प्रधानमन्त्री बालेन शाहको सामान्य देखिने यो पोस्टले केही घण्टामै सामाजिक सञ्जाल ततायो । बजारमा चीज खोज्नेहरूको भीड बढ्यो । रमाइला प्रतिक्रिया आए ।
यही पोस्टले वर्षौंदेखि नेपाली भान्सा, किसानको गोठ र उपभोक्ताको भरोसासँग जोडिएको एउटा नामलाई फेरि एकाएक चर्चाको केन्द्रमा ल्यायो र जताततै चर्चामा आयो डीडीसी अर्थात दुग्ध विकास संस्थान ।
Watch On
सँगै केही प्रश्न पनि आए:
के नेपालीले अझै स्वदेशी उत्पादनमाथि भरोसा गर्छन् ? डीडीसीजस्तो पुरानो सरकारी संस्थानले फेरि उपभोक्ताको विश्वास जित्न सक्छ ?
आज सहरका पसलमा सजिलै पाइने दूध, दही, चीज, पनिर वा आइसक्रिमको संसार हेर्दा विश्वास गर्न गाह्रो लाग्न सक्छ— नेपालमा कुनै समय दूध बजारको वस्तु नै थिएन ।
अधिकांश किसानले उत्पादन गर्ने दूध आफैं उपभोग गरेर सकिन्थ्यो । बचेखुचेको ऐंचोपैंचोमा चल्ती गरिन्थ्यो । दूध बेचेर पैसा आर्जन गर्न सकिन्छ भन्ने सोंच नेपाली किसानमा थिएन । दूध बेच्ने र किनेर खाने संस्कृति नै थिएन ।
तर त्यही बीचमा सुरु भयो दुग्ध उद्योग र दुग्ध व्यवसाय ।
लाङटाङबाट सुरु भएको चीजको इतिहास
२००९ साल । रसुवाको लाङटाङमा नेपालकै पहिलो याक चीज केन्द्र सञ्चालनमा आयो । सरकारी सहयोगमा होइन, विश्व खाद्य तथा कृषि संगठनको अग्रसरतामा न्युजिल्यान्डको आर्थिक सहयोग र स्विट्जरल्यान्डको प्राविधिक सहयोगमा ।
विश्व खाद्य तथा कृषि संगठनले २००७ सालमै नेपालमा कृषि क्षेत्र अध्ययन गर्न “स्विस नेपाल फरवार्ड टिम” पठाएको थियो । टोलीले हिमाली क्षेत्रमा पाइने चौंरीको दूधबाट बन्ने चीज लामो समयसम्म नबिग्रिने, काठमाडौं र भारतसम्म पुर्याएर बिक्री गर्न सकिने निष्कर्ष निकाल्यो ।
पछि स्विट्जरल्यान्डका चीज विशेषज्ञ वर्नर शुल्तेस नेतृत्वको टोली नेपाल आयो । थप अध्ययनपछि लाङटाङमा याक चीज उत्पादन सम्भव भएको निष्कर्षसहित २००९ सालमा पहिलो याक चीज उत्पादन सुरु भयो ।
त्यो केवल चीज उत्पादनको सुरुवात थिएन । त्यो नेपालको आधुनिक डेरी उद्योगको जन्म थियो ।
---
याक चीज : स्वादसँगै पहिचान
डीडीसीको इतिहास याक चीजबाट सुरु भएको थियो ।
र आज फेरि त्यही याक चीजले डीडीसीलाई चर्चामा ल्याएको छ । याक चीज केबल खाद्य सामग्री मात्रै होइन, यो नेपालको हिमाली पहिचान हो । यो के हो र कसरी बन्छ- त्यो बुझौं ।
याक चिज सतप्रतिशत शुद्ध र अर्गानिक उत्पादन हो, जसलाई 'प्रमाणित प्राङ्गारिक (Certified Organic)' को मान्यता प्राप्त छ।
हिमाली क्षेत्रका याकहरू कुनै कृत्रिम दाना बिना, पूर्ण रूपमा प्राकृतिक खर्कहरूमा उम्रिने स्थानीय घाँस तथा यार्सागुम्बा जस्ता बहुमूल्य जडीबुटीहरू चरेर हुर्कन्छन्। यसले गर्दा यो चिज स्वास्थ्यका लागि निकै हितकर र औषधीय गुणयुक्त मानिन्छ। यो चिज बनाउन विशेष 'रेनेट' (Rennet) को प्रयोग गरिन्छ। चिजको वास्तविक स्वाद र गुणस्तर निकाल्न यसलाई ४५ देखि १२० दिनसम्म भण्डारण गरी परिपक्व बनाइन्छ। अनि यो १ वर्षभन्दा बढी समयसम्म सुरक्षित राख्न सकिन्छ । चिज बनाउने दूध अन्य दूधभन्दा महँगो हुन्छ । दूधमा रहेको फ्याट अर्थात् घ्युको मात्राको आधारमा डीडीसीले प्रतिलिटर ९५ देखि ११० रुपैयाँसम्म भुक्तानी गर्दै आएको छ, जुन सामान्य गाईभैँसीको दूधको तुलनामा निकै उच्च हो। उच्च गुणस्तरको १ केजी याक चिज उत्पादन गर्न १० लिटर याकको दूध चाहिन्छ अनि यसलाई डीडीसीले बजारमा प्रिमियम उत्पादनकै रूपमा प्रति केजी १,८८० रुपैयाँमा बिक्री गर्दै आएको छ।
उच्च हिमाली जिल्ला रसुवा, रामेछाप, दोलखा र सोलुखुम्बुमा ९ वटा चिज उत्पादन केन्द्र छन् । तीमध्ये रसुवाको लाङटाङमा ३,८७० मिटरको उचाइमा रहेको 'किङ्जिन चिज उत्पादन केन्द्र' विश्वसकै सबैभन्दा उचाइमा रहेको चिज केन्द्र हो । यो केन्द्र सन् १९५५ मा स्विस सरकारको सहयोगमा स्थापना भएको थियो । नेपालमा कुल १५७ याक गोठ छन् भने ती गोठमा ३,४५० वटा याक छन् । प्रत्येक वर्षको मे देखि नोभेम्बरसम्म याक चिज उत्पादन गरिन्छ । वार्षिक कुल उत्पादन ६२ मेट्रिक टन याक चिज उत्पादन हुने डीडीसीको तथ्यांक छ। याक चिजको आफ्नै विशिष्ट विशेषता छ । त्यही विशेषता जोगाइरहन पनि डीडीसीले याक किसानमाथि लगानी गर्दै आइरहेको छ । डीडीसीका अनुसार वार्षिक ६ करोडभन्दा बढी रकम प्रत्यक्ष रूपमा हिमाली क्षेत्रका किसानहरूलाई भुक्तानी गरिँदै आएको छ। योसँगै किसानले अग्रिम भुक्तानी पाउँछन्, डीडीसीले किसानहरूलाई नुन, गम्बुट र त्रिपाल नि:शुल्क उपलब्ध गराउँछ।
नेपाली बजारमा त यो चिज सात दशकदेखि उपलब्ध छ । अब यो विश्वबजारमा पनि पुग्दैछ । खाद्य तथा कृषि सङ्गठन- FAO सँग हालै भएको 'माउन्टेन पार्टनरसिप' अन्तर्गत सहकार्य सुरु भएको छ, जसले नेपाली याक चिजलाई विश्वव्यापी बजारमा पुर्याउन बाटो खोलेको छ। उपभोक्ताका लागि डीडीसीले ५०० र १०० ग्रामको प्याकेजिङमा उपलब्ध गराउँछ ।
याक चिज लोकप्रिय छ । यसको सम्भावना पनि छ । तर यसको उत्पादन निरन्तरतामा भने डीडीसीलाई सजिलो छैन । यसमा डीडीसीले केही गम्भीर चुनौती खेपिरहेको छ ।
१ कृषक पलायन र युवा उदासीनता:
हिमाली क्षेत्रबाट किसानहरू बसाइँसराइ गरिरहेका छन् र नयाँ पुस्ता (युवाहरू) यो परम्परागत पेसामा आकर्षित छैनन्।
२ पूर्वाधारको अभाव:
चिज उत्पादन हुने अधिकांश हिमाली समुदाय र क्षेत्रहरूमा अझै पनि विद्युत् सेवा उपलब्ध छैन।
३ सेवा र चरनको समस्या:
किसानहरूका लागि आवश्यक पशु चिकित्सा (Veterinary) सेवा र नि:शुल्क चरन क्षेत्र सजिलै उपलब्ध हुन सकेको छैन।
४ कर्मचारी अभाव:
दुर्गम र कठिन हिमाली भूगोल भएका कारण यी केन्द्रहरूमा खटाउन डि.डि.सि.सँग दक्ष कर्मचारीको अभाव छ।
यो त याक चिजको कुरा भयो । नेपालमा दुग्ध उद्योग र व्यवसाय कसरी सुरु भयो, त्यसबारेमा पनि जानकारी लिउँ
नेपालको आधुनिक कृषि प्रणालीमा अर्को महत्वपूर्ण कदम थियो- काभ्रेको टुसाल गाउँमा दूध संकलन तथा प्रशोधन केन्द्र स्थापना ।
चीज विशेषज्ञ वर्नर शुल्तेसकै पहलमा २००९–०१० सालमा टुसालमा पहिलो दूध संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिएको थियो ।
त्यसबेला प्रशोधित दूध भरियाले बोकेर ३–४ घण्टा लगाएर भक्तपुर पुर्याइन्थ्यो । त्यहाँबाट ट्रकमा राखेर काठमाडौंको भोटाहिटीस्थित बिक्री केन्द्रमा ल्याइन्थ्यो ।
२००७ साल साउनमै बालाजुमा आधुनिक पशु विकास फार्म स्थापना गरिएको थियो । मुलुकभर सञ्चालनमा रहेका १४ वटा गोठ गोश्वारा फार्मलाई एकीकृत गरी पशु विकास शाखा गठन गरिएको थियो ।
त्यसपछि २००९ सालमा कृषि विभागअन्तर्गत पशु विकास तथा दुग्ध विकास शाखा खोलियो । कृषिमन्त्रीको अध्यक्षतामा दुग्ध विकास बोर्ड गठन गरियो ।
२०११ सालमा टुसाल डेरी उद्घाटन भयो ।
२०१३ सालमा राजा महेन्द्रले लैनचौरमा केन्द्रीय दुग्धशालाको शिलान्यास गरे । त्यसबेला लैनचौर दुग्धशालाको क्षमता प्रतिघण्टा ५ सय लिटर थियो । प्रशोधित दूध आधा लिटरको बोतलमा भरिन्थ्यो र बिक्री वितरण गरिन्थ्यो ।
अहिले यही लैनचौरको क्षमता विस्तार भएर प्रतिघण्टा ३ हजार लिटर पुगेको छ ।
लैनचौरमा प्रयोगशाला स्थापना भएपछि दूधको माग झन् बढ्दै गयो । माग धान्न २०१२–०१४ सालतिर भक्तपुरको खरिपाटीमा अर्को संकलन केन्द्र स्थापना गरियो ।
२०२५–०२६ सालसम्म आइपुग्दा केन्द्रीय डेरी कार्यक्रमले विस्तारको रूप लिइसकेको थियो ।
त्यही क्रममा दूध संकलन केन्द्र, याक चीज केन्द्र र डेरी संरचनाहरूलाई एकीकृत गर्दै २०२६ साउन १ गते दुग्ध विकास संस्थान—डीडीसी स्थापना भयो । त्यही डीडीसी आज एउटा ठूलो उद्योग बनेको छ । गाउँको अर्थतन्त्र, किसानको दैनिक आम्दानी र उपभोक्ताको विश्वाससँग जोडिएको छ ।
संस्थानले अहिले दैनिक औसत २ लाख लिटर दूध संकलन गर्छ । १२ सय दुग्ध उत्पादक संस्थामार्फत करिब दुई लाख परिवार यसमा आबद्ध छन् ।
किसानबाट दूध खरिद गर्न डीडीसीले ६८ स्थानमा चिलिङ सेन्टर सञ्चालन गरेको छ । ४६ जिल्लामा रहेका ६५ चिस्यान केन्द्रमार्फत दूध संकलन गरिन्छ ।
दूध चिलिङ सेन्टर पुगेपछि कारखानामा पठाइन्छ । त्यहाँ ल्याब परीक्षण, गुणस्तर परीक्षण र मिसावट परीक्षण हुन्छ । त्यसपछि मात्रै प्याकिङ गरेर बजार पठाइन्छ ।
डीडीसीले अहिले चार प्रकारका प्रशोधित दूध उत्पादन गर्दै आएको छ—
* स्टान्डर्ड मिल्क
* होल मिल्क
* काउ मिल्क
* टी मिल्क
तीमध्ये सबैभन्दा बढी बिक्री हुने स्टान्डर्ड मिल्क हो । डीडीसीको कारोबारमध्ये करिब ८० प्रतिशत हिस्सा स्टान्डर्ड मिल्ककै छ ।
त्यसबाहेक डीडीसीले
* मोजरेला चीज
* याक चीज
* कञ्चन चीज
* मखन
* घिउ
* दही
* लस्सी
* मोही
* मिठाई
* पनिर
* आइसक्रिम
* फ्लेभर्ड मिल्क
उत्पादन गर्दै आएको छ । डीडीसीका यी उत्पादन नेपालीहरुको स्वाद, स्वास्थ्य र जीवनसँग जोडिएका छन् ।
सुरुमा केही संरचनालाई मात्र जोडेर बनेको डीडीसी अहिले देशैभर फैलिएको छ । उत्पादन बढाएको छ, बजार विस्तार गरेको छ । लाखौं किसान जोडिएका छन् । तर, डीडीसीभित्र सुशासन कायम हुन सकिरहेको छैन । किसानले समयमै दूधको पैसा पाउन सकेका छैनन् । उधारोमा दूध किन्ने र नगदमा बिक्री गर्ने डीडीसीले समयमै किसानलाई पैसा दिँदैन- जसका कारण बेला बेला किसान आन्दोलनमा उत्रिन्छन् ।
पछिल्लो पटक प्रधानमन्त्री बालेन शाहको एउटा फोटोले डीडीसी र यसको उत्पादनलाई चर्चामा ल्याएको छ । स्वदेशी उत्पादनलाई महत्व दिउँ भन्ने भावनाको विकास गरेको छ । तर प्रश्न आउँछ - हामी स्वदेशी उत्पादनलाई कति महत्व दिन्छौं ? हामी आफ्नै किसानसँग कति उभिन्छौं ? र, राज्यले आफ्ना संस्थालाई कति आधुनिक बनाउन सक्छ ?
डीडीसीलाई आधुनिक प्रविधियुक्त, प्रभावकारी व्यवस्थापन, समयमै भुक्तानी, प्रतिस्पर्धी बजार रणनीति र नयाँ ब्रान्डिङ गर्न सकियो भने यसको साख जोगिन सक्छ ।
नेपालीले मात्रै होइन नेपाल आउने पर्यटकको पनि रोजाइमा छ- याक चिज । याक चिजका लागि अन्तर्राष्ट्रिय बजारको ढोका पनि खुलिसकेको छ । अब यसको सही ब्रान्डिङ, गुणस्तर व्यवस्थापन र अन्तर्राष्ट्रिय बजार रणनीति अपनाउन सके याक चीज नेपालका लागि चिया वा कफीजस्तै राष्ट्रिय ब्रान्ड बन्न सक्छ ।
हालै सार्वजनिक भएको राष्ट्रिय बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा iCAUR V23 को आधिकारिक बिक्री मूल्य रु. ५३.९९ लाख निर्धारण गरिएको छ। तथापि, ग्राहकहरूको...बुधबार, जेठ २७, २०८३
मंगलबार सिआइआइएनको त्रिपुरेश्वरस्थित कार्यालयमा परीक्षा दिन देशभरबाट उपस्थित भएका सयौँ परीक्षार्थीले आफूहरूको परीक्षा नियम संगत नभएको भन्दै पुनः परीक्षा गरिनु पर्ने भन्दै विरोध जनाएका हुन्।बुधबार, जेठ २७, २०८३
कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मिति तथा ब्याच नं. २०२६/०२/२३—०४ए को चाउचाउ बाहेक अन्य मितीमा उत्पादीत ब्याच नं.०४ ए वा सो भन्दा फरक ब्याच नं. भएका सम्पुर्ण...मंगलबार, जेठ २६, २०८३
रोग पुष्टि भएका १० जिल्लामा ७२ फार्मका करिब पाँच लाख १५ हजार पंक्षी र सात लाख अण्डा र एक सय ८३ टन दाना नष्ट गरिएको छ । सबैभन्दा...मंगलबार, जेठ २६, २०८३