काठमाडौँ । घुमारचोक र लप्सेका किसान इस्कुसखेतीमा रमाउन थालेको ३५ वर्ष नाघेको छ । इस्कुसको मुन्टादेखि जरा (तरुल)सम्म बिक्री गरेर आम्दानी लिन पाइने भएपछि उनीहरू इस्कुसखेतीमै रमाउन थालेका हुन् ।
पहिला यहाँका जनताले जीवन चलाउन दाउरा बेच्नुपथ्र्यो । तर इस्कुसखेतीमा रमाउन थालेपछि यहाँका अधिकांश किसानको जीवन नै बदलिएको छ । अहिले उनीहरूसँग जेठदेखि मङ्सिरसम्म रुपैयाँको कमी हुँदैन । शङ्खरापुर नगरपालिकाका दुई गाउँ घुमारचोक र लप्सेका किसानको जीवन गुजाराको एकमात्र कृषि बाली इस्कुसखेती नै हो ।
किसानले इस्कुसको मुन्टा सिजनमा प्रतिकेजी रु १०० देखि १५० सम्म, जरा (तरुल) प्रतिकेजी रु १५० देखि रु २०० सम्म र इस्कुस प्रतिकेजी रु ३५ देखि रु ५० सम्ममा बिक्री गर्दै आएका छन् । उनीहरूले उत्पादन गरेका इस्कुस तथा अन्य सागसब्जी बिक्री गर्न बजारसम्म धाउनुपर्दैन । व्यापारीहरू ढक तराजु बोकेर घरघर आउँछन् ।
यहाँ प्रत्येक घर वरिपरि बारीमा टाढैसम्म लहरिएका इस्कुसका झ्याङ देखिन्छन् । इलामको चिया बगानजस्तै । यहाँका किसानको पुस्तौँदेखि आम्दानीको मुख्य आधार इस्कुस बनेको छ । अधिकांश घरपरिवारको दैनिकी, चाडपर्व र वर्षभरिको खर्चसमेत इस्कुससँग जोडिएको छ ।
ऐतिहासिक साँखु बजार र बज्रयोगिनी मन्दिरबाट अलिकति माथि र शिवपुरी राष्ट्रिय निकुञ्ज, मणिचुड कुण्डभन्दा अलिकति तल घुमारचोक पर्दछ । सहरीकरणको हावा लाग्दै गरेको काठमाडौँको ग्रामीण क्षेत्र शङ्खरापुर नगरपालिका–८ घुमारचोकको भिरालो बस्ती यतिबेला इस्कुसको बगानले मनोरम देखिन्छ ।
साथै वडा नं ४ लप्से पुग्दा पनि सो गाउँका अधिकांश घरगोठ वरिपरि इस्कुसका ठूलाठूला बगान भेटिन्छन् । यतिबेला यहाँका कृषकलाई इस्कुस टिप्ने, प्याकिङ गर्ने र घरछेउमा आएका व्यापारीलाई बेच्न भ्याइनभ्याइ छ ।
यी दुई वडाका धेरै घरपरिवारका लागि इस्कुस केवल सागसब्जी मात्र नभई वर्षभरिको घरखर्च धान्ने मुख्य आम्दानीको स्रोत बनेको छ । वर्षको करिब छ महिना यहाँका कृषकको दैनिकी इस्कुस टिप्ने, जोख्ने र बिक्री गर्ने काममै बित्छ । जेठदेखि उत्पादन सुरु हुने उक्त तरकारी मङ्सिरसम्म फल्छ ।
शङ्खरापुर–४ लप्से थाङसाङ डाँडाका कृषक सञ्चमान घ्लानले इस्कुसखेती गर्न थालेको ३५ वर्ष नाघिसकेको छ । उनले पाँच रोपनी जग्गामा इस्कुसखेती गरेर वार्षिक रु पाँच लाख आम्दानी गरेका छन् ।
घुमारचोक र लप्सेका इस्कुसखेती किसान खुसी छन् । उनीहरूको जग्गासम्म सडकको पहुँच विस्तार भएपछि व्यापारी कृषकको बारीमा सजिलै पुग्ने भएकाले उनीहरू खुसी भएका हुन् ।
लप्सेकै अर्का कृषक बुद्धिबहादुर घ्लानले छ रोपनी जमिनमा इस्कुसखेती गरेका छन् । उनका सबै परिवार इस्कुसखेतीमा नै लागेका छन् । इस्कुसखेतीबाट आफू सन्तुष्ट भएको उनले बताए ।
घुमारचोकका स्थानीय विकास थिङले यहाँका प्रायः किसानले थोरैमा रु एक लाख र बढीमा रु छ लाखसम्म इस्कुस बिक्री गर्ने गरेको बताए । शङ्खरापुरका यी दुई वडामा उत्पादन भएको इस्कुस काठमाडौँका विभिन्न तरकारी बजारमा पुग्ने गरेको छ । विशेषगरी यहाँका अधिकांश तामाङ परिवार इस्कुसखेतीमा आबद्ध छन् ।
यहाँका किसानले इस्कुससँगै काँक्रो, सिमी, आलुलगायतका अन्य तरकारी पनि लगाउँछन् । जग्गा भएका प्रायः घरपरिवार इस्कुसखेतीमा जोडिनुको कारण पनि यसको नियमित आम्दानी नै हो । एकैपटक ठूलो रकम हात पर्नेभन्दा पनि लामो समयसम्म थोरैथोरै रकम निरन्तर आउने भएकाले घरायसी अर्थतन्त्र चलाउन सहज भएको कृषकहरूको अनुभव छ ।
ठूले मानबहादुर वाइवाले झन्डै पाँच रोपनी जग्गामा इस्कुसखेती गरेका छन् । विगतमा राम्रै फाइदा भए पनि यो वर्ष समयमा नै थाक्रो दिन ढिलाइ भएकाले रु पाँच लाखको इस्कुस बिक्री गरेको उनले बताए ।
घुमारचोकका म्याङ्गाई घ्लानले पनि पाँच रोपनीमा इस्कुसखेती गरेका छन् । उनले रु ५० हजार लगानी गरेर रु एक लाख ९५ हजार आम्दानी गरेको बताए । यस क्षेत्रमा डाँडाकटेरी, कालीमेल, रैले, जहरसिंहपौवालगायतका क्षेत्रमा पनि इस्कुसखेती हुने गरेको छ ।
इस्कुसखेतीलाई व्यावसायिक रूपमा अघि बढाउन शङ्खरापुर नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । नगरप्रमुख रमेश नापितले इस्कुसखेतीमा आबद्ध किसानलाई आवश्यक मचान निर्माणमा अनुदान उपलब्ध गराउँदै आएको बताए ।
इस्कुसलाई थाँक्रो दिन आवश्यक मचानका लागि सिमेन्ट, बालुवा र रडबाट तयार गरिने टेका कृषकको ५० प्रतिशत लागत र नगरपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराएको उनले बताए ।