काठमाडौँ । ट्रकमा भेटिएको २५ करोड रुपैयाँ नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडा अध्यक्षकै कम्पनीबाट लोड भएको पाइएको छ ।
राजश्व अनुसन्धान विभागले जिल्ला अदालतमा दायर गरेको मुद्दाको विवरण अनुसार फुच्चे भनिने कुसाङ लामाले ट्रकमा लुकाएर चीनतर्फ लैजाँदै गरेको २५ करोड रकम सिन्धु मेटेरियल्स प्रा.लिबाट लोड भएको थियो । र यसका ४ जना सञ्चालक मध्ये एक जना सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का वडाध्यक्ष जीवन कुमार भण्डारी रहेका छन् ।
उनी सिन्धु मेटेरियल्सका निर्देशक समेत रहेको उनकै फेसबुक प्रोफाइलमा उल्लेख गरेका छन् । यही कम्पनीका सञ्चालक मध्ये एक नारायाण पौडेललाई राजश्व अनुसन्धान विभागले मुख्य अभियुक्त बनाएर मुद्दा दायर गर्दा अन्य सञ्चालकहरुलाई भने खोजी समेत गरेको छैन ।
साथै २५ करोड लोड गर्ने बेला कुसाङ लामा, नारायण पौडेलसँगै रहेको अर्का सञ्चालक राजकुमार भनिने हरिबहादुर भण्डारी जो वडा अध्यक्ष समेत जीवन भण्डारीका दाइ हुन्, उनलाई राजश्व अनुसन्धान विभागले अनुसन्धानमै तानेको छैन, जो ट्रकमा पैसा लोड गर्दा घटनास्थलमा सँगै थिए । राजश्व अनुसन्धान विभागले उनलाई उन्मुक्ति दिने तरिकाले गरेको अनुसन्धानमा प्रश्न उठेका छन् ।
अझै गम्भीर प्रश्न ५ गते महाशाखाबाट फाइल बुझेर २७ दिन अनुसन्धान गरेको राजश्व अनुसन्धान विभागले सिन्धु मेटेरियल्समा यति धेरै विदेशी मुद्रा कहाँबाट कसरी आयो ? कहाँ, के प्रयोजनका लागि जाँदै थियो ? कसले के प्रयोजनका लागि यत्तिका रकम लैजादै थियो भन्ने समेत पत्ता नलगाई मुद्दा अभियोजन गरेको छ । त्यो कम्पनीका कुनै पनि मालिकलाई पक्राउ नै नगरी । चालकलाई मात्रै थुनेर कसलाई जोगाउन खोज्दै छ राजश्व अनुसन्धान विभाग ? विस्तृतमा चर्चा गराैँ ।
०००
गत चैत ४ गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले २५ रुपैयाँ ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बोकेर चीनतर्फ अघि बढेको एउटा ट्रक नियन्त्रणमा लिएको थियो । आफूलाई प्राप्त सूचनाको आधारमा ट्रक नियन्त्रणमा लिएको महाशाखा आफैँले सो विषयमा अनुसन्धान गर्न पाएन । विदेशी मुद्रासँग सम्बन्धित उक्त मुद्दा महाशाखाले राजश्व अनुसन्धान विभागको क्षेत्राधिकारभित्र पर्ने भएकाले विभागलाई बुझायो । त्यसपछि विभागले अनुसन्धान गरेर मुद्दा बुझाएर अदालतले सुनुवाइ गरी प्रारम्भिक आदेश सुनाइसकेको छ । विभागले मात्र दुई जनालाई प्रतिवादी बनाएको मुद्दामा रकमसहित पक्राउ परेका चालक कारागार चलान भएका छन् भने मालिक भनिएका व्यक्ति अझै फरार छन् ।
वडाध्यक्षकै गोदामबाट लोड भएको थियो रकम
गत चैत ४ गते काठमाडौँको झोरबाट नियन्त्रणमा लिइएको २५ करोड विदेशी मुद्रा वडाध्यक्षकै गोदामबाट लोड भएको खुलेको छ ।
विदेशी मुद्रासहित पक्राउ परेका ‘फुच्चे’ भनिने कुसाङ लामाका अनुसार उक्त मुद्रा टोखा नगरपालिका–३ ग्रीनल्याण्डमा रहेको सिन्धु मेटेरियल्स प्रा.लि नामक गोदामबाट लोड भएको थियो । जुन गोदामका सञ्चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का वडाध्यक्ष जीवन कुमार भण्डारी समेत भएको खुलेको छ । उनी सिन्धु मेटेरियल्सका निर्देशक समेत रहेको उनकै फेसबुक प्रोफाइलमा उल्लेख गरेका छन् ।
बयानका क्रममा फुच्चेले रसुवा जाने क्रममा मैले सिन्धु मेटेरियल्स प्रालिको टोखाको ग्रिनल्याण्डमा रहेको गोदाममा बाटो भएर गएको, सोही क्रममा आफूले चिनेका नारायण पौडेल र राजकुमार भण्डारी कुराकानी गरी बसिरहेको देखेपछि कन्टेनर रोकेर रसुवा लाने सामान छ कि ? भनेर गोदाममा छिरेको, उनीहरूसँग कुराकानी गर्दै गर्दा कालो वर्ण भएको अग्लो मानिस आफ्नो गाडीबाट झरेको देखेको, के गरेको ? भनेर सोध्दा नारायण पौडेलले ‘मेरो केटा हो’ भनेको र नारायण पौडेलले कन्टेनरबाट झरेको व्यक्तिलाई ‘ए केटा काम सक्कियो ?’ भनेर सोधेको बताएका छन् ।
फुच्चेको सो बयानपछि अनुसन्धान अधिकारीहरूले टोखाको सिन्धु मेटेरियल्स प्रा.लिको सञ्चालकको खोजी गरेको थियो । खोजीका क्रममा सो कम्पनीको सञ्चालकमा २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका बाह्रबिसे ३ का वडाध्यक्ष जीवन कुमार भण्डारी समेत भएको खुलेको हो ।
बयानका क्रममा वडाध्यक्ष भण्डारीले आफू सो कम्पनीको सञ्चालक रहेपनि आफूले कुसाङ लामालाई नचिनेको र कुसाङ लामाको ट्रकबारे केही थाहा नभएको बताएका छन् । त्यस्तै उनले आफू वडाध्यक्ष भएका कारण अधिकांश समय सिन्धुपाल्चोकमै हुने दाबी गरेका छन् । ‘म सिन्धुपाल्चोक जिल्ला, बाह्रबिसे नगरपालिका वडा नं ३ को वडा अध्यक्ष हुँ । म वडा अध्यक्ष भएकाले प्राय सिन्धुपाल्चोकमै बस्ने गर्छु । म सिन्धु मेटेरियल्स प्रा.लिको सञ्चालकको रूपमा रहेको छु’, भण्डारीले भनेका छन्, ‘प्रतिवादी कुसाङ लामालाई म चिन्दिनँ । उनले चलाएको ना ७ ख १६५२ नम्बरको कन्टेनरको सम्बन्धमा मलाई केही पनि थाहा छैन ।’
त्यस्तै उनले कुसाङ लामाले आफ्नो गोदाममा कन्टेनर राखेको भन्ने विषयमा समेत आफूलाई जानकारी नभएको बताएका छन् । वडाध्यक्ष भण्डारीले उक्त मुद्दाका सम्बन्धमा आफूलाई केही थाहा नभएको र कसुरमा संलग्नहरूलाई कानुनी कारबाहीको समेत माग गरेका छन् ।
स्थानीय तह निर्वाचनमा २०७९ मा भण्डारीले नेपाली कांग्रेसबाट १ हजार ८९ मतसहित निर्वाचन जितेका थिए । उनका प्रतिस्पर्धी एमालेका राम श्रेष्ठले ६ सय ३ मत पाएका थिए ।
त्यस्तै सो कम्पनीको सञ्चालकमा ४ जना रहेको छन् । जसमा सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–३ का वडाध्यक्ष समेत रहेका जीवन कुमार भण्डारी, सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–३ कै राजकुमार भनिने हरिबहादुर भण्डारी, सोही ठेगाना भएको तुलसी भण्डारी र सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाका नारायण पौडेल हुन् । जसमध्ये विभागले नारायण पौडेललाई मात्रै प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।
वडाध्यक्षका दाइसमेत सञ्चालक, जो पैसा लोड हुँदा गोदाममै थिए तर अनुसन्धानमै तानिएनन्
त्यसो त वडाध्यक्ष जीवन कुमार भण्डारीका दाइसमेत सो कम्पनीका सञ्चालक रहेको पाइएको छ । राजकुमार भनिने हरिबहादुर भण्डारी आफ्नो दाइ भएको वडाध्यक्ष भण्डारीले बताएका छन् ।
हरिबहादुर भण्डारी त्यही व्यक्ति हुन्, जो कन्टेनरमा पैसा लोड हुँदाको समयमा गोदाममै भएको पक्राउ परेका ‘फुच्चे’ले बताएका छन् ।
अनुसन्धान अधिकारीसँग फुच्चेले आफू रसुवा जाने क्रममा टोखास्थित गोदाममा नारायण पौडेल र राजकुमार भनिने हरिबहादुर भण्डारी कुराकानी गरेर बसेको देखेपछि आफूले गोदाममा गाडी रोकेर राखेको र सोही समयमा कन्टेनरमा पैसा लोड भएको बताएका छन् ।
पैसा तस्करी गर्न कन्टेनरमा लोड गरिरहेको समयमा गोदाममै भएका सञ्चालक हरिबहादुर भण्डारी, सो पैसा नियन्त्रणमा लिएको समयदेखि नै फरार भएका छन् ।
फुच्चे पक्राउ परेपछि अनुसन्धान अधिकारीहरूले नारायण पौडेल र हरिबहादुर भण्डारीको कल डिटेल्स रेकर्ड (सिडिआर) हेरेको थियो । जहाँ नारायण पौडेल र हरिबहादुर भण्डारीको लोकेसन एकै ठाउँमा रहेको देखिन्छ । उनीहरूले दुवै जनाले बालकुमारी मन्दिरबाट फोन स्विच अफ गरेर फरार भएका छन् ।
राजस्व अनुसन्धान विभागले नारायण पौडेललाई प्रतिवादी बनाएको छ भने हरिबहादुर भण्डारीलाई प्रतिवादी समेत बनाएको छैन । साथै उनको विवरणबारे कुनै अनुसन्धानै गरेको छैन ।
यस विषयमा राजश्व अनुसन्धान विभाग महानिर्देशक चण्डीप्रसाद घिमिरेले सिधा जवाफ दिन सकेनन् ।
फुच्चे र नारायण पौडेलको चिनियाँसँग उठबस
पैसा सहित पक्राउ परेका फुच्चे भनिने कुसाङ लामाले पटक पटक चिनियाँ नागरिक लिएर कन्टेनर पार्किङ गरिएको ग्यारेजमा पुगेको पाइएको छ । ट्रकभित्र साउन्ड बक्स राख्ने फल्स बटन बनाएको बयान दिएका छन् । त्यस्तै उनले आफूलाई कन्टेनरमा राखिएको पैसाबारे कुनै जानकारी नभएको बयान समेत दिएका छन् ।
तर अनुसन्धान अधिकारीसँग फुच्चेले दिएको बयान र उनका गतिविधि भने बाझिएको छ । फुच्चेले आफूले चन्द्रागिरिमा आफ्नो गाडी बनाएको, ठिमीमा सर्भिसिङ गराएको, नयाँपाटीमा १ दिन पार्किङ गरेको र जोरपाटीमा २ दिन पार्किङ गरिएको बताएका छन् । उनका अनुसार काठमाडौँको चन्द्रागिरि नगरपालिका २ मा अवस्थित बाबा बालखण्डे बडी बिल्डर्स ग्यारेजमा गाडी बनाएको, उक्त ग्यारेजमा १४/१५ दिन लगाई गाडी बनाएपछि ठिमीमा सर्भिसिङ गरी काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीमा १ दिन पार्किङ्ग गरी जोरपाटीमा शंकर अस्पताल नजिकैको पार्किङ्गमा २ दिन पार्किङ्ग गरी, पूजा गरी मिति २०८१/१२/०४ गते गाडी निकालेको फुच्चे भनिने कासाङको भनाई छ ।
जसमध्ये एक ग्यारेजका सञ्चालकले कन्टेनर राखेको आफ्नो ग्यारेजमा फुच्चेले पटक पटक चिनियाँ नागरिक र अन्य शङ्कास्पद व्यक्तिहरू लिएर आउने गरेका बताएका छन् ।
एक अटो ट्रेडर्सका सञ्चालकले अनुसन्धान अधिकृतलाई कुसाङ लामाले विभिन्न समयमा आफ्नो ग्यारेजमा गाडी बनाउन आउने गरेको बताएका छन् । समय समयमा गाडी बनाउन आउँदा फुच्चेसँग चिनजान भएको र पछिल्लो पटक भने आफ्नो ग्यारेजमा उनले गाडी ल्याएर पार्किङ मात्र गरेको र सो समयमा उनले पटक पटक चिनियाँ र अन्य शङ्कास्पद व्यक्तिहरू लिएर आउने गरेको बताएका छन् ।
‘कुसाङ लामाले ना ७ ख १६५२ नम्बरको सवारी साधन म सञ्चालक रहेको ग्यारेजमा बेलुकाको समयमा ल्याई राखेको मैले बिहान देखेको हुँ । मिति ठ्याक्कै याद भएन । नीजले उक्त सवारी साधन मेराे ग्यारेजमा मर्मत गराएको होइन । अन्तै मर्मत गराई हाम्रो ग्यारेजमा पार्किङ गर्न राखेको रहेछ । त्यसअघि कहिलेकाहीँ हाम्रो ग्यारेजमा कुसाङ लामा निजको कन्टेनर मर्मत गराउन आइरहने सिलसिलामा चिनजान भएकोले हाम्रो ग्यारेजमा राखेको हुन सक्छ । उक्त सवारी साधन हाम्रो ग्यारेजमा केही दिन राखेको जस्तो लाग्छ । उक्त समयमा कुसाङ लामासँग चाइनिज लगायत शङ्कास्पद मानिस समेत बारम्बार आएको देखेको थिएँ ।’, ग्यारेजका सञ्चालकले भनेका छन् ।
यसरी तस्करी गरेर २५ करोड विदेशी मुद्रा लिएर चीनको नाकातर्फ जाँदै गर्दा पक्राउ पर्नु, त्यसपूर्व पटक पटक चिनियाँ नागरिकसहित कन्टेनर पार्किङ गरिएको ग्यारेजमा पुग्नु तर आफूलाई उक्त रकमबारे केही जानकारी नभएको इन्कारी बयान दिनु नै आपसमा बाझिएको छ । यस प्रकरणमा उनलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर भएर उनी कारागार समेत चलान भएका छन् ।
२५ करोड तस्करीका फरार रहेका मुख्य अभियुक्त नारायण पौडेलको घरमा समेत चिनियाँ नागरिकको आवतजावत हुने गरेको पाइएको छ । पौडेलको टोखाको महादेवटारमा रहेको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी एक महिलाका अनुसार पौडेलको घरमा चिनियाँ नागरिकको आवतजावत हुने गर्थ्यो । तर चैत महिना लागेदेखि नै सो घरमा पौडेल, रामबहादुर भन्ने हरिबहादुर भण्डारी र चिनियाँ नागरिकको समेत आवतजावत बन्द भएको थियो ।
बयानका क्रममा ती महिलाले भनेकी छिन्, ‘हाल नारायण पौडेल र निजको परिवार जस्तै गरी बस्ने युनिता खत्री र छोरा चैत महिनाको पहिलो हप्ताबाट उक्त घरमा बसेका छैनन् । सुरुमा नारायण पौडेल गएका थिए, त्यसको भोली पल्टबाट राजकुमार भन्ने हरिबहादुर भण्डारी पनि उक्त घरमा आएका छैनन् । त्यसपछि युनिता खत्री र नारायण पौडेलको छोरो गएका हुन् । निजहरू कहाँ गएका छन्, मलाई थाहा छैन । नारायण पौडेल घरबाट गएको दिनमा बिहान उनले भने बमोजिम सबैका लागि मैले खाना पकाएँ तर उहाँ खाना नखाई जानु भएको हो । युनिता खत्रीले घरबाट निस्कँदा घर राम्रोसँग रेखदेख गर्नु भनी गएकी हुन् । कहाँ जाँदै छु पनि भनेनन् । उनीहरू के काम गर्छन् मलाई थाहा छैन । रङ बेच्ने पसल र होटेल छ भन्ने सुनेको हुँ । बेलाबेलामा चिनियाँ नागरिक आउने गरेको देखेको हुँ । अन्य कुरा मलाई थाहा छैन ।’
अहिले मुख्य अभियुक्त भनिएका पौडेलको स्थायी ठेगाना सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ हो । पछिल्लो समय उनी टोखा नगरपालिका–१०, महादेवटार हाइट घर बनाएर बस्दै आएका छन् ।
चीनसँग सिमाना जोडिएको जिल्लाका बासिन्दा भएका उनले बारम्बार चीनतर्फ तस्करी गर्दै आएका छन् । अहिले २५ करोडको तस्करीमा संलग्न भएका पौडेल २०५९ सालमा पनि हङकङमा विदेशी मुद्राकै अवैध कारोबार गरेको आरोपमा पक्राउ परेका थिए । सोही प्रकरणमा उनले डेढ वर्षको जेल सजाय पाएका थिए । रक्त चन्दनको तस्करी पनि उनको विगत रहेको पाइन्छ ।
त्यसो त पौडेलका दाजुभाइ नै अवैध कारोबारमा संलग्न रहेको पाइन्छ । नारायणका ३ जना दाजुभाइ छन्, बच्चु, धुव्र र राजकुमार पौडेल ।
जसमध्ये उनका कान्छा भाइ राजकुमार पौडेल पूर्व जनप्रतिनिधि साथै ‘तस्कर’ मा समेत नाम जोडिरहने व्यक्ती हुन् । उनी २०७४ सालमा माओवादी केन्द्रबाट भोटेकोसी गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । तर निर्वाचित कार्यकालमा अनपेक्षित काम गर्न नसकेका कारण उनले २०७९ सालमा हार व्याेहोरे ।
माओवादीका नेता रहेका राजकुमारको कनेक्सन १५ किलो अवैध सुन तस्करीमा समेत जोडिएको छ ।
त्यस्तै नारायण पौडेलका जेठा दाइ ध्रुव समेत राजनीतिमा संलग्न छन् । उनी २०५४ सालमा नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित थिए ।
त्यस्तै नारायणका साइँला भाइ हुन् बच्चु पौडेल । उनी हिमालयन सीमापार व्यापार सङ्घका निवर्तमान अध्यक्ष हुन् । उनलाई कांग्रेसनिकट मानिन्छ । यद्यपि अन्य दाजुभाइजस्तो सक्रिय राजनीतिमा भने उनी छैनन् ।
यसरी ३ दाजुभाइ तीन ओटा पार्टीबाट राजनीति गर्ने र शक्तिसमुहसँग लबिङ गर्ने भएकाले नारायण पौडेलले बारम्बार राजनीतिको फाइदा उठाउने गरेको पाइन्छ ।
०००
एक वर्ष अघिनै नियन्त्रणमा लिइएकाे थियाे तस्करीमा प्रयाेग भएकाे कन्टेनर
राजश्व अनुसन्धान विभागले अनुसन्धानका लागि चासो नदेखाएको विषय अर्को पनि छ । लामाले चलाएको यो गाडी एक वर्ष अघि भारतबाट विना बिलबिजकको सामान बोकेर आउँदै गर्दा अमलेखञ्जबाट राजश्वको टोलीले नै नियन्त्रणमा लिएको थियो । त्यस बेला २ करोड बढीको सामानको विना कागजपत्र तस्करी गरेको भन्दै राजश्व विभागको टोलीले पथलैयाले अनुसन्धान गरेको थियो । तर अहिले राजश्व पथलैया कार्यालयले पनि यसका बारेमा थप विवरण दिन मानेन भने अहिलेको घटनासँग जोडेर विभागले यसको अनुसन्धान नै गरेन ।
यी अनुसन्धान, बयान र प्राप्त प्रमाणपछि राजश्व अनुसन्धान विभागले नगद बोकेको ट्रकका चालक लामा र नारायण पौडेललाई विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३,४,५ र ९ को कसुरमा सजाय माग गर्दै मुद्दा अभियोजन गरेको थियो । उनीहरू विरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिवाना समेत माग दाबी गरिएको छ । नारायण पौडेल अझै फरार छन् भने फुच्चे भनिने कुसाङ लामालाई कारागार चलान गरिएको छ ।
यस विषयमा राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे ले भने पूरक अनुसन्धान गर्न सकिने ठाउँ राखेर नै मुद्दा अभियोजन भएको दाबी गरे । फरार प्रतिवादी पक्राउ परे तथा पूरक अनुसन्धानका क्रममा अन्य तथ्यहरू खुल्ने दाबी गर्दै अहिले नै सबै अनुसन्धान बन्द भएको भन्न नमिल्ने उनले बताए ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई एक अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५ दशमलव आठ प्रतिशतले बढेको थियो ।...मंगलबार, भदौ ३१, २०८२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान...मंगलबार, भदौ ३१, २०८२
देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनैतिक दल र नेताहरु प्रतिको वितृष्णाले निम्त्याएको परिणाम थियो जेन जी आन्दोलन ।जसको फलस्वरूप आन्दोलनकारीहरुले तीन ठूला राजनीतिक दलका मुख्यालयमा तोडफोड सँगै आगजनी...मंगलबार, भदौ ३१, २०८२
उनले पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता भएको समेत उल्लेख गरेका छन् । 'पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवसकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरू गरौं,' उनले आह्वान...सोमबार, भदौ ३०, २०८२