काठमाडौँ । भदौ १० गते बुधबार । बिहान करिव नौ बज्दै थियो । रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी आयो । रसुवा र नुवाकोटका आधा दर्जन बजार र कैयौँ बस्तीलाई क्षणभरमै बगायो ।
बाढीले केही बाँकी राखेन । थाहै नपाई बगे सयौँ मानिस । के महिला, के पुरुष, के वृद्धवृद्धा, के बालबालिका, बाढीले कसैलाई चिनेन । बगायो ।
भोटेकोशी बाढीका कारण सिंगो देश स्तब्ध छ । सिंगो राज्य उद्धार र राहतमा जुटेको छ । सुरक्षाकर्मी खाई नखाई, दिनरात नभनी बाढीग्रस्त क्षेत्रमा छन् । जंगलमा अलपत्रको उद्धार गरेका छन्, टनेलमा थुनिएकालाई ज्यानको बाजी लगाएर निकालिरहेका छन् । यी उद्धारकर्मीको मेहेनत हेर्दा लाग्छ– उनीहरुलाई आफ्नो भन्दा आपतमा परेका नागरिकका जीवनको चिन्ता छ ।
भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावितको संख्या अझै यकिन छैन । कतै सासको खोजी छ, कतै लासको ।
मर्ने त मरिगए, अब उनीहरु फर्किन सक्दैनन् । तर, बाँचेकाहरुलाई भने सहज रुपमा बचाउनुपर्ने छ । राज्यले त्यसैको प्रयास गरिरहेको छ । राज्यको यो प्रयासलाई आम नागरिकलेसमेत साथ दिइरहेका छन् । देशभित्रै बस्नेदेखि विदेशमा बस्ने नेपालीहरुले धमाधम राहत कोषमा रकम जम्मा गरिरहेका छन् । आफ्नो छाक काटेर भए पनि बाढी पीडितलाई खुवाउन खोजेका छन् ।
देश दुखेको बेला मल्हम लगाउन सबै तम्तयार छन्, प्रयासरत छन् ।
आखिर मानवीयता भन्ने यही त हो ।
तर, समाजमा केही यस्ता राक्षसी चरित्रका व्यक्तिहरु पनि हुन्छन्– जसले अरुको दुःखमा फाइदा निकाल्न खोज्छन् । यतिसम्म कि, शवमा समेत आँखा लगाउँछन् । पछिल्लो समय सामाजिक सञ्जालमा यी दुई भिडियो निकै भाइरल छन् ।
सुरुमा यो भिडियो हेरौं । यो नारायणी नदी किनारको भिडियो हो र यसमा नदीले बगाएर ल्याएका ग्यासका सिलिण्डर निकाल्न केही मानिस व्यस्त छन् ।
अनि यो दोस्रो भिडियो । यो पनि नारायणी किनारकै भिडियो हो । यी युवकले नदीले बगाएर ल्याएको महिलाको शवबाट सुनका गहना निकालिरहेका छन् ।
यो भिडियोले हरेक मानिसको मन कुँडिएको छ, विरक्तिएको छ । के समाजमा यस्ता मानिस पनि हुन्छन् ? के यी मानिस नै हुन् ? हरेकको मनमा यस्तै यस्तै प्रश्न उब्जिएको छ ।
यतिमात्रै हो र ? बाढीले बैंकसमेत बगाएको छ । बैंकका कर्मचारी बगाएको छ, बैंकको पैसा बगाएको छ । भोटेकोशीले बगाउँदै बैंकको सेफ त्रिशूली पुर्यायो । धादिङका केही मानिसले सेफ फेला पारे । सेफ फोरे । त्यहाँ भएका पैसा भागबण्डा लगाए । के यही हो त गर्ने ? धन्य, प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ र उनीहरुले भागबण्डा गरेकोमध्ये केही नगद बरामद गरेको छ ।
भोटेकोशीदेखि नारायणीसम्मै, रसुवादेखि नवलपरासीसम्मै अहिले बाढीले बगाएका शवको खोजी भइरहेको छ । सुरक्षाकर्मीले दिनरात नभनी भेलमै प्रवेश गरेर शव निकालिरहेका छन् । बाढीमा परेर बेपत्ता भएका व्यक्तिहरुका आफन्तजन अहिले उनीहरुको प्रतीक्षामा छन् । अस्पतालका आकस्मिक कक्षदेखि शवगृहसम्म पुगिरहेका छन् । यस्तो कारुणिक अवस्थामा मानिसहरुले नै कसरी यस्तो हर्कत गर्न सक्छन् भन्ने सर्वत्र प्रश्न उब्जिएको छ ।
यहाँ सम्झाइ हालौँ– बाढीले बगाएर ल्याएका शवबाट गहना चोरी गर्ने दुई जना पक्राउ परेका छन् । चितवन प्रहरीले भरतपुरको पोखरा बसपार्कबाट नवलपरासीका २५ वर्षीय मदन गुरूङ र सुनसरीका ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको हो । यी तिनै व्यक्ति हुन्, जसले भदौ १० गते बाढीले बगाएर ल्याएकी एक जना महिलाको शवबाट कानको मुन्द्रा चोरेका थिए । सामाजिक सञ्जालमा भाइरल भिडियोमा सुनको गहना निकाल्दै गरेको देखिएका व्यक्तिहरु यिनै हुन् ।
अब फेरि ग्यास सिलिण्डरको प्रसंग । स्वाभाविक रुपमा अहिले देशैभर खाना पकाउने ग्यासको अभाव छ । अभाव नै नभए पनि ग्यास सिलिण्डर आफैमा काम लाग्ने चिज हो । तर, बाढीले बगाएर ल्याएका सिलिण्डरमा जुन लोभ देखियो, त्यसले भने हेर्ने, देख्ने र सुन्ने सबैलाई लज्जित बनायो ।
बाढीका बेला प्रायः नदी किनारमा बसेर दाउरा र काठ निकालेको त यसअघि पनि देखिएकै हो । यसरी नदीबाट निकालिने काठ र दाउरा जति उपयोगी हुन्छ, त्यो भन्दा खतरनाक र जोखिमपूर्ण हुन्छ बाढी उर्लिएका बेला नदीमा पस्नु ।
काठ होस् कि सिलिण्डर, बाढीबाट झिक्दा स्वयम् झिक्ने मानिसकै जीवन खतरामा पर्छ । त्यही काठले उसैलाई धकेलेर बाढीमा लैजान सक्छ । सानो लोभमा फस्दा जीवन नै समाप्त हुन सक्छ । कम्तीमा सचेत नागरिकले यो सोच्नैपर्ने हुन्छ ।
महिलाको शवबाट गहना चोर्ने त पक्राउ परे । पक्कै पनि उनीहरुले कुकर्म गरिएछ भनेर सोचे होलान् ।
अब पक्राउ गर्नुपर्छ– यसरी ग्यास सिलिण्डर झिक्नेहरुलाई । चितवनका सिडिओ गणेश अर्यालले बाढीबाट झिकिएका सिलिण्डर तत्काल प्रशासनमा बुझाउन निर्देशन दिएका छन् । हाम्रो पनि आग्रह छ– जस जसले यसरी सिलिण्डर झिकेर लैजानु भएको छ, लगेर प्रशासनमा बुझाउनु होला ।
एउटा ख्याल गर्नुपर्ने कुरा के छ भने त्यसै पनि बाढीमा बगेका यस्ता सिलिण्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ । सिलिण्डरभित्र पानी छिरेको हुन सक्छ, सिलिण्डर चट्टानसँग ठोक्किएर कुच्चिएको हुनसक्छ । पानी छिरेका र कुच्चिएका सिलिण्डर प्रयोग गर्नु तपाईंका लागि मात्रै होइन, तपाईंको परिवार र तपाईंको समाजका लागि पनि घातक हुनसक्छ । सम्भावित जोखिमबाट जोगिन पनि यसरी बाढीमा बगेर आएका सिलिण्डर प्रयोग गर्नु हुँदैन ।
दुःखमा सँगै रुने र खुसीमा सँगै रमाउने नेपाली समाजको चरित्र हो, अभ्यास हो, परम्परा हो । भोटेकोशी बौलाउँदा सयौँ परिवार निमिट्यान्न भएको छ । सयौँको जीवन निमोठिएको छ । भनिन्छ नि– दुःख बाँडे घट्छ, सुख बाँडे बढ्छ । अहिले हामीले दुःख बाँड्ने हो । सकेसम्म बाढीबाट प्रभावितलाई सहयोग गर्ने हो । जो जहाँ छौँ त्यहीँबाट, जसले जे सक्छौँ त्यसैले सहयोग गर्ने हो ।
अहिले रसुवा र नुवाकोटमा विपत्ति आइलाग्यो । के थाहा– यस्तै विपत्ति भविष्यमा तपाईं हाम्रो गाउँ ठाउँमा पनि आउँछ कि ? यत्ति मात्रै सोच्न सकियो भने पक्कै पनि सहयोगी भाव पलाउने छ, मानवीयता जाग्ने छ ।
हामीले हेक्का राख्नुपर्ने अर्को विषय पनि छ र त्यो हो– बजार । यस्तै बेला कालोबजारी मौलाउँछ । व्यापारी साना हुन् कि ठूला, सामान लुकाउने र महँगो मूल्यमा बिक्री गरेर कालोबजारी गर्न सक्छन् । भोटेकोशी बाढीका कारण संघीय राजधानी काठमाडौँकै लाइफलाइन मानिने पृथ्वीराजमार्ग अवरुद्ध छ । धादिङ, नुवाकोट र रसुवामा पनि आवतजावत र सामान ढुवानी सजिलो छैन । प्रभावित जिल्लामा त आधा दर्जन बजारै बगाएको छ । नाफाखोर केही व्यक्तिले यही मौका छोपेर जुनसुकै बेला पसलमा सामान छैन भन्न सक्छन् । राजधानीकै बजारमा यसका केही संकेत देखिन थालिसकेको छ । बढी मुल्य लिन थालेको गुनासो आउन थालेको छ ।
पहिलो कुरा त स्वयम् व्यापारीले यसो गर्न भएन । कोही कसैले धेरै पैसा मागे उपभोक्ताले नै उनीहरुलाई सचेत गराउनु पर्यो । यति गर्दा पनि भएन भने राज्यका निकायहरु सक्रिय हुनुपर्यो । राज्य बाढी प्रभावितको राहत र उद्धारमा सक्रिय छ । यसमा कमजोरी हुन दिने छुट छैन । तर, बजार नियमनमा पनि ध्यान दिनुपर्छ । बजारमा राज्यको सक्रियतासँगै आम उपभोक्ताको साथको पनि खाँचो छ । राज्यका निकाय र उपभोक्ता सक्रिय भएमा कालोबजारी मौलाउन पाउने छैन ।
हाम्रो फेरि आग्रह छ– यो मानवीयता देखाउने समय हो । सकेसम्म सहयोग गर्ने समय हो । बाढीबाट प्रभावितको अनुहार हेरौँ, जे सक्छौँ त्यही सहयोग गरौँ ।