्री हुने भएकाले किसानले पर्वलाई आम्दानीको अवसरका रूपमा लिने गरेका छन्।

धनुषाका जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, सबैला, गोदार र वीरेन्द्रबजार तथा महोत्तरीका बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलवा र जलेश्वरलगायतका बजारमा केराका थामको कारोबार भएको छ। व्यापारिक प्रतिष्ठानका सञ्चालक तथा उपभोक्ता गाउँमै पुगेर थाम खरिद गर्न थालेपछि किसानलाई बजारसम्म पुर्‍याउने झन्झटसमेत कम भएको छ।

महोत्तरीको भङ्गाहा नगरपालिका–७ हतिसर्वास्थित झपौल बस्तीका किसान रामचन्द्र महराले चाडपर्वका बेला खर्च जुटाउन केराका थाम बिक्रीले सहयोग पुगेको बताए। व्यापारी घरमै आएर खरिद गर्ने भएकाले बजारसम्म थाम पुर्‍याउनुपर्ने झन्झट नहुने र पर्व मनाउन पनि सहज भएको उनको भनाइ छ।

किसानका अनुसार दीपावलीका बेला एक जोडी केराका थाम ६०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। बलवा नगरपालिकाको भगवतीपुरका किसान ललन महतोले १० कट्ठामा लगाएको केराखेतीबाट नयाँ कोथा बिक्री गरी १५ हजार रुपैयाँ आम्दानी गरेको बताए।

दीपावलीसँगै छठपर्वमा पनि केराको घरी र कोथाको माग बढ्ने गरेको छ। छठमा केराको घरी प्रसादका रूपमा चढाउने धार्मिक परम्पराका कारण यसको बिक्री बढ्ने किसान बताउँछन्।

नियमित बजारमा बिक्री नहुने अतिरिक्त बोट र कोथा चाडपर्वका बेला राम्रो मूल्यमा बिक्री हुँदा किसानका लागि आम्दानीको थप स्रोत बनेका छन्। धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको केराको प्रयोगले मिथिलाञ्चलमा चाडपर्वको रौनक बढाउनुका साथै स्थानीय किसानको आयआर्जनमा समेत योगदान पुर्‍याएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पश्चिमी वायुको आंशिक प्रभाव, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान...
घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटार नजिकै घोप्टेभीरमा सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
डलरको भाउ स्थिर, युरो र पाउन्डसहित अधिकांश विदेशी मुद्रा सस्तिए

डलरको भाउ स्थिर, युरो र पाउन्डसहित अधिकांश विदेशी मुद्रा सस्तिए

नेपाल राष्ट्र बैंकले सोमबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।