नेभिगेशन
सबै कुरा

महिला यात्रुले नाटकीय ढङ्गले लुटिन इन्ड्राइभ चालक, इन्ड्राइभ कम्पनीले भन्यो, ‘हामी जिम्मा लिन्नौँ’

काठमाडौँ । जुम्ला घर भएका सुरेन्द्र श्रेष्ठ (परिवर्तित नाम) विगत ३ महिनादेखि लोकसेवाको तयारी गर्दै पार्ट टाइममा अनलाइन राइड सेयरिङ प्लेटफर्म मार्फत यात्रु बोक्थे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कलङ्की बस्ने सुरेन्द्र गत भदौ २५ गते भक्तपुरको कमलविनायकस्थित आमा भेट्न गएका थिए । फर्कने बेला साँझ परिसकेको थियो । फर्कँदा खाली जानु भन्दा कोही यात्रुलाई लिएर गए तेल खर्च निस्कने सोचेर उनी इन्ड्राइभमा अनलाइनमा यात्रु पर्खिए । 

Ncell
Extreme Energy


सोही क्रममा साँझको ६ बजेर ५३ मिनेट जाँदा उनलाई जोरपाटीका लागि एउटा रिक्वेस्ट (अनुरोध) आयो । उनले सो रिक्वेस्ट एसेप्ट (स्वीकार) गरे र यात्रुलाई फोन गरे । फोन गरेर यात्रु भएको लोकेसन (स्थान) मै पुगेका सुरेन्द्रले एक युवतीलाई पिक गरेर (उठाएर) गन्तव्यतर्फ लागे । 

चढेको केही समयमै ति महिला यात्रुले 'आफूसँग साथमा पैसा नभएको र मोबाइलमा पनि चार्ज सकिएका कारण गन्तव्यमा पुगेपछि ममीसँग पैसा मागेर दिने' बताइन । चालक सुरेन्द्रले पनि सो कुरा सजिलै स्वीकार गरे । 

त्यसको केही समयमै सुरेन्द्रलाई इन्ड्राइभबाट आएको त्यो रिक्वेस्ट क्यान्सिल अर्थात रद्द भयो । युवतीले 'मोबाइलमा चार्ज सकिन लागेको' बताएका कारण चार्ज सकियो होला भन्ने सोचेर सुरेन्द्रले वास्ता गरेनन् ।


यात्रा केही पार गरेपछि ति युवतीले पुनः 'घरमा आमा बिरामी भएका कारण औषधी लैजान पर्ने, आफूसँग साथमा पैसा र मोबाइलमा चार्ज नभएको' भन्दै सुरेन्द्रलाई ३ हजार दिन अनुरोध गरिन् । उनले सो पैसा समेत 'घरमा पुगेपछि आमासँग मागेर दिने' बताइन् । बिरामी नै भएको भनेपछि सुरेन्द्रले केही नसोची दिनभरि राइड गरेर कमाएको ३ हजार पैसा ती युवतीलाई थमाए । 

‘आमा नै बिरामी परेको भनेपछि कसो नदिउँ भन्ने लाग्यो । केही नसोची दिनभरि खाजा नखाई कमाएको पैसा उनको हातमा थमाइदिएँ ।’, सुरेन्द्रले सिधाकुरासँग भने, ‘हेर्दा सोझी थिइन् । मादक पदार्थ, लागू पदार्थ खाएर हिँड्ने खालको पनि लागेन । त्यही भएर पैसा दिएँ ।’

यतिसम्म कि सुरेन्द्रले आफ्नो बाइकमा तेल हाल्नुपर्ने भएपनि ती युवतीलाई पैसा दिएर आफूले बाटोमा अनलाइनबाट तेल हालेको पैसा तिरे ।

ती युवतीले एक फार्मेसीमा पुगेपछि सुरेन्द्रलाई औषधी किन्नका लागि भन्दै बाइक रोक्न भनिन् । फार्मेसीमा गएर औषधीसमेत किनिन् र गन्तव्यतिर लागिन् । 

उनीहरु इन्ड्राइभमा हालेको लोकेसन अर्थात जोरपाटी पुल नजिकै पुगे । तर, ती युवतीले 'घर अलिक भित्र भएका कारण त्यहाँ लगिदिन' अनुरोध गरिन् । राइड सेयरिङमा त्यस्तो भइरहने भएकाले सुरेन्द्रले युवतीले भनेकै स्थानमा पुर्याइदिए । 

गन्तव्यमा पुगेपछि ती युवतीले आमालाई भन्दै एक महिलालाई कल गरेर 'पैसा ल्याइदिन' अनुरोध गरिन् । ती महिलाले 'हुन्छ' भने पनि नआएपछि ती युवतीले नजिकैको पसललाई देखाउँदै 'त्यहाँबाट पैसा लिएर आउने' बताइन र पसलतर्फ लागिन् । त्यस समयसम्म सुरेन्द्रले बाइक फर्काउन लागे ।


बाइक फर्काएर २ मिनेट पर्खँदासमेत ती युवती नआएपछि उनले भक्तपुरमा ती युवतीलाई पिक गर्ने समयमा इन्ड्राइभ मार्फत कल गरेको नम्बरमा पुनः कल गरे । सो नम्बरमा कल गर्दा एक युवकले फोन उठाएर 'आफू कमलविनायकमा रहेको र ती युवतीले राइड बुक गरिदिन आग्रह गरेकाले आफूले इन्ड्राइभ गरिदिएको' बताए । 

उनले फोन काटे र ती युवतीले देखाएको पसलमा गए । 'ती युवती पैसा लिन भनेर त्यहाँ आएको' बताउँदै उनको खोजी गरे । तर, पसलमा भएका व्यापारीले 'आफ्नोमा कोही नआएको र मंगलबार मात्र त्यसै गरि युवतीहरुले सो स्थानमा ४/५  जनालाई ठगेको' जानकारी दिए । 

त्यसपछि भने सुरेन्द्रलाई आफू ठगिएको थाहा भयो । केही समय युवतीको पर्खाइमा त्यहि पसलमा पर्खि बसे । तर, युवती आउने कुनै पत्तो भएन । 

पसलेले समेत 'ती युवती त्यही स्थानमा बस्ने भए उनको फोटो हेरेर चिन्न सक्ने' बताए । त्यसपछि सुरेन्द्रले आफूले तेल हालेको पेट्रोल पम्प र ती युवतीले औषधी किनेको फार्मेसीमा सिसिटिभी चेक गर्न गए । त्यहाँबाट सिसिटिभी फुटेज लिएर ती पसलेकहाँ पुगेका सुरेन्द्रलाई 'आफूले ती युवती कहिल्यै नदेखेको' प्रतिक्रिया दिए । 


दिनभरी कमाएको पैसा लुटिएपछि उनी बुधबार बिहानै कमलविनायकस्थित ती युवतीलाई इन्ड्राइभ गरिदिने पसलमा पुगे र 'आफू लुटिएको' बताए । त्यतिमात्रै हैन, उनीहरुकै मिलेमतोमा आफू ठगिएको बताउँदै प्रहरीमा उजुरी दिने बताए । तर ती व्यक्तिले 'उनी आफूकहाँ आएको ग्राहक मात्रै भएको' प्रतिक्रिया दिए ।

त्यसपछि उनी ती युवतीविरुद्ध उजुरी दिन प्रहरी वृत बौद्ध पुगे । त्यहाँको प्रहरीले समेत 'इन्ड्राइभ कम्पनीले केही उजुरी नदिइ केही नहुने' भन्दै सुरेन्द्रलाई फर्काइदिए । 

उनले त्यसपछि इन्ड्राइभको नेपालस्थित सपोर्ट सेन्टरमा आफू ठगिएको जानकारी गराए । तर, इन्ड्राइभले गैर जिम्मेवार जवाफ पठायो । नेपालमा आफ्नो  कार्यालय नभएको बताउँदै इन्ड्राइभले एक्सन लिन्छौँ त भन्यो तर सहयोग भने गरेन । ‘ठगिएकोमा दुख व्यक्त गर्छौँ, हामी एक्सन लिन्छौँ’ चालकलाई इन्ड्राइभले पठाएको मेसेजमा भनिएको छ । 

घटना घटेको एक साता बित्न लाग्दासमेत कम्पनीले थप केही प्रतिक्रिया नदिएपछि सुरेन्द्रले पुन कम्पनीलाई झक्झकाए तर कम्पनीले आफू जिम्मेवार नहुने बतायो । ‘यसमा हामीले केही गर्न सक्दैनौँ ।’, कम्पनीले भनेको छ, ‘यो क्यान्सिल भएको राइड मा न हामीले कमिसन लिएका छौँ । राइड क्यान्सिल गर्ने सबैबाट हुन्छ । हामीले यो केही गर्न मिल्दैन ।’ 

आफू लुटिएकाे र साे विषय सरोकारवाला निकायमा जानकारी गराउँदासमेत वास्ता नगरेको भन्दै उनी सिधाकुराको कार्यालय आए । 

'आफू लुटिए पनि अरु राइडर नलुटिउन् भन्ने सोचेर आफू मिडियामा आउन चाहेको' उनी बताउँछन् । तीनै ठगिएका युवक सुरेन्द्रसँग सिधाकुराले गरेको कुराकानी यस्तो छ :

पूरा भिडियो :

नोटः पीडित युवकको अनुरोधमा उनको पहिचान गोप्य राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट...
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...
राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

२०८१ फागुनमा राजसंस्था समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई यसैगरी विमानस्थलमा स्वागत गरेका थिए । ज्ञानेन्द्रले पनि यसैगरी अभिवादन फर्काएका थिए ।  त्यतिबेला राजसंस्था समर्थक यति उत्साहित थिए कि, त्यसको अर्को...
लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

'आईजीपी साबको घरमा चोरी भएको छ । त्यो चोरी भएको हो कि होइन ? आईजीपीको घरबाट तीन करोड चोरी भयो, चोरीमा संलग्न मान्छेलाई प्रहरीको विशेष ब्यूरोमा लगेर यातना...