नेभिगेशन
सबै कुरा

किन कमजोर बन्दैछन् नेपालीका हाड ? हाडजोर्नीसम्बन्धी विशेषज्ञ डा‌‍ भण्डारीकाे सुझाव

‘हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने। हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भर्‍याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन्। न खानपिन गतिलो, न खेतीपातीका काम र नत शारीरिक अभ्यास नै। कसरी बलियो होस् त हड्डी?’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाकापुरानाहरुबाट यस्तै यस्तै सुन्न पाइन्छ अहिले । उनीहरु उहिले र अहिलेको खानपान, रहनसहन, उठबस, कामविशेष तथा बानी व्यहोराको तुलना गर्ने गर्छन् । उनीहरुका भोगाइमा अहिलेको पुस्ताको शारीरिक तन्दुरुस्ती पहिलेजस्तो छैन । ‘टेबल वर्क’ धेरै छ तर शारीरिक अभ्यास न्यून । हिँडाइ त झन् छँदैछैन, एक किलोमिटरलाई पनि गाडी चढ्छन् । त्यसैले यो पुस्ताको स्वास्थ्य पनि बलियो छैन।

Ncell
Extreme Energy

घाँसका भारीसित लड्दा होस् या रुखबाट भूइँमा खस्दा समेत हातखुट्टा नभाँचिने अनुभव उनीहरु सुनाउँछन् । घाँस दाउरा र लेकबेँसी धेरै हुने र हिँड्ने बाटो पनि खेतबारीका कान्लाबाट उक्लिने र ओर्लिने खालको हुने । त्यसैले शारीरिक अभ्यास प्रशस्तमात्रामा पुग्ने उनीहरुको अनुभव छ। अनि खानपानका अनुभव पनि निकै रोचक । एउटा लैनौ भैँसीको घिउ र दूध एक्लैले खाने रे । त्यसकारण हड्डी बलियो बन्ने र सानातिना चोटले केही असर नगर्ने उनीहरुको अनुभव छ।

नेपालका हाडजोर्नीसम्बन्धी विशेषज्ञ चिकित्सक कैलाश भण्डारी पाकापुस्ताका यी अनुभवप्रति सहमत छन् । के नेपालीका हाड पाकापुस्ताहरुका यस्तै अनुभवजस्तै कमजोर हुँदै गएका हुन् ? डा भण्डारी केही हदसम्म कारण यिनै हुन् भन्छन्। अहिले सानातिनै चोटपटकमा पनि हाड भाँचिने गरेका छन्, एउटै हात या खुट्टा पटकपटक भाँचिएर अस्पताल ल्याउने बिरामी धेरै भेटिन्छन्। ‘हिस्ट्र टेकिङ’ गर्दा उहाँहरु सामान्य रुपमा लडेको मात्र बताउनुहुन्छ तर हड्डीमा क्षति धेरै पुगेको हुन्छ।

हड्डीको यसप्रकारको रुग्णतामा डा भण्डारीले दिने कारण पनि उस्तै छ, खानपान, आहारविहार र अहिलेको खानाको शुद्धतामा ह्रास । उनी भन्छन्, ‘खानपान त उही हो, धेरैको जङ्कफुड (बजारमा पाइने तयारी खाना) नै हुन्छ र शारीरिक अभ्यास छैन । खाना बनाउन, शारीरिक अभ्यास गर्न या हिँड्नै पनि मानिस चाहँदैन, सौखिन बन्दै गएको छ । उसको ‘टेबल वर्क’ बढी छ अनि शारीरिक सक्रियता कम । तर उही खानेकुरामा पनि पहिले र अहिले पाउने प्रोटिन या अन्य खनिजहरुको प्रचुरता फरक पर्दै गएको छ । शुद्धतामा ह्रास आइरहेको छ।’

उही खानेकुरामा पनि पहिले र अहिले पाइने प्रोटिनको शुद्धतामा किन फरक ? यसको कारण विषादिको प्रयोग, माटोमा प्रयोग गरिने आधुनिक अर्थात् रासायनिक मलको प्रयोग हो । यसले खानामा पाइने प्रोटिनको शुद्धतामा फरक पर्दै गएको उनको तर्क छ। त्यसैगरी ‘आउटडोर एक्टिभिटीज’ कम हुँदै जाँदा आवश्यक शारीरिक अभ्यास नपाएर तथा हड्डी खुम्चिएर रहने या जाम हुने अवस्था समेत देखिएको डा भण्डारीको भनाइ छ।

अहिलेका बालबालिकालाई घरमै होस् या विद्यालयमा खेल्ने खेलमैदानको उपलब्धता नै नभएको उनको भनाइ छ । ‘हेर्नुहोस् न बालबालिकालाई खेल्न न विद्यालयमा खेल मैदान छन् र नत घरमै । विद्यालय पनि प्रायः बाटोका नजिक या सँघुरा जमिनमा बनेका छन् जहाँ खेल्नका लागि जमिन नै छैन । घरको त झन् कुरै भएन, चार आना भएपछि घर बनाउने घडेरी पुगिहाल्यो, केटाकेटीलाई खेल्ने मैदानका बारेका कसले सोचिदिने ? यसरी शहरका बालबालिका साँघुरोमै खुम्चिएर बस्नुपर्दा तिनका हाडले शारीरिक तन्दुरुस्ती बन्न पाएका छैनन्’, डा. भण्डारीको भनाइ छ।

उनका अनुसार अल्छी तथा सौखिन दिनचर्या, हाडलाई आवश्यकपर्ने भिटामिन ‘डी’ को उपलब्धताको कमी र सूर्यको किरणको पहुँचबाट टाढा रहेको मानिसको दैनिकी पनि हाड कमजोर बन्दै जानाका अरु केही कारण हुन्। हाम्रो शरीरमा भिटामिन डीको मात्रा विश्वस्वास्थ्य सङ्गठनले तोकेको मात्राभन्दा कम रहेको उनी बताउँछन्।

जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर डा भण्डारी विशेषगरी अहिलेको बालिबालिकाको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्छन् । उनी भन्छन्, ‘बालबालिकाको स्वास्थ्य अवस्था देखेर चिन्ता लाग्छ । उनीहरुका हातखुट्टा त खुर्सानीको बोटजस्तै बन्दै गएका छन्, अलिकति बल गर्यो कि पिटिक्क भाँचिने । कारण त तिनै हुन् खानपान र आहारविहार । कारण धेरै होलान् दिनप्रतिदिन कमजोर बन्दै गएको देख्छु उनीहरुको हड्डी।’

उनको अनुभवमा अहिलेको पुस्ता एक तला पनि भर्‍याङ चढ्न अल्छी मान्छ, लिफ्ट छ भने त्यसैबाट जान्छ । अरु पनि यस्तै हो कि पसिना निकालेर काम गर्न चाहँदैन। 

बजारको खानाको उपभोगमा बृद्धि, रक्सी तथा अन्य मादक पदार्थहरुको सेवनले पनि हाडको क्षयीकरणमा योगदान थप्दै गएको देखिएको छ भने विस्तारै न्युट्रेसनमा भएको कमीले हाडको कमजोरीलाई थप बलियो बनाउँदै लगेको छ । शरीरमा लाग्ने चोटपटक र त्यसको समयमै उपचारको कमी, बाथरोगलगायत विभिन्न रोग तथा जेनेटिक त यो समस्याका रैथाने कारण छँदैछन्।

यो अवस्थाको निराकरणका उपायहरु सुझाउँदा डा भण्डारी सबैभन्दा आवश्यक क्याल्सियम, खनिज र प्रोटिनको उपलब्धतालाई देख्न्छन्। नियमित शारीरिक अभ्यास, स्वस्थ खाना र योगा हड्डी बलियो बनाउने अरु उपाय हुन्। यी आनीबानीले हाड मात्र बलियो बनाउने नभएर अन्य शरीरिक स्वास्थ्यमा पनि लाभ पुर्‍याउँछ । सुगर होस् या अरु रोग बढ्न नदिन पनि यो व्यायामले सघाउ पुर्‍याउनेछ।

मानिसका हाड बलियो बनाउन उनले नियमित शारीरिक व्यायाम, स्वस्थकर खानेकुरा र हाडमा लाग्ने चोटपटकको समयमै उपचार गर्नुपर्ने विषयलाई राष्ट्रिय अभियानकै रुपमा नागरिकमा लैजानुपर्ने र शरीरमा हाडजोर्नीको महत्व र यससम्बन्धी रोगका बारेमा विद्यालयस्तरदेखि नै पाठ्यक्रममा राख्नुपर्ने उनको सुझाव छ। 

हाडसम्बन्धी रोगले शरीरका अरु अङ्गलाई पनि क्षति गर्ने तथा शारीरिक अपाङ्गतासमेत हुनसक्ने भएकाले यसको संवेदनशीलताको प्रचार अझ बढी आवश्यक रहेको उनको भनाई छ।

‘हाडजोर्नीको उपचार जटिल नहुँदै र तुरुन्तै गर्न पायो भने पक्षाघात हुनबाट जोगाउन सकिन्छ । मेरुदण्डको चोटपटक झनै संवेदनशील विषय हो । उपचार ढिला हुँदा कतिपय त जीवनभर नै उपचार गराइरहनुपर्ने, अपाङ्गता हुने आदि हुन्छ । परिवार पाल्नुपर्ने सदस्य नै यस्तो भइदियो भने त झन् त्यो व्यक्तिमात्र नभएर परिवारले नै दुःख पाउने भयो नि । यस विषयमा नागरिक पनि सजग हुनु जरुरी छ,’ डा. भण्डारी भन्छन्।

नेपालमा पहिलेको तुलनामा हाडजोर्नीसम्बन्धी रोगको उपचार सहज र सरल बन्दै गएको र अहिले जनशक्ति पनि थपिँदै गएका उनले सुनाए। उनले भने, ‘पहिले हाडजोर्नीसम्बन्धी रोगको उपचार निकै नै जटिल हो। जनशक्तिको अभाव त छँदै थियो, अनुसन्धान र सर्जरीका लागि उपकरणहरुको अभाव झन् बढी थियो । पहिले अर्थोको उपचारमा काठमाडौँ बाहिर पनि हामी जानुपर्दथ्यो, तर अहिले त्यस्तो छैन’, डा. भण्डारीले सुनाए।

-हाडजोर्नीसम्बन्धी विशेषज्ञ चिकित्सक कैलाश भण्डारीसँग राससले गरेकाे स‌वाद 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेष्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले...
हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा  सहभागीले 'नोटबन्दी किन नगर्ने?' भनी प्रश्न गरेका थिए ।
रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय...
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।