नेभिगेशन
सबै कुरा

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ । “घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन करिब ८० किलोमिटर टाढा कावासोती पुग्नुपर्छ, पालिका कार्यालय पुग्नै ४० किलोमिटर टाढा छ”, त्रिवेणीका स्थानीय विनयकुमार थापाले भने, “हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ ।”

त्रिवेणी क्षेत्रका दुई वटा वडाका बासिन्दाले  सहज बाटो नहुँदा धेरै दुःख खेप्नुपरेको उनले बताए । “हामीलाई आपत् छ, सदरमुकाम र पालिका जानुपर्ने कुनै काम नपरे हुन्थ्यो भन्ने लाग्छ, यति दुःख दिएर हामीलाई गण्डकीमा राख्नुभन्दा लुम्बिनी प्रदेशमा गाभिदिए हुने”, उनले भने । 

सदरमुकाममा कुनै काम लिएर जानुपरे दुःखसँगै आठ–दश हजार खर्च बोकेर हिँड्नुपर्ने अवस्था रहेको त्रिवेणीका विष्णुप्रसाद चौलागाईँले बताए । त्रिवेणी–दुम्कीबास बाटो खोल्छौँ भनेको धेरै समय बितेपनि अझै समस्या उस्तै रहेको उनले गुनासो गरे । “बाटो खोल्छौ भनेको यति समय बिते, प्रदेशका मुख्य व्यक्ति आउनेजाने गरेकै छन्, तर खोल्ने सुरसार छैन, अब त बाटो खुल्ने आशा पनि मरिसकेको छ”, उनले भने । 

लुम्बिनीमा राखे धेरै सहज हुने जनाउँदै चौलागाईँले थपे, “यहाँ घरको भात खाएर साइकलमा गएर नागरिकता बन्छ, मालपोतको काम हुन्छ, उहाँ कहाँ घुमेर पुग्नुपर्छ, सरकारलाई आग्रह छ । हाम्रा लागि कि बाटो खोलिदेऊ नत्र लुम्बिनीमा मिलाइदेउ ।”

त्रिवेणी–दुम्कीबास सडक नखोलेसम्म त्रिवेणी क्षेत्रका दुई वडाका बासिन्दाको भलाइ नहुने वडा नं ६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताए । बाटो नखुल्दा आफ्नै पालिका पुग्नसमेत कठिन अवस्था रहेको उनले बताए । बाटो नखोल्ने र गण्डकीमा रहने हो भने यहाँका जनतालाई कुनै भलो नहुने उनको तर्क छ ।

“पालिका जान ४० किलोमिटर पर पुग्नुपर्छ, त्यसमा दाउन्नेको जोखिमपूर्ण यात्रा गर्नुपर्ने उस्तै दुःख छ, गण्डकीमा हुँदासम्म राजनीतिक, आर्थिक र सामाजिक हिसाबले यहाँका जनताको कुनै भविष्य छैन”, वडाध्यक्ष शाहले भने, “यहाँका दुई वडालाई लुम्बिनी प्रदेशमा गाभिँदा बरु जनताको भलो हुन्छ ।”

त्रिवेणी–दुम्कीबास सडक खोल्ने विषय गाउँपालिकाले पटकपटक उठान गरिरहेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । यो सडक समग्र विनयी त्रिवेणीको र गण्डकी प्रदेशको भविष्यसँग जोडिएकाले सडक खोल्नुको विकल्प नभएको उनले बताए । त्रिवेणी क्षेत्रका स्थानीयको सहजता, समग्र पालिका र प्रदेशको आर्थिक विकाससँग त्रिवेणी–दुम्कीबास सडक जोडिएकाले यसलाई खुलाउने विषयमा प्रदेश, संघ र स्थानीय सरकार एक भएर लाग्नुपर्ने बताए । 

गत शुक्रबारमात्रै त्रिवेणी आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले त्रिवेणी–दुम्कीबास सडक खोल्न उच्च प्राथमिकता दिने बताएका थिए । प्रदेश सरकारले कोरला–त्रिवेणी जोड्ने लक्ष्य राखेकाले दक्षिणतर्फको भारतसँग जोडिएको त्रिवेणीनाकालाई खोल्न लागिपरेको उनले बताए । “गण्डकी प्रदेश सरकारको प्रमुख दायित्व र प्राथमिकतामा यो बाटो खोल्ने र गजेन्द्रमोक्षधामबाट मुक्तिनाथसम्मको यात्रा सरल र सहज बनाउने रहेको छ”, मुख्यमन्त्री पाण्डेले भने, “यसका लागि म मेरो पूर्ण शक्ति लगाउँछु ।” निकुञ्ज र वन ऐनका कारण सडक निर्माणमा समस्या उत्पन्न भएकाले देखिएका समस्याको समाधानसँगै प्रारम्भिक चरणका काम क्रमशः गर्नुपर्ने उनले बताएका थिए । 

नवलपुरको दुम्कीबासबाट बगुवन हुँदै त्रिवेणीसम्म १९ किलोमिटर दूरी पर्दछ । बगुवनसम्म अहिले पनि यातायात सञ्चालन हुने गर्दछन् । बगुवनबाट त्रिवेणीसम्म १६ किलोमिटर पर्दछ । यसमा करिब सात किलोमिटर क्षेत्रमा निकुञ्जले वन्यजन्तुको चरिचरन क्षेत्र बताउने गरेको छ । मध्यवर्ती क्षेत्र पर्ने र पुरानो हुलाकी सडक रहेको स्थानीयको भनाइ छ ।

विसं २०५९ अघि हुलाकी सडकका रूपमा रहेकामा  यस खण्डमा विसं २०६३ मा सडकको मर्मत गरी यातायात सञ्चालन गरिएको थियो । हुलाकी सडकका रूपमा रहेको यस खण्डलाई गजेन्द्रमोक्ष जनतामार्ग नामकरण गरी विसं २०६३ असोजमा यातायात सञ्चालन गरिएको थियो । विसं २०६४ जेठमा निकुञ्जले वन्यजन्तु चरिचरनको क्षेत्र भनेर समेटेपछि यातायात सञ्चालनमा रोक लगाइएको स्थानीयको भनाइ छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...