नेभिगेशन
सबै कुरा

केटीसीकै समूहबाट नेशनल बिजनेस ट्रेड सेन्टरमा पनि ९ सय २९ जनाको ३ अर्ब ठगी

काठमाडौँ । कलङ्कीको खसी बजारमा रहेको नेशनल बिजनेस ट्रेड सेन्टर (एनबीटिसी) मा लगानी गरेका  ९ सय बढी व्यवसायी तथा सर्वसाधारणले आफूहरू ठगिएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कलङ्की ट्रेड सेन्टरका नाममा रकम दिएर ठगी गरेको आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका हाउजीङ व्यवसायी नरेन्द्र बज्राचार्यसहितको समूहबाट ३ अर्ब रुपैयाँ बढी रकम ठगी भएको सर्वसाधारण र व्यापारीहरूले बताएका छन् ।

Everest cinsult


एनबीटिसीलाई आकर्षक व्यावसायिक हबको रूपमा विकास गरिने र उक्त हबमा लगानी गर्ने सबैलाई लगानीअनुसारको व्यावसायिक सटर लालपुर्जा प्रदान गर्ने भन्दै ११ वर्ष अघि मिलाल्याण्ड डेभलपर्स प्रालिले रकम उठाएको थियो । 


९ सय २९ जना व्यवसायीबाट २०६९ सालमा जनही ४० लाख रुपैयाँसम्म रकम उठाइएको पीडितहरूले बताएका छन् । त्यसरी उठाइएको झन्डै ३ अर्ब ६६ करोड रुपैयाँबाट होलसेल व्यवसायको हब सेन्टर ५ वर्ष भित्रै बनाई सक्ने र २०७४ सालमा जनही सटर र लालपुर्जा उपलब्ध गराउने करार सम्झौता भएको थियो । तर, रकम बुझेको १२ वर्ष पुग्दा जम्मा २ सय जनाले मात्रै आफ्नो रकमअनुसारको सटर पाएको र ७ सय जना लालपुर्जाविहीन भएको पीडितहरूको आरोप छ । 

सबैले लालपुर्जा नपाएका कारण होलसेल पसल नचल्दा लगानी गरेका सबै जना सो समूहबाट ठगिएको उनीहरू बताउँछन् । एनबीटिसी  व्यापार सङ्घका अध्यक्ष होमनाथ गिरीले कम्प्लेक्स बनाउने कम्पनी मिलाल्याण्ड डेभलपर्स प्रालिको लापरबाहीका कारण यसमा लगानी गरेका सबै जना व्यवसायी ठगिएको बताए ।  

आफूले पाउने सटरका लागि पटक पटक आग्रह र आन्दोलन गर्दा पनि एनबीटिसी बनाउने मिलाल्याण्ड डेभलपर्सले वास्ता नगरेको र सम्पर्कमा नआएको गिरी बताउँछन् । ‘अझै ७ सय जना व्यवसायीले कम्प्लेक्सको सटरमा गरेको लगानीको लालपुर्जा पाएका छैनन्,’ अध्यक्ष गिरीले सिधाकुरासँग भने,‘सटर पाएका व्यवसायी न्यून हुँदा कम्प्लेक्स नचलेको र सबैको लगानी डुबेको छ ।’

होमनाथ गिरी

लालपुर्जा माग गर्न पटक पटक आग्रह गर्दा सञ्चालकहरूले अनेक बहानाबाजी मात्रै गरेको गिरी बताउँछन् । सर्वसाधारण र व्यवसायीबाट उठाएको रकम कम्प्लेक्स बनाउने कम्पनीले अपचलन गरेको बुझिएको गिरीले बताए । ‘आज हुन्छ भोलि हुन्छ भन्दाभन्दै तोकिएको समय गुज्रिएर ७ वर्ष बित्यो । तर, लडाइँ गरेर २ सय जतिले लालपुर्जा पाए बाँकीले कहिले पाउँछन्  निश्चित छैन,’ गिरीले भने । 

व्यवसायी र सर्वसाधारणबाट उठाएको रकम डेभलपर्स कम्पनीले हिनामिना गरेर उल्टै कम्प्लेक्सलाई बैंक ऋणमा डुबाइदिएको एनबीटिसी व्यापार सङ्घका महासचिव योगेन्द्र श्रेष्ठले बताए । आफूहरूबाट उठाएको रकम पहिल्यै नाफाको रूपमा बाँडेर सञ्चालकहरूले अपचलन गरेको र बैंकबाट ऋण लिएर कम्प्लेक्स बनाएको पाइएको उनले बताए । श्रेष्ठका अनुसार व्यवसायीहरूबाट उठाएको रकम भन्दा सस्तोमा कम्प्लेक्स बनाएर उल्टै कम्प्लेक्सलाई बैंकमा राखेर ६२ करोड बढी ऋण लिएको पाइएको छ । 


कम्प्लेक्समा लगानी गरेका सर्वसाधारण र व्यवसायीलाई लालपुर्जा दिनुपर्नेमा सिङ्गो कम्प्लेक्स नै बैंक धितोमा रहेको उनले बताए । ‘सटर र लालपुर्जा माग्दा बैंकमा धितो भएका कारण दिन नसकिएको भन्छन्,’ महासचिव श्रेष्ठ भन्छन्,‘हाम्रो लगानीको सम्पत्ति बैंकमा धितो राखेर यत्रो ऋण लिन कसले दियो ? बैंकबाट लिइएको ऋण कहाँ र के मा लगानी गरियो ? यसको जवाफ सञ्चालकहरूसँग छैन ।’

लगानीअनुसारको लालपुर्जा नपाएपछि आफैँ खोजतलास गर्दा नबिल बैङ्कबाट (तत्कालीन नेपाल बङ्गलादेश बैंक) बाट ६२ करोड रुपैयाँ ऋण लिएको पाइएको र उक्त ऋणमध्ये अझै ४० करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको पाइएको व्यवसायीहरूले बताएका छन् । 

व्यापार सङ्घका उपाध्यक्ष राजु घिमिरेले आफू सहितका व्यवसायीहरू मिलाल्याण्डबाट ठगिएको बताए । आफूहरूलाई सुन्दर सपना देखाएर लगानी गर्न सम्झौता गरेर रकम लिएको र अहिले आएर सञ्चालकहरू सम्पर्कविहीन भएको उनको भनाई छ । 'सटरमा लगानी गर्न पहिले आफैँ धाउँदै घरघर आएका सञ्चालकहरू अहिले सम्पर्कविहीन छन् । हामी आफैँ धाउँदै खोज्दा पनि भेटिनन्,’ उनले भने, ‘न भवन मापदण्ड र लगानीअनुसार बन्यो न त लगानी गरेकाहरूले लगानीको प्रतिफल पाए ।’


समग्रमा मिलाल्याण्डबाट नेशनल बिजनेस ट्रेड सेन्टरमा लगानी गरेकाहरू ठगिएको उनको भनाई छ । मिलाल्याण्ड डेभ्लपर्स प्रालिले कम्प्लेक्सको पार्किङ यार्डमा एउटा सम्पर्क कार्यालय राखेको तर कर्मचारीहरु बाहेक सञ्चालकहरुको मुख नै नदेखिएको उपाध्यक्ष घिमिरेले बताए ।  

बिजनेस कम्प्लेक्सका लागि लगानी गरिसकेको र पहिलेको व्यापारिक स्थल छोडिसकेका कारण केही व्यवसायीहरू यहाँ आएकाले जसोतसो केही पसलहरू खोलेको अध्यक्ष गिरी बताउँछन् । तर, अन्य लगानीकर्ता फसाइएका कारण समग्र सेन्टर नै चल्न नसकेको उनको भनाई छ । 

‘यहाँ रहेका पसलहरुले बोनी गर्न पनि सकेका छैनन् । अब सबैले लालपुर्जा पाएपछि मात्रै ट्रेड सेन्टर चल्न सक्ने देखिन्छ । तर, लालपुर्जा पाउन सञ्चालकहरूले बैंकको ऋण तिर्नै चाहेको नदेखिएको अर्का एक लगानीकर्ता सुरज नेपालले सिधाकुरालाई बताए । ‘बैंकको ब्याज, किस्ता घटाउन सकिएन भन्छन् । त्यो सबै हिसाब मिलाएपछि मात्रै लालपुर्जा पाइन्छ रे,’ उनी भन्छन्, ‘हामीबाट उठाएको पैसा कहाँ लगे ? बैङ्कबाट ऋण किन लिए र किन तिरेनन् त्यो हाम्रो चासोको विषय नै होइन । हामीले निशर्त लालपुर्जा पाउनु पर्छ ।’


कसरी उठाइयो यति धेरै रकम ?

न्युरोड, इन्द्रचोक, विशाल बजार क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरूलाई त्यहाँको ठाउँ साँघुरो भइराखेको थियो । राम्रो र खुल्ला ठाउँ पाए होलसेलको व्यापार गर्नका लागि सर्ने मनसाय सबैमा थियो । यस्तै सोच भएका व्यवसायीहरूका लागि भन्दै २०६९ सालमा मिलाल्याण्ड डेभलपर्स कम्पनीका सञ्चालक नरेन्द्र बज्राचार्यसहितको टोलीले कलङ्कीको खसी बजारमा आकर्षक अन्तर्राष्ट्रिय स्तरको बिजनेस होलसेल कम्प्लेक्स बनाउने योजना अघि सारे । 

झन्डै ७ रोपनी क्षेत्रफलमा ९ सय २९ वटा होलसेल बिक्री केन्द्र, सिनेमा हल, फुड कोर्ट, भूमिगत पार्किङ र तेस्रो मुलुकबाट आउने कन्टेनर सिधै कम्प्लेक्समा पुगेर गोदाममा सामान राख्न मिल्ने सुविधा एनबीटिसीमा हुने योजना अघि सारियो । 


काठमाडौँको होटेल याक एन्ड यतिमा भव्य कार्यक्रम गरेर डेभलपर्सहरुले व्यवसायीहरूलाई हरेक व्यावसायिक सटर कम्तीमा २५ लाख देखि ४० लाख रुपैयाँसम्म बिक्री गर्ने र त्यसको लालपुर्जा दिने भन्दै लगानीका लागि आग्रह गरे । असन, इन्द्रचोक, रञ्जना गल्ली क्षेत्रमा भाडामा व्यवसाय गरिरहेकाहरू आफ्नै लगानीमा लालपुर्जा समेत पाइने भएपछि लगानी गर्न इच्छुक भए । 

मिलाल्याण्ड डेभलपर्स प्रालीको तर्फबाट प्रस्ताव गरिएको एक करार नाममा सम्झौता गर्दै ९ सय २९ जना फरक फरक व्यवसायी र केहीको दुई देखि ३ वटासम्म सटर बुकिङ गरेको देखिन्छ । सम्झौता भएको मितिदेखि परियोजना सम्पन्न नहुँदासम्म किस्तामा रकम तिर्न सकिने सुविधा करारमा थियो । जसअनुसार २०७४ सालमा बिजनेस कम्प्लेक्स निर्माण सम्पन्न हुने उल्लेख थियो । 

सुरुमा सबै जनासँग पहिलो किस्तामा २ लाख रुपैयाँ धरौटी रकम (करिब १८ करोड ३२ लाख) लिइएको थियो भने बाँकी रकम ८ प्रतिशतका दरले ११ किस्तामा तिर्नेगरी करार सम्झौता गरिएको सिधाकुरालाई प्राप्त करारमा उल्लेख छ । 

सम्झौताअनुसार २०७४ मा भवन निर्माण सकिने भनिएको थियो तर, भूकम्पका कारण डेभलपर्स कम्पनीले थप समय माग गरेपछि थप एक वर्ष कम्पनीले समय पाएको थियो । २०७५ सालमा निर्माण सम्पन्न भएर सबै लगानीकर्तालाई हस्तान्तरण हुनुपर्ने कम्प्लेक्सका करिब १ सय ८० देखि २ सय हाराहारी मात्रै सटर मालिकले लालपुर्जा पाएका छन् भने बाँकी सबै रित्तो हात छन् ।

बैंकले ऋण नतिरेको भन्दै ताकेता बढाएका कारण एनबीटिसी लिलाम हुन्छ कि भन्ने भय लगानीकर्तालाई उत्पन्न भएको छ । यही सञ्चालकहरूकै समूहले निर्माण गरेको नजिकैको कलङ्की ट्रेड सेन्टरमा पनि यस्तै ठगी भएको पाइएपछि उनीहरु लगानीकर्ताको उजुरीपछि यतिबेला प्रहरी हिरासतमा पुगेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले असार ९ गते आइतबार उनीहरूलाई पक्राउ गरेको थियो । अदालतबाट ३ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । बुधवार पुनः पक्राउ परेकाहरूलाई थप एक दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

एनबीटिसीका लगानीकर्ताले पनि दिए जाहेरी

आफूहरू पनि ठगिएको भन्दै नेशनल बिजनेस सेन्टर (एनबीटिसी) का लगानीकर्ताहरूले पनि मिलाल्याण्ड डेभलपर्स प्रालिका सञ्चालकविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा जेठ ३२ गते जाहेरी दर्ता गराएको एक लगानीकर्ता व्यवसायीले बताए ।


एनबीटिसीमा ठगिएकाहरूमध्ये १५ जना लगानीकर्ताहरुको तर्फबाट ६ जना सञ्चालकविरुद्ध जाहेरी दर्ता गरिएको हो । एनबीटिसीमा सटर कबुल लालपुर्जासहित पाउने विश्वासमा ४ करोड ८६ लाख ७२ हजार १ सय ७८ रुपैयाँ लगानी गरेको तर विश्वास घात गरेर आपराधिक कार्य गरेर ठगी गरिएको जाहेरीमा उल्लेख छ । 

कलंकी ट्रेड सेन्टरमा १०० जनाको एक अर्ब ठगी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राजनीतिक नियुक्ति खाएकालाई पद त्यागेर मार्ग प्रशस्त गर्न रास्वपाको आग्रह

राजनीतिक नियुक्ति खाएकालाई पद त्यागेर मार्ग प्रशस्त गर्न रास्वपाको आग्रह

‘हामी पुर्नसंरचनासहितको नयाँ मोडलमा जाँदैछौँ । जनताको करबाट राजनीतिक स्वार्थको व्यवस्थापन गर्न गरिएका नियुक्तिहरुबाट नियुक्ति पाएकाले मार्ग प्रशस्त गरिदिनु पर्छ,’ प्रवक्ता झाले सिधाकुरासँग भने,‘योजना आयोग र महान्यायधीवक्ता कार्यालयमा...
सरकारी निकायमा राजनीतिक दलको दोकान, रास्वपा सरकारले लगाउँदै छ ठेगान

सरकारी निकायमा राजनीतिक दलको दोकान, रास्वपा सरकारले लगाउँदै छ ठेगान

‘सरकारी सेवा भित्रको दलगत ट्रेड युनियन व्यवस्था खारेज गरी प्रशासनलाई पूर्ण रूपमा पेशागत, तटस्थ र उत्तरदायी बनाइनेछ,’ रास्वपाले भनेको छ,‘ सूचना प्रविधिमा आएको तीव्र परिवर्तनलाई आत्मसात गर्न सक्ने...
जनताकै घर दैलोमा दीपक बोहरा:पहिले मत माग्न,अहिले सेवा गर्न

जनताकै घर दैलोमा दीपक बोहरा:पहिले मत माग्न,अहिले सेवा गर्न

समस्या थियो, कञ्चनपुर बेदकोट नगरपालिका ४ वैतडा एक बालकको । हिमोफेलिया, रोगबाट ग्रसित ती बालकलाई नियमित औषधि उपचार चाहिन्थ्यो । तर, ती बालक त्यसबाट बञ्चित थिए । यही...
रवि–बालेन सम्बन्धको गाँठो कति कसिलो  ?

रवि–बालेन सम्बन्धको गाँठो कति कसिलो  ?

वरिष्ठ नेता बालेनले सरकारको नेतृत्व गर्ने छन्, रास्वपा सभापति रवि लामिछानेले पार्टीको नेतृत्व गर्नेछन् । सत्ता सञ्चालनमा सरकारलाई सहयोग गर्ने छन् । आम नेपालीले रवि र बालेनले मुलुक...