नेभिगेशन
सबै कुरा

हुलाकी राजमार्गको नवलपरासी खण्ड : ठेकेदारलाई गौरव, जनतालाई सास्ती

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा हुलाकी राजमार्ग खण्ड निर्माणमा भएको ढिलाईले सर्वसाधारणको जनजिवन कष्टकर बनेको छ । 

ठेकदारको बेइमानीका कारण समयमै सडक निर्माण सम्पन्न नहुँदा सर्वसाधारणहरू बर्खामा हिलो र हिउँदमा धुलोको चपेटामा परेका छन् । बाह्रै महिना असुरक्षित रहेको राजमार्गका कारण दुर्घटना समेत बढेको स्थानीहरू बताउँछन् । 

जिल्लाको नारायणचोक त्रिवेणी सडकखण्ड अन्तर्गत १५ किलोमिटरको दुइ पटक म्याद थप हुँदा पनि सडकको स्तरोन्नति नहुँदा राष्ट्रिय गौरवको आयोजना सर्वसाधारणका लागि सास्ती र ठेकदारका लागि भने गौरव मात्रै भएको छ । तर, हुलाकी राजमार्ग आयोजना कार्यालयले भने सडकको दुरावस्था हुनुमा जग्गा विवाद प्रमुख कारण भएको दाबी गर्छ । 

जनतालाई हैरानी 

नेपालको पूर्व-पश्चिम हुँदै तराईका वस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको हुलाकी राजमार्गकाे निर्माण २०६५ सालमा भएको थियो । 

आयोजनाले पूर्वमा झापा केचनादेखि पश्चिममा कञ्चनपुर दोधारा चाँदनीसम्मको भूभागलाई जोड्ने अवधारणा लिएको थियो । सोही आयोजनाको एक खण्ड नवलपरासीको नारायणचोक –त्रिवेणी सडक खण्ड हो । 

उक्त खण्डको सडक विस्तारको काम सक्न पटक पटक म्याद थप गरेपनि ठेकेदारले समयमै काम नगर्दा सडकको अवस्था जीर्ण बनेको छ । कृषि, पर्यटन र उद्योग क्षेत्रको विकासको मेरुदण्डको रुपमा लिइने हुलाकी राजमार्गमा पर्ने सडक विस्तारमा भइरहेको ढिलाईले सर्वसाधारण देखि नेतासम्म आजित मात्रै होइन आक्रोशित भएका छन् । 


‘भन्नलाई राष्ट्रिय गौरवको आयोजना भनिएको छ तर हामीलाई त यो ठेकेदारका लागि गौरव गर्ने योजना भएको छ । ठेकेदारले मनलागे काम गर्ने, मन नलागे छोडेर जाने,’ स्थानीय युवराज मौरिया भन्छन्, ‘हामी बर्खामा हिलोमा चोपिनुपर्ने, हिउँदमा धुलोमा डुब्नुपर्ने । यो सडकबाट हामी धेरै नै पीडित भएका छौँ ।’ 

‘यो सडक खण्डको विषय स्थानीय जनप्रतिनिधिदेखि केन्द्रिय नेतालाई भन्दा भन्दा हैरान भयौँ । अब गाडी फोड्न अनि कुट्न बाँकी छ,’ स्थानीय बैजनाथ बानियाँ भन्छन,‘ हामी दिक्क भइसक्यौँ । दुर्घटना कति भयो भयो । समस्याग्रस्त छ यहाँ । तर, कसैले सुनवाई गर्दैन ।’

दैनिक हिलो र धुलो खान बाध्य स्थानीहरू भने सरकार र नेताहरूले नागरिकको समस्यामा कुनै चासो नदिएको बताउँछन् । 

दोस्रो पटक म्याद थप्दा पनि ५५ प्रतिशत काम बाँकी

जिल्लामा राजमार्गको १५‍.५४६ किलोमिटर क्षेत्रफल पर्छ । पहिलो पटक २०७६ मङ्सिरमा भ्याट बाहेक ४९ करोड ६० लाख ६२ हजार ५ सय ४६ रुपैयाँमा ठेक्का सम्झौता भएको नारायणचोक त्रिवेणी जोड्ने १५.५४६ किलोमिटर सडक सहमतिअनुसार गत मङ्सिरसम्म काम सक्नुपर्ने थियो । तर, काम सम्पन्न भएन ।

दोस्रो पटक थप १५ करोड रुपैयाँ थप गरि बज्रगुरु महालक्ष्मी जेभी ललितपुरले निर्माण थाले पनि दोस्रो पटकको म्याद सकिन ५ महिना मात्रै बाँकी रहँदा हालसम्म जम्मा ४५ प्रतिशत मात्रै काम भएको छ । 


पटक पटक म्याद थप गर्दासमेत् काम नसकेको कम्पनीले उल्टै विभिन्न बहाना बनाउँदै आएको छ । ठेकेदारले कम्पनीले पहुँच र पावरको भरमा काम नगर्दा स्थानीयसँगै स्थानीय सरकार समेत रुष्ट बनेको छ ।

‘पालिकाकै मुख्य समस्या नै हुलाकी राजमार्ग बनेको छ । ठेकेदारले कसैलाई नटेर्ने भएर समस्या भइरहेको छ । हामीले पटकपटक लिखित तथा मौखिक पत्राचार गर्यौ तर उसले हामीलाई अटेर गरिरहेको छ,’ प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव भन्छन्, ‘पहुँचका भरमा काम नभएको हो, यसमा राज्य संवेदनशील हुनुपर्छ ।’  

समयमा काम नसक्ने ठेकेदार कम्पनीले उक्त सडकखण्डमा कमसल कच्चा पदार्थ प्रयोग गरेको स्थानीयको आरोप छ । बनेको सडक पनि कतिखेर उप्केर जाने हो ठेगान भएको उनीहरु बताउँछन् । 

सडक खण्ड निर्माणमा लापरवाही भएको भन्दै स्थानीहरू बारम्बार स्थानीय, प्रदेश र संघीय सरकार गुहारेरमात्र हैन प्रशासनमा पनि उजुरी लिएर पुगेका छन् । सार्वजनिक चासोका विषयमा गरिएको उजुरीको बेवास्ता भइरहेको स्थानीयले आरोप लगाउँदै गर्दा उता प्रमुख जिल्ला अधिकारी भने केन्द्रबाट नै आयोजनाका ठेकेदारलाई दबाब नदिँदा समस्यामा परेको बताउँछन् । 


‘यस राजमार्गलाई लिएर जनताको गुनासो अत्यन्तै पाएँ । यति सानो दुरीको काम पनि नहुनु लज्जाको विषय हो । यसमा राजनीतिज्ञ, सम्बन्धित मन्त्रालयका प्रतिनिधि र ठेकेदार कम्पनीलाई प्रशासनमै बोलाएर जिम्मेवारपूर्वक काम गर्न निर्देशन दिने तयारीमा छु ।’ प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले भने । 

दोस्रो पटक थपिएको म्याद आगामी असारमा सकिँदै छ । नेपालकै आधुनिक प्रविधि र गुणस्तरीय बाटो बन्ने दाबी गरिएकामा म्याद सकिँदा ६ किलोमिटर मात्रै बाटो बन्ने ठेकेदार कम्पनीले जनाएको छ । 

विभिन्न चुनौतीका बिच सडक निर्माणमा ढिलाइ भइरहेका कारण आफुहरुलाई समेत असहज भएको हुलाकी राजमार्ग आयोजना कार्यालय, कपिलवस्तुका इन्जिनियर युवराज पाण्डे बताउँछन् । 

‘अहिलेको व्यवस्थापकीय अवस्था हेर्दा यसपटक पनि यो काम सकिँदैन । जग्गाको विवाद, नली कटान, कुलो, राजकुलो जस्ता विषयमा समस्या हुँदा समयमा काम सकिएको छैन ।’ पाण्डेले भने । 

राजमार्गका कारण स्थानीहरू आक्रोशित भइरहेका बेला गए शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गको स्थलगत अनुगमन गरेका छन् । सो क्रममा उनले सडक निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको दाबी गरे । 

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्ताबासी जगनारायण कमकण भन्छन्, 'यहाँ म बसेको ५५ वर्ष भयो,  कति नेता आए गए । सब भोटकालागि आऊछन । तर केही गर्दैनन् । नेताप्रतिको सुस्ताबासीको विश्वास घट्दो छ...
उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा  धर्ना

उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा धर्ना

उखु उत्पादक महासंघ नेपालले गत आ।व। ०८१÷०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै आज देखी माइतीघरमा आन्दोलन सुरु गरेको...
ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

यो घटना गत महिनाको हो । काठमाडौँको फरएभर ह्युमन रिसोर्स सोलुसन प्रालिबाट माल्दिभ्स पुुगेका खोटाङ ऐसेलु खर्कका नौला सिंह विश्वकर्माले विभागमा उजुरी दिएका थिए ।   म्यानपावर कम्पनीका सञ्चालकहरु...
हिलाम्य सडकले यातायात कार्यालयका सेवाग्राहीलाई सास्ती

हिलाम्य सडकले यातायात कार्यालयका सेवाग्राहीलाई सास्ती

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पर्ने यो कार्यालयको पछाडिपटिको सडक हिलाम्य भएर सेवाग्राही मारमा पर्ने गरेका छन् ।