नेभिगेशन
सबै कुरा

उडिसा प्रकरणः मनमा डर,गोजी रित्तो, १० दिन पछिको परीक्षा छोडेर एक हजार विद्यार्थी नेपाल फर्किदै

काठमाडौँ । साथीको शङ्कास्पद मृत्युको कारण माग गर्दा दमन व्यहोरेका एक हजार नेपाली विद्यार्थी भारतबाट नेपाल फर्किदै छन् । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) बाट निकालिएका नेपाली विद्यार्थीहरू सुरक्षा खोज्दै नेपाल फर्किएका हुन् ।

केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल होस्टेलमा मृत भेटिएकी थिइन । उनको मृत्यु शङ्कास्पद रहेको भन्दै नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनसँग छानबिन माग गरेका थिए । तर,लम्सालको मृत्यु प्रकरण ढाकछोप गर्न विश्वविद्यालयले उल्टै नेपाली विद्यार्थीमाथि गुण्डा प्रयोग गरेर कुटपिट गरेर कलेजबाट निस्कासन गरेको थियो । 

Dish Home
Global Ime Bank

यसरी कलेजबाट निष्कासित भएका १५ सय मध्ये एक हजार विद्यार्थीहरू अहिले नेपाल फर्किरहेका छन् । सरकारी तवरबाट कलेज फिर्ता हुने र सुरक्षाको कुनै प्रत्याभूति नभएपछि विद्यार्थीहरू १० दिन पछिको परीक्षा छोडेर नेपाल फर्किँदैछन् । 

सिधाकुरासँग मङ्गलबार बिहान सम्पर्कमा आएका विद्यार्थीहरूको एक समूहले आफूहरू गोरखपुरका लागि हिँड्न लागेको बताए । ‘हामीलाई मनमा डर छ, गोजी रित्तो छ । आफ्नै घर फर्किन पाए हुन्थ्यो भनेर आउँदैछौँ,’ उनीहरूले भने । 

१० दिन पछिको परीक्षाको तयारी गरिरहेको बेला भएको घटनाले शैक्षिक भविष्य नै अन्यौलमा परेको उनीहरूले बताएका छन् । त्यसो त चौतर्फी दबाबपछि रेल स्टेसनमा छोडिएका नेपाली विद्यार्थीहरू क्याम्पसमा फर्काउन भारतीय प्रहरीहरू आएको त्यहाँस्थित नेपाली विद्यार्थीहरूले बताएका छन् । सुरक्षाको कुनै सुनिश्चितता नभई प्रहरीले फर्क मात्रै भनेर भनको कारण आफूहरू फर्किन नसकेको ति नेपाली विद्यार्थी बताउँछन् । 

सोमबार साँझ विश्वविद्यालय फर्किएका एक विद्यार्थीकाअनुसार उनी लगायतलाई कलेज प्रशासनले एक चार बुँदे सर्तसहितको फर्म भर्न लगाएको छ । उक्त फर्ममा कलेजको अनुशासन भङ्ग हुन कुनैपनि काममा संलग्न नहुने उल्लेख छ । जसरी पनि प्रकृति लम्साल प्रकरण दबाउन क्याम्पस प्रशासन लागेको ति विद्यार्थी बताउँछन् ।   

उडिसा नेपाली विद्यार्थी मृत्यु प्रकरणः फेरि होस्टल फर्कन डराइरहेका छन् नेपाली विद्यार्थी

केआईआईटीको घटना के हो ?

भारतको उडिसा (भुवनेश्वर) मा रहेको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत एक नेपाली छात्रा आइतबार हेस्टेलमा मृत भेटिएकी थिइन । मृत भेटिएकी छात्रा बुटवलकी प्रकृति लम्साल हुन् । 

प्रकृति बि टेक सीएससी तेस्रो वर्षमा अध्ययनरत थिइन् । कलेजमा १५ सय भन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत रहेको बताईएको छ । सोही कलेजमा अध्ययनरत एक विद्यार्थीका अनुसार प्रकृतिको मृत्यु रहस्यमय छ । उनको मृत्युपछि कलेज प्रशासनले देखाएको चरित्र झनै शङ्कास्पद भएको उनको भनाई छ । 

ति विधार्थीका अनुसार प्रकृति मृत भेटिएको दिन कलेजमा कार्यक्रम आयोजना गरिएको थियो  सबै विद्यार्थीहरू त्यतै व्यवस्त भए । ४ बजे नेपाली विद्यार्थी मृत भेटिएको खबर उनीहरूले सुने । ‘खबर सुनेपछि हामी उक्त होस्टलको बिल्डिङतर्फ लाग्यौँ । त्यहाँ पुग्दा प्रकृतिले आत्महत्या गरेको भनियो । तर, उनको अवस्थाबारे कसैलाई थाहा दिइएन, उनले भने, ‘सोही कलेजमा प्रकृतिका दाइहरु पनि अध्ययन गर्छन् । तर उनीहरुलाई पनि प्रकृतिको शव देखाइएन ।’ नेपाली विद्यार्थीहरू प्रशासनसँग मृत्युको जवाफ मागिरहेका थिए । सोही क्रममा ह्वाट्उसएप ग्रुपमा खबर फैलियो, ‘उनलाई एउटा केटाले निकै दुःख दिइरहेको थियो ।’

उनीहरुका अनुसार कसैलाई पनि शव र घटनास्थल नदेखाई विश्वविद्यालयकै अस्पतालमा लगेर मृत घोषण गरिएको थियो । उक्त खबर र प्रशासनले केसलाई ढाकछोप गरिरहेको देखेपछि नेपाली विद्यार्थीहरुले नजिकै रहेको इन्फो सिटी प्रहरीमा उजुरी दर्ता गराए र कलेजको ग्राउण्डमा शान्तिपूर्ण प्रदर्शन गर्न थाले । 

नेपाली विद्यार्थीहरू प्रर्दशनमा उत्रिएपछि कलेजका भाइस चान्सलरले उनीहरुलाई धम्की दिन थालेको एक नेपाली विद्यार्थी बताउँछन् । 

‘हामीलाई भाइस चान्सलरले रेस्टिकेट गरिदिने, फेल गराईदिने र कलेजबाट निकालेर घर फकाईदिने धम्की दिए । हामीले राति १ बजेसम्म प्रोटेस्ट गरेका थियौँ,’ ति विद्यार्थाीले भने । आइतबार साँझाबाट सुरु भएको तनाव रातभरी जारिरह्यो र सोमबार बिहानै सबै नेपाली बिद्यार्थीहरुलाई कलेजको होस्टलबाट दुर्व्यवहार गर्दै निकालियो । 

भुवनेश्वरमा रहेका नेपाली विद्यार्थीहरुकाअनुसार करिब २०० नेपाली बिद्यार्थीलाई जबरजस्ती होस्टलबाट निकालेर बिभिन्न स्थानका रेल स्टेसन र तथा बसपार्कहरुमा लगेर छाडिएको थियो । 

भुवनेस्वरको रेलवे स्टेसनमा छाडिएका एक विद्यार्थीले सिधाकुरालाई बताएअनुसार फाउन्डरकै निर्देशनमा विद्यार्थीहरू होस्टलबाट निकालिएको हो । ‘हामीलाई होस्टलमा अपशब्द बोल्दै गाली गरियो । कुटपिट गर्दै हाम्रो मोबाइल खोसेर त्यहाँ भएका फोटो भिडियोहरु डिलिट गरियो । त्यसपछि अहिले भुवनेश्वर रेलवेस्टेसनमा छाडियो’ ति नेपाली विद्यार्थीले सिधाकुरासँग भने । 

अर्का एक बिद्यार्थीका अनुसार उक्त कलेजमा अध्ययनरत सबै नेपाली बिद्यार्थीमाथि दुव्र्यवहार गरिएको छ । सबैलाई फरक फरक रेलवेस्टेसनमा छोडिएको छ । प्रकृतिको शङ्कास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारबारे भारतस्थित नेपाली दूताबासलाई समेत जानकारी गराएको तर दूताबासबाट कुनै सहयोग नभएको उनीहरुको आरोप छ ।

बुबा पुगे उडिसा

प्रकृति लम्सालको घर बुटवल हो । उनका मामा नाता पर्ने राजन पोखरेलकाअनुसार लम्साल परिवार काठमाडौँको धुम्बाराही बस्दथे ।  प्रकृतिले युनिग्लोब कलेजबाट विज्ञान सङ्कायमा १२ पास गरेपछि पढ्न भारत गएकी थिइन । तर, आइतबार साँझको अप्रिय घटनापछि परिवार नै वियोगको पीडामा परेको छ । छोरीको अप्रिय घटना सुनेपछि काठमाडौँबाट परिवारलाई नै बुटवल ल्याइएको र बुबा अहिले उडिसा पुग्नु भएको नातामा मामा पर्ने पोखरेलले सिधाकुरालाई बताए । ‘परिवारका एक छोरी र एक छोरासहित बाबुआमा काठमाडौँ बस्नु हुन्थ्यो,’ मामा पोखरेल भन्छन्,‘अब ठूली छोरीको वियोग प¥यो । आमालाई परिवारका साथ बुटवलमा राखिएको छ । बुबा आफन्तसहित उडिसा जानु भएको छ ।’ 

उच्च शिक्षाको सुनौलो सपना बोकेर भारत गएकी चेलीको यो खालको अप्रिय घटनाले विक्षिप्‍त बनेको पोखरेलले बताए । दुःखको घडीमा सरकारबाट उचित पहल नभएको भन्दै उनले चिन्ता पनि व्यक्ति गरे ।    

नेपालमा आक्रोश

भारतमा उडिसास्थित केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थी माथी भएको ज्यादती विरुद्ध नेपालमा पनि आक्रोश पैदा भएको छ । भारतमा रहेको नेपाली विद्यार्थीको सुरक्षा र घटनाको निष्पक्ष छानबिन माग गर्दै सदन देखि सडकसम्म तातेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवम् पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले संसदमा विषेश समयमा यो विषय उठाउन खोजेकी थिइन । तर, संसदमा समय नपाएपछि उनले संसद छोडर बाहिर निश्किएर यो विषयबारे सञ्चारकर्मीसँग कुरा गरिन् । उनले यो घटनामा सरकारले तत्काल कुटनीति पहल थाल्न, घटनाको निश्पक्ष छानबिन र नेपाली बिद्यार्थीहरुलाई विश्वविद्यँलयमा फर्केर पढ्ने वातावरण बनाउन माग गरिन् । 

नेपाली विद्यार्थीमाथि भएको ज्याजतीको बिरोधमा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले नेपालस्थित भारतीय दूतावास लैनचौर अघि सोमबार र मंगलबार प्रर्दशन गरेको छ । भारतीय दूतावास अगाडीे भएको बिरोध प्रर्दश्नमा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ । 

कति भयो कुटनीतिक पहल ?

भारतमा नेपाली विद्यार्थीमाथि भएको ज्याजति सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा कुटनीतिक पहल थालेको दाबी गरेका छन् । विश्वविद्यालयको घटनामा आफूलाई जानकारी भएको बताएउँदै उनले उक्त विषयमा सरकारले कुटनीतिक पहल गरिरहेको बताए । 

‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ ।’ प्रधानमन्त्रीले यो जानकारी एक्स मार्फत दिएका हु्न् । 

त्यसो त भारतमा रहेका नेपाली दूतावासले यो घटनाबारे समयमै पहल नगरेको भन्दै नेपाली विद्यार्थी आक्रोशित छन् । तर, सोमबार साँझ एक विज्ञप्ति जारी गरेर दिल्ली दूतावासले आवश्यक पहल गरिरहेको दाबी गरेको छ ।   

दूताबासले उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई छात्रावासबाट निकालिएको सूचना प्राप्त हुनासाथ उक्त शैक्षिक संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिहरुसँग छलफल गरेको दाबी गरेको छ । 

उक्त छलफलमा राजदूतावासले सो शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको जनाइएको छ ।

त्यसैगरी, उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा संचालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको पनि दूतावासको विज्ञप्तिमा भनिएको छ ।

‘दूतावासले उक्त शैक्षिक संस्थाकी विद्यार्थी प्रकृति लम्सालको मृत्युको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन जोड दिएको र शैक्षिक संस्थाले पनि गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको’विज्ञप्तीमा जनाइएको छ । 

विज्ञप्तीमा भनिएको छ, ‘घटनाका सम्बन्धमा यस राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरुसंग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरुबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ ।’

भारतीय दूतावासद्वारा दुःख व्यक्त

भारतीय दूतावासले ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

दूतावासले विज्ञप्तिमार्फत मृतक परिवारप्रति समवेदना प्रकट गरेको छ । दूतावासले ओडिसा राज्य सरकारसँग सम्पर्कमा रहेको र स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । कलिङ्गा इन्स्टिच्युटले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र छात्राबासमा बस्न अपिल गरेको छ । 

कलिङ्गा इन्स्टिच्युटले विद्यार्थीहरूलाई शैक्षिक रूपमा परेको क्षतिको पनि जिम्मेवारी लिने आश्वासन दिएको दूतावासले जनाएको छ । भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै दूतावासले भारत सरकारले नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने जनाएको छ । 

कलेज फर्किन विद्यार्थीलाई अपिल

चौतर्फी दबाब पछि कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीका रजिष्ट्रारले एक विज्ञप्त जारी गर्दै विद्यार्थीहरुलाई कलेज फिर्किन आग्रह गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको भन्दै विश्वविद्यालयले बिद्यार्थीहरुलाई क्याम्पस फर्किन र कक्षालाई निरन्तरता दिन आग्रह गरेको हो । विश्वविद्यालयको अपिलमा विद्यार्थीमाथि भएको दुव्र्यवहारबारेमा भने केही उल्लेख गरिएको छैन् ।

त्यसो त सोमबार साँझ केही विद्यार्थीहरू क्याम्पस फर्किएका थिए । तर,उनीहरुलाई होस्टलमा बस्न नदिइएको त्यहाँबाट नेपाली विद्यार्थीीहरुले जानकारी दिएका छन् । सोमबार देखि सडकमा अलपत्त परेका नेपाली विद्यार्थीहरू अहिले आफन्तहरुको साथ खोज्दै घर फर्किइरहेका छन् । 

नेपाली विद्यार्थीमाथिको अत्याचारमा भारतीय विद्यार्थीहरुले पनि साथ दिएका छन् । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (BJP) समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन सुरु गरेको छ । उनीहरूले प्रहरीसमक्ष नेपाली विद्यार्थीको सुरक्षा र घटनाको निश्पक्ष छानबिनको पनि माग गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चौध वर्षदेखि साउदीमा बेपत्ता बनाइएकी सञ्चमायाको पर्खाइमा परिवार

चौध वर्षदेखि साउदीमा बेपत्ता बनाइएकी सञ्चमायाको पर्खाइमा परिवार

“आमाको नागरिकता हरायो, सोधीखोजी गर्ने केही माध्यम छैन”, सञ्चमायाकी छोरी सृजनाले भनिन्, “एजेन्टले दिल्ली पुर्याएपछि १४ दिन बिरामी पर्नु भएछ । त्यसपछि साउदी पुर्याएको खबर सुनियो । तर...
बजेट अभावले बागलुङको आधारभूत अस्पताल अधुरै

बजेट अभावले बागलुङको आधारभूत अस्पताल अधुरै

पालिकाबाट भुक्तान गर्न बाँकी रहेको रु एक करोड १० लाखसहित थप रु ६० लाख व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने देखिन्छ । लामो समयसम्म काम गरेको भुक्तानी...
वैदेशिक रोजगारबाट फर्किएका सञ्जय, जसमाथि विमानस्थलमै प्रहरीले 'मुक्का र लात्ती बजार्यो' (भिडियाे रिपाेर्ट)

वैदेशिक रोजगारबाट फर्किएका सञ्जय, जसमाथि विमानस्थलमै प्रहरीले 'मुक्का र लात्ती बजार्यो' (भिडियाे रिपाेर्ट)

विमानस्थल प्रहरीले विदेशबाट फर्किएका एक नागरिकलाई लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।