नेभिगेशन
समाज

ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

काठमाडौँ । सोच्नुस् त, २६ वर्षको नवजवान युवा, उनको साथमा भरभराउँदी श्रीमती छिन् । कल्कलाउँदी छोरी छन्, यी सबै चटक्कै बिर्सिएर आफ्नै शरीरमा आगो झोस्न किन बाध्य हुन्छ ?

राज्यको निकायका अघिल्तीर आफ्नै शरीरमा दनदनी दन्किएको आगोका लप्कामा तड्पिँदै प्रणा त्याग्न किन विवश हुन्छ ? 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०७९ माघ १० फर्किऔँ । त्यतिबेला संसद भवन अगाडि दिनदहाडै इलामका प्रेम आचार्यले आत्मदाह गरे । त्यतिबेला नेपाली समाजले कल्पना नगरेको घटना व्यहोरेको थियो । 

Ncell
Extreme Energy

उनले व्यापार, ऋण, रोजगारी, सरकारी झन्झट र जीवनभर भोगेका असफलताहरूको लामो विवरण छाडेका थिए। सरकारले छानबिन गर्ने भन्यो। केही दिन देश रोयो, नेताहरूले भाषण गरे, अनि हामी फेरि आफ्नै काममा फर्कियौँ, सबैले बिर्सियौँ प्रेम आचार्यहरुलाई ।

आज फेरि अर्को नागरिक जलेका छन्। दुर्भाग्य, झण्डै ४ वर्षपछि नेपाली समाज र राजनीतिले उस्तै प्रकृतिको घटना व्यहोर्नुपर्यो । 

जल्ने युवाको नाम फरक छ, उ जन्मिएको गाउँ फरक छ तर उसलेको बोकेको पीडा उस्तै छ । र छ गरिबीभन्दा पनि ठूलो अपमान, असहायता र कसैले नसुनेको अनुभूति।

४ वर्षअघि प्रेम आचार्य जल्दा त्यतिबेला अहिलेका सञ्चारमन्त्री समेत रहेका विक्रम तिमिल्सिना करुणाद्र हुँदै कविता लेखेका थिए । जुन अहिले सामाजिक सञ्जालमा चर्चामा छ । कवितामार्फत तिमिल्सिनाले भनेका थिए, ‘उनले आफ्नो शरीर होइन, तिम्रो दिमागमा पेट्रोल छर्किन खोजेका थिए । तर तिमी त सुरक्षा घेरामा थियौ, तिमी बच्यौ । असुरक्षित उनै जले डडे ।’ 

संयोग यस्तो आयो उनका पालमा पनि गणेश नेपालीले असुरक्षित महसुस गरे र सुरक्षा दिने ठाउँमा विक्रम तिमिल्सिेना पुगे । 

अहिलेका सञ्चारमन्त्री मात्र होइन तत्कालिन मेयर बालेन शाह पनि आचार्यको मृत्युमा शोकाकुल हुँदै स्टाटस लेखेका थिए, ‘एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो ।’ दुर्योगले सबैभन्दा विस्मयकारी घटना उनका पालमा पनि भयो । अब यस घटनालाई उनले कुन रुपमा व्यवहार गर्छन्, निराशाबाट आशाको बाटोतर्फ अग्रसर गराउँछन् उनले लिने नीतिले नै तय गर्छ । समाजमा बहस भइरहेकै छ । हुने नै छ ।

आज हामीले चर्चा गर्न लागेको घटनाको प्रकृति समान छ । पात्र चाहिँ फरक छन् । अहिलेका पात्र हुन् मुगु सोरु गाउँपालिका १ का गणेश नेपाली । उनले बिहीबार दिउँसो साढे १ बजे त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाए । 

घटनाको कारण विस्तृत रुपमा बाहिर आइसकेको छैन । आत्मदाहबाट गम्भीर घाइते बनेका नेपालीको मृत्यु भइसकेको छ । उनको शव परिवारले बुझ्न मानेको छैन । आत्मदाहको घटनाको जिम्मेवार राज्य हुनुपर्ने भन्दै संसदमा विपक्षीहरुले चर्को माग उठाइरहेका छन् । जेनजी लगायत मुगुका युवाहरु प्लेकार्ड बोकेर सडकमा आएका छन् । देश अहिले गणेश नेपालीले आफ्नै शरीरमा झोसेको आगाको रापको बहसमा छ । यस्तो बहस प्रेम आचार्यको बेलामा पनि देखिएको थियो । 

तर आज हामी यस भिडियोमा अहिलेसम्म गणेश नेपाली आत्मदाह घटनाका कारण, यस घटनाबाट क–कसले पाठ सिक्नुपर्ने हो लगायतका विषयमा विस्तृतमा चर्चा गर्नेछौँ । 

गणेश नेपाली मुगुबाट काठमाडौँ उपत्यका छिरेर सामान्य मजदुरी गर्थे । उनी पठाओ चालक थिए । उनकी श्रीमति र छोरी सँगै बस्थे । तिनको लालन पालन र परिवारको भरणपोषण समेतको जिम्मा तिनै गणेशको काँधमा थियो । काठमाडौँमा उनका दाजु मदन नेपाली पनि बस्थे । दाजु केही शारिरीक समस्यासँग जुध्दै थिए । शारिरीक रुपमा केही बलियाबाङ्गा गणेश दिनभरी पठाओ चलाउने, त्यसैबाट बाइकको किस्ता तिर्ने, मुगुमा रहेका बुवाआमालाई खर्च समेत भर्ने गर्थे । र उनको जीवन सामान्य हिसाबले चलेको देखिन्छ । तर अचानक उनको जीवनमा असार २५ को दिन आइपुग्छ । 

दाजु मदनले बताएअनुसार हिजो उनी राहदानी विभाग अगाडि पुगेका थिए । त्यहाँ उनी बाइक पार्किङ गर्न खोज्दै थिए ।  प्रत्यक्षदर्शी एक महिलाले बताएअनुसार उनी बाइकबाट उत्रिन पनि पाएका थिएनन्, काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरुले उनको बाइकमा अङ्कुसे लगाइदिए । जसलाई ह्विल लक भनिन्छ । पार्किङ गर्न नहुने ठाउँमा बाइक रोके÷रोक्न खोजे । ट्राफिक प्रहरीका अतिरिक्त नगर प्रहरीहरुले पनि ह्विल लक लगाइदिन्छन् । रातो पहेँलो आकारको रङको त्यस्तो अङ्कुसे लगाइएका बाइक शहरका चोक, गल्लीमा हामी सबैको आँखा परेकै छ । अब प्रश्न उठ्छ गणेशले महानगर प्रहरीले बाइक लक गरेकै कारण आत्मदाहसम्मको अवस्थामा पुगे कि ? उनलाई अरु नै कारणले ट्रिगर गरिरहेको थियो कि ? उनी अरु केही गम्भीर मानसिक अवसादको बाटोमा थिए कि ? यी अनुसन्धानको पाटो हो । 

हामीले यहीबारे दाजु मदनलाई केही सोधेका थियौँ । उनले यसअघि भाइको व्यवहार केही असामान्य नदेखिएको बताए । 

गणेश दुई दिनअघि आफू बस्ने कोठा भक्तपुरको कमलविनायक पत्नी र छोरी लिएर दाजुको कोठामा आएका थिए । बिहीबार बिहान दाजुले नै उनलाई उठाएर पठाओका सेवाग्राही लिन पठाएको बताउँछन् । तर एक्कासी दिउँसो ३ बजेतिर मोबाइलमा फोन आउँछ । आफूलाई प्रहरी हुँ भन्दै कसैले उनालाई भाइले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएको र गम्भीर घाइते अवस्थामा वीर अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको जानकारी दिन्छन् । उनी छाँगाबाट खसेजस्तै हुँदै वीर अस्पताल पुगछन् । त्यहाँ उनको भाइसँग दुई शब्द मात्रै संवाद हुन्छ । ‘यो सबै काठमाडौँ महानगरपालिकाले गर्दा भएको हो । मेरो बाइकमा लक लगाइदिएछन् । बाआमाको राम्रो ख्याल गर्नु ।’

यति भनिनसक्दै वाक्य बसेका भाइसँग उनको संवाद भएन । आज त उनी विते पनि । 

प्रत्यक्षदर्शीले बताएअनुसार मृतक गणेशले बाइकमा ह्विल लक नलाइदिन अनुनय, विनय नै गरेका थिए । लक लगाएपछि पनि उनले धेरैबेर महानगरीय प्रहरीसँग वादविवाद गरे । गणेशको महानगरीय प्रहरीसँग मात्र नभइ ट्राफिक प्रहरीसँग पनि विवाद भएको बताइन्छ । अहिले यसबारे सरकारले अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै लागि तीन जना नगर प्रहरीमाथि सुोधपुछ बढाइएको अनुसन्धान अधिकारीहरुले बताएका छन् । 

घटनाबारे सरकारी निकायले जानकारी÷धारणा बताउला नै । तर यस घटनाले हाम्रो राज्यसत्ता, शासन सञ्चालन प्रणालीमाथि केही प्रश्न खडा गरेका छन् । जस्तो कि, नगर एवम् ट्राफिक प्रहरीहरुले चालकहरुलाई कस्तो व्यवहार गरिहेको छन् ? कानुन कार्यान्वयनका नाममा सेवाग्राहीमाथि कस्तो दवाव सिर्जना गरिरहेका छन् ? गणेशले बाइक रोकेकै आधारमा ह्विललक तेस्र्याउन जरुरी थियो कि थिएन ? आज मानिसहरु यही कोणबाट प्रश्न गरिरहेका छन् । 

गणेशको प्राण त्यागपछि केही पठाओ चालक सिधाकुराको सम्पर्कमा आए । उनीहरुको गुनासो समान थियो, कि ट्राफिक प्रहरीले ट्राफिक नियम पालनाको नाममा राइडरहरुलाई यतना दिने क्रम बढेको छ । केही राइडरहरुले ट्राफिक नियम कडा पारिएको छ, १० हजार सम्म जरिवाना तिर्नुपर्ला भन्दै बाइकको चाबी खोस्ने, चिट तेस्र्याउने, सेवाग्राहीलाई आतंकित तुल्याउने गरेका छन् । ट्राफिकको यस्तो व्यवहारले स्वरोजगार एवम् उद्यमको नयाँ क्षेत्रको रुपमा देखा परेको राइड सेयरिङ व्यवसाय संकटमा परेको बताए । 
गणेश नेपाली आत्मदाह प्रकरणले ट्राफिक नियम पालनाका नाममा सुरक्षाकर्मीले गरेको कडाइ र यसले निम्त्याइरहेको समस्या धेरथोर उजागर गरेको छ । 

यसले कतै यो सहर, गरिखाने व्यक्ति, समुदायको नहुने त होइन ? भन्ने प्रशन पनि खडा गरेको छ । काठमाडौँ महानगरपालिकाले पछिल्ला केही वर्षयता फुटपाथ व्यवस्थापनका नाममा सडकपेटीमा व्यवसाय गर्दै आएकाहरुलाई विस्थापित गरेपछि यो बहस झन् पेचिलो बनेको थियो । गणेश नेपालीको प्रकरणले ट्राफिक नियम पालना गराउने नाममा अनावश्यक दण्ड जरिवाना थोपर्दा यसले सेवाग्राहीमा चरम निराशा ट्रिगर गरेको, आवेश र उत्तेजना थप्न थालेको त होइन भन्ने प्रश्न उठेको छ । जुन सम्बोधन जरुरी छ । 

महंगीको बढ्दो भार र न्यून आयका कारण  गरिखाने वर्ग उसै नै चपेटामा छन् । दिनभरि मरीमरी काम गर्दा पनि साँझ चुल्हो बाल्न धौ धौ छ । दिनभरी पठाओ चलाउँदा पनि उनीहरुले औसतमा २ हजार २५ सय कमाउने हो । आधा त तेलमै खर्च हुन्छ । ट्राफिक नियम उल्लंघनका नाममा पटकैपिच्छे ५ सय हजार बुझाउनुपर्दा गणेशको मन विचलित भएको हुनसक्ने परिवारको आशंका छ । फेरि उनले यही मसान्तभित्र बाइकको किस्ता बापतको रकम भुक्तानी गर्नुपर्ने नै थियो । यही समस्याले ट्रिगर गरेर उनले त्यस्तो बाटो रोजेको हुनसक्ने अशंकालाई बल पुगेकै छ । 

पछिल्लो समय आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा धेरै मानिस आर्थिक चपेटामा छन् । धेरैलाई घर व्यवहार चलाउन सकस भइहरेको छ । यस्तो बेलामा स्वरोजगार र उद्यमशिलताको बाटो रोजेकाहरुलाई राज्यले कसरी भरथेग गर्ने भन्ने बहस हुनुपर्ने नै छ । यति मात्र होइन यस्ता घटनाले समाजको मनोदशा पनि प्रकट गर्छ । ४ वर्षअघि चरम आर्थिक समस्याका कारण प्रेम प्रसादले त्यस्तै बाटो रोजे । सहरका प्रतिष्ठित व्यापारिक घरानाहरुले उनको भुक्तानी रोकिदिएका थिए । बेचेको सामानको भुक्तानी नपाउने भएपछि उनको व्यवसाय धराशायी भयो । ऋणको ब्याज बढेर चुलीमा पुग्यो । पुरानो बक्यौता नउठ्दा नयाँ व्यवसायको क्षेत्र पहिल्याउन पनि सकेनन् । अन्नतः आफ्नै कामबाट हार मान्नुभएका उनी जीवनदेखि नै थाकेर आत्मदाहजस्तो कठोर मृत्युको बाटो रोजे । 

त्यसयता पनि व्यवसाय चौपट भएर सरकार र राज्य संयन्त्रबाट कुनै सहायता नपाएर निरुपाय हुँदै आत्महत्याको बाटो रोजेका थुप्रै घटना हामीसँग छन् । यो कुनै एउटा नागरिकको मृत्युको कुरा होइन । यो त नेपाली समाजमा बढ्दो आर्थिक संकट, बेरोजगारी, उद्यमशिलातालाई प्रवद्र्धन गर्न सघाउ नपुर्याउने राज्यको नीतिको आँखाबाट यसलाई हेर्नुपर्छ । आज सिंगो देश गणेशको निधनको शोकमा छ । २०७९ मा प्रेम आचार्यको निधनको शोकमा थियो । तर समयक्रमसँगै राज्यले र समाजले पनि यी शोकहरु बिर्सने गरेको छ । 

घटनाको कारण पत्ता लगाउने र राज्यको नीति र व्यवहारबाटै यसको सम्बोधन गर्नेतर्फ ध्यान दिएको पाइदैन । 

एउटा युवाले स्वरोजगार बन्छु, उद्यमशिलताको बाटो हिंड्छु भन्दा राज्यको नीति अवरोधक बन्ने होइन । सहयोगी बन्नुपर्छ । उसलाई नीतिगत रुपमा बाटो देखाउन अग्रसर हुनुपर्छ । 

राज्यका लागि गणेशको घटना महत्वपूर्ण पाठ बन्नुपर्छ ताकि कुनै पनि नागरिक राज्यको निकाय अघिल्तिर आफैँले अगो झोसेर डङ्रङ्ग ढल्ने परिरिस्थति नबनोस् । यो सँगै अर्को बिर्सनै नहुने तथ्य पनि छ । हिजो गणेश आत्मदाहबाट गम्भीर घाइते बनिरहँदा उनको उद्धारमा समाजले तदारुकता त देखाउन सकेन नै राज्य पनि धेरैबेरसम्म अनुपस्थित देखियो । उद्धारपछि पनि कहाँ लैजाने भन्ने समस्या भइ नै रह्यो । उपयुक्त जलन अस्पतालको अभाव फेरि पनि खट्कियो । यसअघि पनि यस्ता गम्भीर प्रकृतिका जलनका घटना नभएका होइनन् । 

साठी सत्तरीको दशकमा तेजाव प्रहार गर्ने घटना भए । ती घटना र त्यसअगाडि पनि डेडिकेटेड जलन अस्पतालको खाँचो महसुस भएकै हो । यसबीचमा कांग्रेस नेता चन्द्र भण्डारी, पूर्वप्रधानमन्त्री झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारलाई संक्रमणको उच्च जोखिम हुने भन्दै विदेश लगेर उपचार गरिएको थियो । यसबीचमा जल डेडिकेटेड जलन अस्पताल बनाउने भन्ने नीतिगत निर्णय गर्ने तर कार्यान्वयन उपेक्षा गर्दाको मार गणेशले पनि व्यहोर्नपर्यो । 

नेपाली समाजलाई भन्नै पर्ने हुन्छ, आत्मदाह कुनै समाधान होइन। अँह, यो साहस त हुँदै होइन । यो त मानिसले आफ्ना लागि सबै ढोका बन्द भएपछि र अगाडीको बाटो सुरुङ जस्तो अन्धकार लाग्न थालेपछि चाल्ने कठोर कदम हो ।  त्यसैले प्रश्न गणेशले किन आफूलाई आगो लगाए भन्नेमा मात्र सीमित हुनु हुँदैन।
प्रश्न यो पनि हो, उनको आक्रोशलाई कसैले किन सुनेन?

अन्तिममा, नेपाली कांग्रेसका सभापति गगन थापाले भने  जस्तै नेपाली समाजले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्ने छ । राज्यसँग पनि प्रश्न गर्नुपर्ने छ । एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो झोस्ने तहसम्मको  अवस्थामा एउटा युवा किन पुग्छ ? राज्यका सेवा र संयन्त्रले नागरिकमाथि आड, साथ र भरोसाको अनुभूति दिलाउनु पर्ने हो,  तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? र उपायविहिन हुँदै कठोर मृत्युको बाटोमा पुग्छन् ?

आज समाज, परिवार, राज्य र नागरिकका रूपमा हामी सबैले छातीमा हात राखेर आफैँलाई सोधौँ हामी कहाँ चुक्यौँ ?
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालकोे गुनासो छ ।
धोबी खोलामा हामफालेकी महिला मृत फेला

धोबी खोलामा हामफालेकी महिला मृत फेला

खोलामा महिला हामफालेको सूचना पाउनेवित्तिकै खोजीका लागि प्रहरी टोली खटिएको थियो । मृत भेटिएकी महिलाको परिचय खुलेको छैन । उनको उमेर ३५ वर्ष आसपास हुनसक्ने अनुमान गरिएको छ...
धोबिखोलामा हामफालिन् एक महिला, खोज्न प्रहरी परिचालन

धोबिखोलामा हामफालिन् एक महिला, खोज्न प्रहरी परिचालन

अहिले खोजीका लागि प्रहरी टोली धाेबी खाेला र बागमतिमा खटिएको छ । उनको अवस्थाबारे भने पत्ता लगेको छैन ।
त्रिपुरेश्वर आत्मदाह प्रयासः दाजुले गाउँमा फोन गरेर भने – अवस्था सामान्य छ

त्रिपुरेश्वर आत्मदाह प्रयासः दाजुले गाउँमा फोन गरेर भने – अवस्था सामान्य छ

उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्थाबारे प्रहरीले कुनै जानकारी दिएको छैन । वडाध्यक्ष छत्यालका अनुसार दाजु मदनले परिवारलाई ‘अवस्था सामान्य छ, त्यति नआत्तिनु’ भनेर...