नेभिगेशन
समाज

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन । भनिन्छ नि, चट्टान फोरेर पनि पिपल उम्रिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सत्यनारायणको यो सफलताले त्यो भनाइलाई व्यवहारमै चरितार्थ गरिदिएको छ । कठोर गरिबी र अभावको चट्टानलाई छिचोल्दै उनले झुपडीबाट देखेको सपना साकार हुने चरणमा पुगेको छ, यसले अभाव देखाएर भाग्ने देशभरका युवालाई पनि ‘अठोटका अगाडि बाध्यता हार्छन्’ भन्ने सन्देश प्रवाह गरेको छ ।

Ncell
Extreme Energy

हुलाकी लोकमार्गको बरियारपट्टि चोकबाट तीन किलोमिटरभित्र पर्छ श्रीपुर गाउँ । यो गाउँका स–साना छाप्राहरूको लहर छिचोलेपछि एउटा यस्तो झुप्रो भेटिन्छ, जुन गरिबीले ढल्नै लागेको छ, तर घरभित्र उम्रेको आशाले त्यसलाई टेको दिइरहेको आभाष हुन्छ । यहीभित्र अभाव र अँध्यारोसँग जुध्दै सत्यनारायणले एउटा चम्किलो सपना सजाए अर्थात् ‘डाक्टर’ बन्ने सपना । आज त्यही झुप्रोबाट पलाएको सपनाले पूर्णता पाउने बाटो तय गरेको छ ।

यो सफलता त्यत्तिकै मिलेको होइन, सत्यनारायणले सुनाएअनुसार आमा सुनितालाई वर्षौंदेखि टाउको दुख्ने समस्या थियो । बुबा कतारमा पसिना बगाइरहेका बेला, आमालाई अस्पताल लैजाने जिम्मेवारी कलिलो उमेरमै सत्यनारायणको काँधमा आयो । उनी आमाको हात समाउँदै अस्पतालका गल्ली–गल्ली चहार्थे । डाक्टरले औषधि लेखिदिन्थे, औषधि खाँदा केही दिन निको हुन्थ्यो, तर फेरि उही पीडा दोहोरिन्थ्यो । अस्पतालका ती लामा लाइन, बिरामीहरूको चित्कार र आमाको अनुहारमा देखिएको असह्य पीडाले उहाँको बालमस्तिष्कमा गहिरो चोट पुर्यायो ।

ती दिनहरू सम्झँदै सत्यनारायण भन्छन्, “औषधि खाँदा केही दिन निको हुने, फेरि उही पीडा दोहोरिने । आमाको त्यो पीडाले मेरो बाल्यकालको सोच नै बदलिदियो । अस्पतालमै उभिएर मैले कसम खाएँ, म डाक्टर बन्छु ।”

यही अठोटले हो, उनको सपना बदलिदिएको, त्यही सपनाले आज जीवनको दिशा नै बदलिदिने आधार तय गरिरहेको छ । सुरुमा उनलाई एमबिबिएसको प्रवेश परीक्षा कसरी दिने, कति खर्च लाग्छ वा कति पढ्नुपर्छ भन्ने केही ज्ञान थिएन । थियो त केवल एउटा दृढ सङ्कल्प । सत्यनारायणले गाउँकै जनता माध्यमिक विद्यालयबाट २०७७ सालमा एसइई उत्तीर्ण गरे। पढाइमा तेज भएकै कारण उनले विराटनगरको अरनिको उच्च माविबाट विज्ञान विषय लिएर कक्षा १२ को पढाइ पूरा गरे । त्यसपछि उहाँको वास्तविक सङ्घर्षको अध्याय सुरु भएको हो ।

“सपना त देखियो, तर घरमा बसेर हुनेवाला थिएन । सपना पछ्याउन घर छोड्नुपर्ने भयो । एमबिबिएसको तयारीका लागि काठमाडौँ पुगेँ, तर आर्थिक अभावको पहाडले थिच्यो । तीन महिनामै काठमाडौँ छाडेर घर फर्किँए । उता बुबा पनि कतारको रोजगारी गुमाएर घर फर्किए । परिवारमा ‘भोक कि पढाइ’ भन्ने सङ्कट आइलाग्यो”, सत्यनारायणले सुनाए ।

हातमा दशथोक, मनमा पुस्तक

परिस्थितिसँग हार मान्ने उनको स्वभाव थिएन । काठमाडौँमा बसेर तयारी गर्ने सपना अधुरै छाड्नुपरेपछि गाउँ फर्किए । गाउँमै निर्माण मजदुरको काम रोजे । दिनभर चर्को घाममा मिस्त्रीसँगै गाह्रो लगाउने, सिमेन्ट बोक्ने र निर्माणको काम गर्ने सत्यनारायणको दैनिकी बन्यो । शरीर थकित हुन्थ्यो, हात–खुट्टा गल्थे, तर रात पर्नासाथ उजको मन फेरि पढाइतर्फ फर्किन्थ्यो । बत्तीको मधुरो उज्यालोमा उनी चिकित्सा शिक्षाका पुस्तक पल्टाउथे र प्रवेश परीक्षाको तयारीमा डुब्थे।

“मैले गरिबीले काठमाडौँ छोडेँ, तर सपना छोडेको होइन । मैले अभावले हण्डर खाएँ, तर हिम्मत हारेको थिइनँ । त्यसैले कुनै दिन अस्पतालको अगाडि उभिएर गरेको सङ्कल्पले मलाई गन्तव्यमा अगाडि बढिरहन झक्झक्याइरह्यो । आखिर सबैको कुरा अठोट त रहेछ, नहार्ने अठोट”, मलिन मुद्रामा सत्यनारायणले विगत सम्झिँदै भने ।

यही अठोटले उनको सङ्घर्षले नयाँ गोरेटो तय गर्यो । मजदुरीबाट हातमा परेको सीमित ज्यालाबाट घरखर्च कटाएर बाँकी बचेको पैसाले उनी किताब किन्थे । कतिपय रात त उनले भोकभोकै पनि किताबका पाना पल्टाएर सपनाको खोजी गरे । सत्यनारायण भन्छन्, “मेरो कोठामा किताबकै सिरानी र किताबकै ओछ्यान हुन्थ्यो ।”

त्यही किताबबीच बिताएका अनगिन्ती रातहरूले उहाँलाई मेडिकल कलेजको ढोकासम्म पुर्याएको हो ।

सफलताको उडानः पहिलो प्रयासमै नाम

काम सजिलो थिएन, तर सपना पनि त चानचुने थिएन । त्यसैले घरमै दुई वर्षको कठोर अध्ययन र मजदुरीपछि उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिए। नतिजा आउँदा सबै अचम्मित भए । सत्यनारायणले मधेसी दलित आरक्षण कोटामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए । उनको तपस्याले अन्ततः प्रतिफल दियो । यो खबर सुन्दा परिवारमा खुसीको सीमा छैन ।

यद्यपि, छात्रवृत्तिले पढाइ शुल्क निःशुल्क भए पनि आवास र अन्य शैक्षिक सामग्रीको खर्च जुटाउने चिन्ता बाँकी नै थियो । बुबा मधुरी साफी भन्छन्, “छोराले आफ्नो मिहिनेतले डाक्टर पढ्ने बाटो त खोल्यो, तर अब यसलाई पूरा कसरी गराउने भन्ने चिन्ता छ । हामीसँग सम्पत्तिको नाममा केही धुर जग्गाबाहेक केही छैन । कक्षा भर्नाका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङसम्म पुग्ने र बस्ने खाने समस्याले क्षणिक खुसीलाई अन्धकारतर्फ धकेल्दै थियो ।”

जब प्रविधिको सहाराले ‘भाइरल’ बने

सत्यनारायणको कथा सामाजिक सञ्जालमा चर्चामा आएपछि देशैभरबाट सहयोगी हातहरू उनको झुपडीसम्म पुग्न थालेका छन् । प्रविधिको सहारामा उनको सफलताको चर्चा देश, विदेशमा पुगेको छ । विस्तारै आर्थिक सहयोग गर्नेहरू थपिँदै छन् । सहयोगी मनहरू जुर्मुराएका छन् । यो सहयोगले उनलाई केही राहत त दिएको छ ।

सहयोगी हातहरू झुपडीसम्म आइपुग्दा सत्यनारायणको आँखामा एकातिर कृतज्ञताको भाव देखिन्छ भने अर्कोतिर आफ्नो जिम्मेवारीप्रतिको गहिरो बोध । चारैतिरबाट पाइरहेको साथ र शुभेच्छापछि उत्साहित बनेका सत्यनारायण भन्छन्, “जब म काठमाडौँबाट रित्तो हात गाउँ फर्किएर मजदुरी गर्न थालेको थिएँ, मलाई लाग्थ्यो यो लडाइँमा म एक्लै छु । आज देशैभरिबाट मनकारी महानुभावहरूले देखाउनुभएको यो माया देख्दा म भावुक भएको छु । यो सहयोग केवल पैसा मात्र होइन, यो मप्रतिको भरोसा र समाजको ऋण हो, जुन म जीवनभर सेवा गरेर तिर्नेछु ।”

उनलाई आफूजस्तै अन्य गरिब विद्यार्थीहरूको भविष्यको पनि चिन्ता छ । भन्छन्, “म त भाग्यमानी रहेछु र सबैको नजरमा परेँ, तर म जस्ता हजारौँ सत्यनारायणहरू आज पनि गाउँका कुनाकाप्चामा मजदुरी गर्दै सपना मारिरहेका छन् । राज्यले यस्तो प्रणाली बनाओस् कि कोही पनि प्रतिभाशाली विद्यार्थीले पैसाकै अभावमा किताब फाल्नु नपरोस् । सपना मार्न नपरोस् ।”

आरक्षणः सीमान्तकृतका लागि वरदान

सत्यनारायणको यो सफलतामा मेहनतसँगै नेपालको समावेशी आरक्षण व्यवस्थाको पनि ठूलो भूमिका छ । मधेस मामिला जानकार प्राडा विजयप्रसाद मिश्र आरक्षणको व्यवस्थाको महत्त्व सत्यनारायणजस्ता धेरै युवाहरूको सफलताले थप सान्दर्भिक बनाउँदै लगेको बताउछन् । भुइँमान्छेहरूले आफ्नो अधिकार सही प्रयोग नगरेसम्म र ओझेलमा परेको समुदायलाई अवसर नदिएसम्म लोकतन्त्र बलियो हुँदैन भन्ने कुरा यसबाट बुझ्नुपर्ने उनको भनाइ छ ।

प्राडा मिश्र भन्छन्, “आरक्षणलाई अझै वैज्ञानिक बनाउनुपर्छ, यसलाई भुइँमान्छेले लाभ लिने गरी अझै व्यवस्थित बनाउनुपर्छ । कुन समुदाय पछाडि छ भन्ने बुझ्न प्रत्येक १० वर्षमा यसको समीक्षा गर्दै अगाडि बढ्नुपर्छ ।”

सत्यनारायण साफी युवाहरूका लागि प्रेरणाको बलियो स्रोत बनेका छन् । झुपडीमा फुलेको उनी र उनीजस्तै युवाहरूको ‘सपनाको बिउ’ लाई फक्राउन सरकार र सरोकार भएकाहरूको सहयोगको खाँचो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन

कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन

सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको चार सदस्यीय गोताखोरसहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाडी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका...
बैतडीमा बस दुर्घटनाः घाइतेको सङ्ख्या २० पुग्यो

बैतडीमा बस दुर्घटनाः घाइतेको सङ्ख्या २० पुग्यो

प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले...
दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

‘दाजु भारतमै मजदुरी गर्दै थिए। भाइ भने केही साल पहिले नेपाल आएर गाडी लाइनमै काम गर्न थालेका थिए,’ डण्डपाणिले सिधाकुरासँग भने, ‘भाइले नेपालमै गाडी क्षेत्रमा काम गरेको देखेर...
कर्णालीमा गाडी खसेको २४ घण्टामा पनि पत्ता लागेन यात्रु संख्या, प्रशासन दिन्छ फरक फरक विवरण

कर्णालीमा गाडी खसेको २४ घण्टामा पनि पत्ता लागेन यात्रु संख्या, प्रशासन दिन्छ फरक फरक विवरण

सुर्खेत बसपार्कबाट गाडी छुटेपछि बांगेसिमलस्थित प्रहरी चेकपोष्ट छ, त्यसलगत्तै बड्डीचौर आइपुग्छ । त्यहाँपनि सुरक्षा जाँच हुन्छ । त्यसपछि डुंगेश्वरमा अर्को चेकपोष्ट छ, त्यहाँ पनि सुरक्षा जाँछ हुन्छ । ...