नेभिगेशन
सबै कुरा
वैदेशिक रोजगारीमा कहर :

जस्तो गए उस्तै फर्किए अवदेशः विदेशमा फसेको छोरा फर्काउन आएकी ६७ वर्षीय आमामाथि नै किर्ते

काठमाडौँ । साथीले दिएको एउटा पुरानो झोलामा एक जोर पुरानै कपडा र नेपाल फर्किन चाहिने पासपोर्टसहितको कागजात बोकेर सर्लाहीका अवदेश राउत गत साता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


घरमा साना दुई वटा छोरीहरू छन् । बाबा विदेशबाट आउँदा खेल्ने डोजर लिएर आउनुहुन्छ भनेर उनीहरु आमालाई भन्छन् । तर, अवदेश जीवनमा लुटिनु र ठगिनु पर्नेजति सबैबाट ठगिएर रित्तो हात जन्मेको देश ओर्लिए । परिवारका लागि उनले ल्याउने कुरा भनेकै उनी सकुशल नेपाल फिर्नु हो । तर, उनी यो कुरा आफ्ना छोरीहरूलाई बताउन सक्दैनन् । 

सर्लाहीका अवदेश राउत एक वर्षअघि जुन लुगा लगाएर सुन्दर भविष्यको सपना बोकेर उत्साहित हुँदै मलेसिया उडे, गत साता उही पहिरनमा नेपाल झरे । 

परिवारलाई खुसी पार्ने सपना त बाँकी रहेन नै वैदेशिक रोजगारीको सपना पछ्याउँदा लागेको साहुको ऋण, एजेन्टको बेइमानी, मेनपावरको ठगी, मलेसियाको घना जङ्गलमा सर्पसँग सङ्घर्ष र तुच्छ व्यवहार गर्ने सरकारी निकायको अमिलो भोगाइ मात्रै अब उनीसँग बाँकी छ । 

गाउँकै बिनोद भन्ने एजेन्टले मलेसियामा कामको राम्रो अफर आएको भन्दै अवदेशलाई डेढ वर्ष अघि वैदेशिक रोजगारीको अफर सुनाए । काठमाडौँको सुफी इन्टरनेश्नल सर्भिस मेनपावरको आफू एजेन्ट रहेको भन्दै उनले आश्वस्त पारेपछि अवदेशले आफ्नो नामको घरजग्गा साहूलाई बन्दकी राखेर साढे ३ लाख रुपैयाँ जोह गरे । एक लाख रुपैयाँ गाउँकै एजेन्ट बिनोदले लिए, साढे २ लाख रुपैयाँ सुफी इन्टरनेश्नलका सञ्चालक बिन्देश्वर यादवले बुझे । 

घरमा बुढि आमा र श्रीमतीलाई केही वर्ष मलेसियामा काम गरेपछि घरको धुरी फेर्ने आशा देखाए, हुर्किँदै गरेकी छोरीहरूलाई राम्रो स्कुल पढाउने आशा देखाएर अवदेश मेनपावर र एजेन्टले भनेकै बाटो मलेशिया पुगे । 

‘वनको काम गर्ने हो, १५ सय रिगेंट, नेपाली करिब ४७ हजार रुपैयाँ तलब, ८ घण्टा भन्दा बढी काम गरे ओभरटाइमको पनि पैसा आउँछ, खाने बस्ने सुविधा पनि हुन्छ भनेर एजेन्ट र मेनपावरले भनेका थिए,’ अवदेश भन्छन्, ‘जब मलेसिया पुगेँ, कम्पनीले मलाई जङ्गलतर्फ लग्यो । शहरबाट निकै टाढा घना जङ्गलको बिचमा रहेको टहरामा पुगेपछि अन्य नेपाली र बङ्गलादेशीहरू भेटिए । उनीहरु त्यही काम गरिरहेका थिए । उनीहरूको काम जङ्गलमा झाडी फँडानी गर्ने, सुकाउने केमीकल छर्ने थियो ।’  

अवदेश झस्कीए, घना जङ्गलमा यस्तो काम गर्नुपर्ला भन्ने उनले कल्पनानै गरेका थिएनन् ।  पानी र घाम बल्लबल्ल ओत्ने छाप्रोमा बास बस्नुपर्ला भन्ने उनले सोचेकै थिएनन । खाना खाने सामान किन्न महिना दुई महिनामा एक सय किलोमिटर टाढाको बजार झर्नुपर्ला भन्ने कुरा अवेदशलाई न एजेन्टले भनेका थिए, न मेनपावरले । तर, त्यहाँ पुगेपछि उनले नसोचेको मात्रै भयो ।

अवदेशले घरमा बुढि भएकी आमा सम्झिए, हिँड्ने बेलामा मैलो पछ्यौरीले मुख छोपेर छिट्टै फर्कीनु भन्दै सुँक्सुकाएकी श्रीमती सम्झिए, अनि बाबा आउँदा डोजर ल्याइदिनु भन्दै बाटो छेक्न आएकी छोरीहरू सम्झिए । 

‘विदेश आउन ऋण लिएको साढे तीन लाख सम्झीएँ । सबथोकको समाधान केवल पैसा मात्रै थियो र त्यसको जिम्मेवार म मात्रै थिएँ,’ उनले भने ।  

परिस्थितिले अब अवदेशलाई त्यही झाडी फाँड्न होमिनुको विकल्प थिएन, हात हतियार लिएर जङ्गल छिरे । मधेशमै भए पनि आफूले त्यती ठुलो जङ्गलभित्र अहिलेसम्म नछिरेको उनी बताउँछन् । पाइलैपिच्छे बेरिएका ठुलठुला सर्प सम्झिँदा अहिले पनि अवदेशको आङ सिरिङ्ग हुन्छ । 

काम गरेको ३ महिनापछि पहिलो पटक अवदेशको तलब आयो । तर उनी छाँगाबाट खसेजस्तै भए । उनलाई मासिक १५ सय रिंगेट भनेर सम्झौता गराइएको थियो तर कम्पनीले ५ सय रिंगेट अर्थात नेपाली रुपैयाँ १५ हजार रुपैयाँ मात्रै थमाइदियो ।

‘म रुनु न हाँस्नु भए, सुरुमा ३ हजार रिंगेट तलब हुने भनेर एजेन्ट र मेनपावरले सुनाएपछि मात्रै मैले उनीहरुलाई साढे ३ लाख बुझाएको थिएँ,’ उनी भन्छन् ‘हिँड्ने बेला उनीहरुले १५ सय रिंगेटको सम्झौता पत्र र श्रम अनुमती हातमा हालिदिएका थिए तर मलेशिया पुगेपछि कम्पनीले ५ सय रिंगेट मात्रै दियो।’ 

उनले तत्कालै घर फर्किन खोजे, कम्पनीलाई फोन गरे, म्यानपावर फोन गर्दा उल्टै हप्किदप्किको सामना गर्नुपर्यो । नेपाल फर्किने भए कम्पनीलाई पैसा तिर्नुपर्छ भन्ने सर्त मेनपावरले राख्यो । 

फेरी पनि उनीसँग विकल्प थिएन, चुपचाप जङ्गल तिर लागे । महिनाभरि काम गरेर आएको पैसाले महिनाभर खाने दाल चामल किनेर नेपाल पठाउन ८–९ हजार बाँकी रहन्थ्यो । आफूसँग पुगेका अन्य तीन नेपाली कम्पनीले ठगेको थाहा पाएपछि भागेका थिए, तर अवदेश पैसाकै पिरले भाग्न सकेनन् । 

दिन बिते महिना बिते, झण्डै वर्ष नै बित्न लाग्यो तर अवदेशले भनेको तलब पाएनन् । मेनपावरमा हारगुहार गरिरहँदा उनको तलब मुश्किलले एक हजार रिंगेटसम्म पुग्यो तर अझै शर्तअनुसार भएन । यता घरमा साहुले अत्याउन ऋणका लागि ताकेता बढाए । साहुले घरबारी बेचेर भएपनि पैसा फिर्ता गर भन्न लागेपछि परिवारमा झगडा सुरु भइसकेको थियो ।

‘दिनभर काम गरेर टहरोमा फर्किएर घरमा फोन गर्दा श्रीमती परिवारकै सदस्यहरु झर्कीन थाले । मेरै कारणले तिमीहरु लाई दबाब परेको छ भनेर सम्झाउँथे,’ अवदेश भन्छन्, ‘एक दिन श्रीमतीसँग भिडियो कलमा कुरा गरिरहेकै बेला, सानी छोरीले मेलामा जान आमासँग पैसा मागिन् । श्रीमतीले पैसा नभएको रिसमा छोरीलाई कुटिन् । छोरी रोइन् । मेरो मुटु गाँठो पर्यो । फोन राखेँ र मलेसियाको  जङ्गलको बिचमा चिच्याएर रोए ।’ मलेसियाको बसाइले जीवन सुध्रिने छाँट नदेखेपछि उनले नेपाल फर्किन सुफी मेनपावरका सञ्चालक विन्देश्वर यादवलाई हारगुहार गरे । उनले उल्टै हप्काउने र मलेसियाको कम्पनीलाई भनेर दबाब दिन थाल्यो । नेपाल फर्किन कम्पनी र मेनपावरले नदिएपछि उनले घरमा आमालाई फोन गरेर काठमाडौँ जान भने ।

वैदेशिक रोजगारीमा गएर छोराले परिवारको जीवन सुखमय बनाउँछ भन्ने सोचेकी ६७ वर्षकी आमा मानती रावत छोरा फिर्ता ल्याउन काठमाडौँ आइन । मैथिलि भाषा बाहेक अरु भाषा बोल्न, बुझ्न नसक्ने मनिता ५ हजार रुपैयाँ ऋण खोजेर काठमाडौँका लागि बस चढिन् । काठमाडौँ आउँदा खाने रोटी र चिउरा मनिताले घरबाटै पोको पारेर आएकी थिइन् ।

गौशालामा झरेपछि गाउँकै केही यूवाले वैदेशिक रोजगार विभागको कार्यालयसम्म पुर्याइदिए । छोराका उद्धारका लागि विभाग पुगेकी उनलाई कर्मचारीले ज्युँदो हो कि मरेको उद्दार गर्नु पर्ने भनेर सोधे । मानतीले ज्युँदो छोराको उद्धार गर्नुपर्ने भनेपछि एक कर्मचारीले ढोकैबाट मेनपावरमा भन्नु भनेर निवेदन नै दर्ता नगरी फर्काइदियो ।

मेनपवारले मानती देवीलाई भेट्न पनि मानेन । मानती निराश भएर सर्लाही फर्कीन् । उता अवदेश आत्तिए । एक महिना पछि मानती देवी फेरी काठमाडौ आइन् । दोस्रो पटक भने वैदेशिक रोजगार विभागले उनको निवेदन दर्ता गरायो । 

विभागले मेनपवारका प्रतिनिधिलाई बोलायो । आमासँग छलफल गरायो । पहिले नै अवदेशलाई झुक्याएको मेनपावरकै पक्षमा पुग्नेगरी विभागले मिलापत्र गराइदियो । विभागमा भएको मिलापत्रमा लेखियो,‘अवदेशलाई मेनपावरले कम्पनीलाई भनेर स्वदेश फर्काइदिने, त्यसको खर्च व्यहोर्ने तर नेपाल फर्किएपछी अरु कानुनी प्रक्रिया गर्न नपाउने ।’ 

मानतीले मिलापत्र नगर्ने भनेर अडान लिएकी थिइन् । तर यो मिलापत्र नभएर अवदेशलाई नेपाल फर्काउने कागज हो भनेपछि लेख्न पढ्न नजानेकी मानतीले औँठा छाप लगाइन् । 

मिलापत्र गरेपछि पनि मेनपावरले फर्काउने प्रक्रिया सुरु गरेन् । बरु अवदेशले काम गरेको कम्पनीमा निरन्तर दबाब दिएपछि हरेक महिना उनको तलबबाट काटिएको रकमबाट टिकट काटिदिने भयो । आफ्नै तलबबाट काटिएको पैसाबाट कम्पनीले काटिदिएको टिकटबाट उनी नेपाल फर्किए । 

विमानस्थल झर्नासाथ अवदेशले आफूलाई पठाउने एजेन्ट बिनोदलाई फोन गरे । बिनोदले आफू भारतमा भएको र सबै पैसा म्यानपावरले फिर्ता गर्ने भन्दै फोन राखे, त्यसपछि अवदेशको फोन ब्लक गरे । 

अवधेशले म्यानपवार सञ्चालकलाई फोन गरे । मेनपावर सञ्चालकले फोन उठाउन छोडे । वैदेशिक रोजगार विभागमा पुग्दा, विभागले यसअघिनै अवदेशकी आमाले औँठा छाप लगाएको कागज देखायो, जहाँ लेखिएको थियो, नेपाल फर्किएपछी कुनै कानुनी प्रक्रियामा जान नपाइने । 

अवदेश आत्तिए, आमालाई फोन गरे । आमाले आफूले मिलापत्रमा नभई, नेपाल फर्काउने कागजमा औँठा छाप गरेको सुनाइन् । आमा फेरी ५ हजार ऋण थपेर त्यही राती काठमाडौँका लागि हिँडिन्, कमाउन विदेश गएको छोरो फर्काउन काठमाडौँ धाएकी मनिताको यो तेस्रो पटक थियो । 

विदेशबाट आएको छोरालाई काठमाडौँमा अस्तव्यस्त अवस्थामा देख्दा मनिता भावुक थिइन् । ‘साहुले भएको घरजग्गा बेचेर पैसा फिर्ता गर भन्दैछन् । नातीनिहरु कसरी हुर्काउने ?’ उनले भनिन् । 

अवधेशलाई विदेश पठाउने मेनपावर कम्पनीका सञ्चालक भने यी कुरा सुन्नै चाँहदैनन् । उनले अवदेसलाई मेनपावरले फिर्ता बोलाएको भन्न सम्म भ्याए । साथै नेपाली भाषा बोल्न बुझ्न समेत नसक्ने मनिताले मिलापत्र हेरेरै औँठा छाप लगाएको भन्दै जहाँ जे गर्न सक्छन् गरुन् भन्ने चुनौती दिए । 

पैसा तिरेर मलेसिया गएको छोराले सम्झौता अनुसार काम पाएन भन्दै आएकी वृद्धालाई वैदेशिक रोजगार विभागले कानुनी प्रक्रिया अघि नबढ्ने सर्त राखेर औँठा छाप लगाइदिएको थियो । 

विभागले पनि मेनपावरकै पक्ष लिएपछि मनिता देव निरिह छिन् । छोरालाई नेपाल फर्काउने न्यायको लडाइमा ६७ वर्षिय मनितादेवी थाकेकी छिन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन नगरपालिका–९ का थुमकला विकले बुर्तिबाङ बजारदेखि ढोरपाटन उपत्यका जोड्ने सडक एक दशक अगाडि निर्माण भए पनि अहिलेसम्म स्तरोन्नति नहुँदा समस्या भोग्नुृ परेको बतायन् । उनले भनिन्, “गाउँमा...
जलविद्युत् आयोजनाकाे मनपरीले  सुक्यो मोदीखोला

जलविद्युत् आयोजनाकाे मनपरीले सुक्यो मोदीखोला

पर्वत खण्डमा मोदीखोलामा मात्रै नेपाल विद्युत् प्रधिकरण अन्तर्गतको १४.८ मेगावाटको मोदीखोला जलविद्युत् केन्द्र, १५.८ मेगावाटको मध्यमोदी हाइड्रोपावर लिमिटेड र २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजना र १० मेगावाटको...
पौरखी हातहरु : बाराका किसानलाई उखु काट्न चटारो (तस्बिरहरू)

पौरखी हातहरु : बाराका किसानलाई उखु काट्न चटारो (तस्बिरहरू)

बारामा रहेको एक मात्र चिनी उद्योग रिलायन्स सुगर मिल्समा उखु बिक्री गर्न किसानहरू व्यस्त देखिन्छन्। सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ...
ग्यास अभाव देखिएपछि नेपाल ग्यासको कार्यालयमा ग्यास लिने उपभोक्ताहरूको भीड

ग्यास अभाव देखिएपछि नेपाल ग्यासको कार्यालयमा ग्यास लिने उपभोक्ताहरूको भीड

नेपाल ग्यासका विक्री केन्द्रहरुमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौं उपभोक्ता पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि नेपाल...

भर्खरै