नेभिगेशन
सबै कुरा

फलाम खानीबाट सयौँ ट्रक कच्चा पदार्थ चोरीमा त्रिवेणी ग्रुपमाथि अनुसन्धान

काठमाडौँ । उद्योगी तथा व्यापारीक समूह त्रिवेणी ग्रुप फलामको अवैध खनिज पदार्थ चोरी आरोपको अनुसन्धानमा तानिएको छ । सो समूहले मकवानपुरको वकैयाबाट फलामयुक्त ढुंगा र माटोका कण (आइरन ओर) चोरी गरेर दाङमा रहेको घोराही सिमेन्ट उद्योगमा पुर्याउने गरेको एक अनुसन्धानमा खुलेको हो ।

पछिल्लो एक वर्षमा मात्रै सो समूहले झण्डै ३ सय टिपर यस्तो खनिज पदार्थ चोरेर दाङ पुर्याएको पाइएको खानी विभाग अन्तर्गतको अध्ययन समितिले फेला पारेको छ । खानी क्षेत्रमा खनेर सम्याइएको जमिनको प्रकृति हेर्दा करोडौँ मूल्यको खानीजन्य वस्तु चोरी भएको हुनसक्ने देखिएको विभागको अनुसन्धान अधिकारीहरुले बताएका छन् । 

City Express

खानी अन्वेषणको मात्रै अनुमति पाएको सो समूहले आफूले अध्ययन अनुमति पाएको जमिनबाट रातोमाटो लैजाने भन्दै आइरनओर चोरी गर्ने गरेको खुलेको हो । झण्डै दुई साताअघि वकैयाको एक खेतबाट सम्याउन खनिएको ठाउँको माटो लैजाँदै गरेको अवस्थामा मकवानपुर प्रहरीले ४ वटा टिपरलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका चालकहरुकाअनुसार सो दिन त्यसअघि मात्रै २० वटा टिपर यस्तो खनिज बोकेर वकैयाबाट बाहिरिएका थिए । पक्राउ परेका टिपर चालकहरुसँग बरामद कागजातका आधारमा गरिएको अनुसन्धानमा सो समूहले सयौं टिपर आइरन ओर चोरी गरेको मकवानपुर जिल्ला प्रशासन कार्यालयले पनि पुष्टि गरेको छ ।

जिल्लाको वकैया गाउँपालिकामा रहेको खानी क्षेत्रबाट सो समूहले फलामयुक्त माटो चोेरेर दाङ लैजादै गरेको अवस्थामा ४ वटा ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले जानकारी दिए । ‘आइरन ओर अनुसन्धानका लागि अनुमति लिएर अवैध रुपमा खानीजन्य वस्तु निकालिएको पाइएपछि ट्रक नियन्त्रणमा लिएर खानी विभागलाई जिम्मा लगाइएको छ,’ प्रमुख जिल्ला अधिकारी चिलुवालले सिधाकुरासँग भने । 

अवैध उत्खनन् क्षेत्रको वकैया गाउँपालिकाले पनि सो समूहले अवैध उत्खनन् गरेर खानीजन्य वस्तु लगेको पाइएको बताएको छ । अनुसन्धानका लागि मात्रै भनेर खानी क्षेत्रबाट रातोमाटो भनेर लगिएको भनिएको माटो अहिले आएर अवैध आइरन ओर भएको बुझिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र श्रेष्ठले सिधाकुरालाई बताए ।

‘अनुसन्धानको लागि भन्दै माटो भनेर निकासी बढेपछि पालिकाले थोरै भए पनि शुल्क लगाउँ भनेर यो वर्षदेखि रसिद काट्न थालेको थियो,’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने, ‘यत्तिका बेलासम्म अनुमति बेगरको कच्चा पदार्थ लगिएको कुरा भर्खरै पत्ता लाग्यो ।’ उनकाअनुसार खानी विभागले जिल्ला प्रशासनसँग समन्वय गरेर अनुसन्धान अघि बढाएपछि आफूहरुले पनि यस्तो विषय थाहा पाइएको हो । 

खानी अनुसन्धानका लागि अनुमति पाएको कम्पनीले कच्चा पदार्थ लैजान थालेपछि पालिकाले कानुन अभावका बाबजुत प्रति टिपर झण्डै ४१ सय रुपैयाँ राजश्व लगाएको थियो । सोही राजश्व मात्रै तिरेर लैजाने गरेको कच्चा पदार्थ महँगो आइरन ओर भएको पाइएपछि पालिकाले पनि आन्तरिक अनुसन्धान थालेको जनाएको छ । 

प्रारम्भिक अनुसन्धानमा आर्थिक वर्ष २०८०/८१ मात्रै सो कम्पनीले पालिकालाई राजश्व तिरेर झण्डै एक सय ट्रक आइरन ओर लगेको पाइएको छ । ‘अत्याधिक मात्रामा माटो लैजान थालेपछि मात्रै हामीले राजश्व लगाएका हौँ,’ सो विषय अनुसन्धान गरिरहेका पालिकाका अर्का एक अधिकारी भन्छन्, ‘त्यसअघि त कति लगे लगे । कुनै हिसाब नै छैन् । भू–गर्व विभागले पनि अनुसन्धान गरिरहेकाले थप विवरण पछि खुल्ला ।’  पालिकाकाअनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै रातो माटो भनेर आइरन ओर चोरी गरेर घोराही सिमेन्ट उद्योगमा पुर्याउने क्युजा डेभलपमेन्ट प्रालीले ४ लाख बढी राजश्व वकैया गाउँपालिकालाई बुझाएको छ । 

पालिकाकाअनुसार शिखरापुर मिनरल्स प्रालिको नाममा रहेको सो खानी संघाई ग्रुप अन्तर्गतका प्रमुख पुरुषत्तोमलाल संघाईले अन्वेषण अनुमति लिएका थिए । नियन्त्रणमा लिएका ट्रकबाट प्राप्त रसिदहरुमा उक्त आइरन ओर संघाई समूहले नै सञ्चालन गर्ने घोराही सिमेन्टमा बिक्रि गरिएको पाइएको छ । मकवानपुरको वकैयाबाट अवैध रुपमा चोरी भएको आइरन ओरबारे अनुसन्धान भइरहेको खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक जयराज  घिमिरेले सिधाकुरालाई बताए । ‘अवैध रुपमा खानीजन्य पदार्थ चोरी गरेर लगिएको सूचनापछि प्रहरीलाई समन्वय गरेर केही टिपर नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ,’ घिमिरेले भने, ‘पक्राउ परेका टिपरले काटेको रसिदमा घोराही पुर्याउन क्युजा डेभलभमेन्ट प्रालि नामक कम्पनीको नाममा रसिद काटिएको पाइएको छ ।’  बिस्तृत अनुसन्धान सकिएपछि सो प्रकरणमा आधिकारिक धारणा सार्वजनिक गर्ने विभागको तयारी छ । 

सिधाकुरालाई प्राप्त विवरणअनुसार आइरन ओर खानी अनुसन्धान अनुमति पाएको कम्पनी, कच्चा पदार्थ विक्रि गरिएको सिमेन्ट उद्योग र सो कच्चा पदार्थ ढुवानी गर्ने तीन वटै कम्पनी प्रतिष्ठित उद्योगी तथा व्यापारीक समूह त्रिवेणी समूह अन्तर्गतका हुन् । मकवानपुरको वकैयामा फलाम खानीको अनुमति शिखरापुर खनिज उद्योग प्रालिले पाएको छ । सो कम्पनी त्रिवेणी ग्रुपका प्रमुख पुरुषोत्तमलाल संघाईको नाममा छ ।

उनले २०७२ सालमा ११६/०७२/७३ नम्बरको खानी लाइसेन्स पाएका थिए । उनले लाइसेन्स पाएको क्षेत्रमा २३.८१ स्क्वायर किलोमिटर क्षेत्रमा फलाम खानी रहेको छ । यस्तै, अवैध खानी क्षेत्रमा उत्खनन् गरेर फलामको कण ओसार–पसार गर्ने कम्पनी क्युजा डेभलभमेन्ट प्रालि पनि सोही समूहको रहेको प्रारम्भिक अनुसन्धानमा पाइएको छ । सगरमाथा ब्राण्डको सिमेन्ट उत्पादन गर्ने दाङको घोरही सिमेन्ट प्रालि पनि त्रिवेणी समूहकै भगिनी कम्पनी हो ।

वकैया गाउँपालिकाले गरेको अनुसन्धानमा खानी क्षेत्रमा एक पटक सबै उत्खनन् भएर पुनः सम्याईएको अवस्थाको भौगोलिक अवस्था देखिएको छ । प्रारम्भिक अनुसन्धानमा कति मात्रामा ओर झिकियो भन्ने नै भन्न नसकिने अवस्था देखिएको एक अधिकारी बताउँछन् । ‘भूगोल हेर्दा खानीको लाईसेन्स पाए यता नै लगातार दोहन भइरहेको भन्ने देखिन्छ,’ अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, ‘लाइसेन्स लिएको ८ वर्ष भएको देखिन्छ । भूगोलको अवस्थाले पनि पुरै समय खानीबाट अवैध चोरी गरेको भन्न कठिन छैन् । गहिरो अनुसन्धानले हजरौँ ट्रक फलामको कच्चा धाउ (आइरन ओर) चोरी भएको भन्न सजिलै सकिन्छ ।’

भूगर्भविद्हरुकाअनुसार मझौला गुणस्तरको फलाम खानीको कच्चा पदार्थको मूल्य १२ घनामिटर (करिब एक ट्रक ) को मूल्य ७ हजार रुपैयाँ भन्दा माथि पर्छ । वकैयाको फलाम खानी क्षेत्रको ओर अझै गुणस्तरीय भएका कारण यसको मूल्य अझै राम्रो हुने बताइन्छ । अवैध उत्खनन् पुष्टि भइसकेपछि परिमाण र थप विवरण अनुसन्धानकै क्रममा छ । वकैया गाउँपालिकाले आफ्नो प्रतिवेदन भूगर्भ विभागलाई पठाएपछि विभागले गठन गरेको अनुसन्धान टोली घटनाको यकिन गर्नेछ । चोरी पुष्टि भइसकेको  तर परिमाण यकिन नभएका कारण सो समूहमाथि हुने कारबाही के हुने भन्ने अहिल्यै भन्न सकिने अवस्था छैन् । 

यस विषयमा कुरा गर्न त्रिवेणी समूहमा पटक–पटक सम्पर्क प्रयास गर्दा कोही पनि सम्पर्कमा आउने चाहेनन् । सो समूहका रामचन्द्र संघाईले सिधाकुराले गरेको फोन पटक–पटक काटे भने म्यासेजको कुनै जावाफ नै दिएनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँबाट दिल्ली पुर्‍याएर मृगौला तस्करी, बेच्नेलाई १० लाख, एजेन्टलाई ५० हजारको प्रलोभन

काठमाडौँबाट दिल्ली पुर्‍याएर मृगौला तस्करी, बेच्नेलाई १० लाख, एजेन्टलाई ५० हजारको प्रलोभन

प्रारम्भिक अनुसन्धानका क्रममा किड्नी दिन तयार हुने मानिसलाई काठमाडौँ ल्याएर गाडी चढाएर नयाँ दिल्लीसम्म पुर्याउने, त्यहाँ एक होटलमा राख्ने र बेहोस बनाउने औषधी खुवाएर पहिचान नहुने ठाउँमा लगेर...
फेसबुक लगायतलाई बन्द गर्ने धम्की, जुवा खेलाउने एपलाई लाइसेन्स प्रदान

फेसबुक लगायतलाई बन्द गर्ने धम्की, जुवा खेलाउने एपलाई लाइसेन्स प्रदान

नेपाल सरकारले एक साता भित्र दर्ता नभए सामाजिक सञ्जाल दर्ता नभए बन्द गर्ने घोषणा गरेको छ । सामाजिक सञ्जाल बन्द गर्ने हरप्रयास गरिरहेको सरकारले जनतालाई लुटिरहेको एप भने...
इम्बोस्ड नम्बर प्लेटमा ५ अर्बको झेल, सेटिङको अन्तरकथा !

इम्बोस्ड नम्बर प्लेटमा ५ अर्बको झेल, सेटिङको अन्तरकथा !

उक्त ठेक्का सम्झौतामा नेपाल सरकारलाई अर्बौ घाटा हुने गरी केहि सर्तहरु राखिएको छ । जसमा ५ वर्षभित्र कम्पनीले २५ लाख इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने, १० वटा आरएफआइडी...
बेवारिसे सुटकेस भित्र महिलाको मृत शरीर, कपडा पट्याएजसरी मान्छे राखियो

बेवारिसे सुटकेस भित्र महिलाको मृत शरीर, कपडा पट्याएजसरी मान्छे राखियो

सुन्दै आङ्ग जिरिङ्ग हुने यो घटना रौतहटको हो । यो सुटकेस शनिबार राति गौर नगरपालिका ९ मुडवालगेटस्थित गौर–सिरसिया अन्तर्गत सडकखण्डमा बेवारिसे अवस्थामा भेटिएको हो । राति १० बजेदेखि...