नेभिगेशन
समाज

भोटेकोशीको बाढीमा बगेको ‘मानवीयता’

काठमाडौँ । भदौ १० गते बुधबार । बिहान करिव नौ बज्दै थियो । रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी आयो । रसुवा र नुवाकोटका आधा दर्जन बजार र कैयौँ बस्तीलाई क्षणभरमै बगायो ।
बाढीले केही बाँकी राखेन । थाहै नपाई बगे सयौँ मानिस । के महिला, के पुरुष, के वृद्धवृद्धा, के बालबालिका, बाढीले कसैलाई चिनेन । बगायो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोटेकोशी बाढीका कारण सिंगो देश स्तब्ध छ । सिंगो राज्य उद्धार र राहतमा जुटेको छ । सुरक्षाकर्मी खाई नखाई, दिनरात नभनी बाढीग्रस्त क्षेत्रमा छन् । जंगलमा अलपत्रको उद्धार गरेका छन्, टनेलमा थुनिएकालाई ज्यानको बाजी लगाएर निकालिरहेका छन् । यी उद्धारकर्मीको मेहेनत हेर्दा लाग्छ– उनीहरुलाई आफ्नो भन्दा आपतमा परेका नागरिकका जीवनको चिन्ता छ ।

Ncell
Extreme Energy

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावितको संख्या अझै यकिन छैन । कतै सासको खोजी छ, कतै लासको ।

मर्ने त मरिगए, अब उनीहरु फर्किन सक्दैनन् । तर, बाँचेकाहरुलाई भने सहज रुपमा बचाउनुपर्ने छ । राज्यले त्यसैको प्रयास गरिरहेको छ । राज्यको यो प्रयासलाई आम नागरिकलेसमेत साथ दिइरहेका छन् । देशभित्रै बस्नेदेखि विदेशमा बस्ने नेपालीहरुले धमाधम राहत कोषमा रकम जम्मा गरिरहेका छन् । आफ्नो छाक काटेर भए पनि बाढी पीडितलाई खुवाउन खोजेका छन् ।

देश दुखेको बेला मल्हम लगाउन सबै तम्तयार छन्, प्रयासरत छन् ।

आखिर मानवीयता भन्ने यही त हो ।

तर, समाजमा केही यस्ता राक्षसी चरित्रका व्यक्तिहरु पनि हुन्छन्– जसले अरुको दुःखमा फाइदा निकाल्न खोज्छन् । यतिसम्म कि, शवमा समेत आँखा लगाउँछन् । पछिल्लो समय सामाजिक सञ्जालमा यी दुई भिडियो निकै भाइरल छन् ।

सुरुमा यो भिडियो हेरौं । यो नारायणी नदी किनारको भिडियो हो र यसमा नदीले बगाएर ल्याएका ग्यासका सिलिण्डर निकाल्न केही मानिस व्यस्त छन् ।

अनि यो दोस्रो भिडियो । यो पनि नारायणी किनारकै भिडियो हो । यी युवकले नदीले बगाएर ल्याएको महिलाको शवबाट सुनका गहना निकालिरहेका छन् ।

यो भिडियोले हरेक मानिसको मन कुँडिएको छ, विरक्तिएको छ । के समाजमा यस्ता मानिस पनि हुन्छन् ? के यी मानिस नै हुन् ? हरेकको मनमा यस्तै यस्तै प्रश्न उब्जिएको छ ।

यतिमात्रै हो र ? बाढीले बैंकसमेत बगाएको छ । बैंकका कर्मचारी बगाएको छ, बैंकको पैसा बगाएको छ । भोटेकोशीले बगाउँदै बैंकको सेफ त्रिशूली पुर्यायो । धादिङका केही मानिसले सेफ फेला पारे । सेफ फोरे । त्यहाँ भएका पैसा भागबण्डा लगाए । के यही हो त गर्ने ? धन्य, प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ र उनीहरुले भागबण्डा गरेकोमध्ये केही नगद बरामद गरेको छ ।

भोटेकोशीदेखि नारायणीसम्मै, रसुवादेखि नवलपरासीसम्मै अहिले बाढीले बगाएका शवको खोजी भइरहेको छ । सुरक्षाकर्मीले दिनरात नभनी भेलमै प्रवेश गरेर शव निकालिरहेका छन् । बाढीमा परेर बेपत्ता भएका व्यक्तिहरुका आफन्तजन अहिले उनीहरुको प्रतीक्षामा छन् । अस्पतालका आकस्मिक कक्षदेखि शवगृहसम्म पुगिरहेका छन् । यस्तो कारुणिक अवस्थामा मानिसहरुले नै कसरी यस्तो हर्कत गर्न सक्छन् भन्ने सर्वत्र प्रश्न उब्जिएको छ ।

यहाँ सम्झाइ हालौँ–  बाढीले बगाएर ल्याएका शवबाट गहना चोरी गर्ने दुई जना पक्राउ परेका छन् । चितवन प्रहरीले भरतपुरको पोखरा बसपार्कबाट नवलपरासीका २५ वर्षीय मदन गुरूङ र सुनसरीका ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको हो । यी तिनै व्यक्ति हुन्, जसले भदौ १० गते बाढीले बगाएर ल्याएकी एक जना महिलाको शवबाट कानको मुन्द्रा चोरेका थिए । सामाजिक सञ्जालमा भाइरल भिडियोमा सुनको गहना निकाल्दै गरेको देखिएका व्यक्तिहरु यिनै हुन् ।

अब फेरि ग्यास सिलिण्डरको प्रसंग । स्वाभाविक रुपमा अहिले देशैभर खाना पकाउने ग्यासको अभाव छ । अभाव नै नभए पनि ग्यास सिलिण्डर आफैमा काम लाग्ने चिज हो । तर, बाढीले बगाएर ल्याएका सिलिण्डरमा जुन लोभ देखियो, त्यसले भने हेर्ने, देख्ने र सुन्ने सबैलाई लज्जित बनायो ।

बाढीका बेला प्रायः नदी किनारमा बसेर दाउरा र काठ निकालेको त यसअघि पनि देखिएकै हो । यसरी नदीबाट निकालिने काठ र दाउरा जति उपयोगी हुन्छ, त्यो भन्दा खतरनाक र जोखिमपूर्ण हुन्छ बाढी उर्लिएका बेला नदीमा पस्नु ।

काठ होस् कि सिलिण्डर, बाढीबाट झिक्दा स्वयम् झिक्ने मानिसकै जीवन खतरामा पर्छ । त्यही काठले उसैलाई धकेलेर बाढीमा लैजान सक्छ । सानो लोभमा फस्दा जीवन नै समाप्त हुन सक्छ । कम्तीमा सचेत नागरिकले यो सोच्नैपर्ने हुन्छ ।

महिलाको शवबाट गहना चोर्ने त पक्राउ परे । पक्कै पनि उनीहरुले कुकर्म गरिएछ भनेर सोचे होलान् ।

अब पक्राउ गर्नुपर्छ– यसरी ग्यास सिलिण्डर झिक्नेहरुलाई । चितवनका सिडिओ गणेश अर्यालले बाढीबाट झिकिएका सिलिण्डर तत्काल प्रशासनमा बुझाउन निर्देशन दिएका छन् । हाम्रो पनि आग्रह छ– जस जसले यसरी सिलिण्डर झिकेर लैजानु भएको छ, लगेर प्रशासनमा बुझाउनु होला ।

एउटा ख्याल गर्नुपर्ने कुरा के छ भने त्यसै पनि बाढीमा बगेका यस्ता सिलिण्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ । सिलिण्डरभित्र पानी छिरेको हुन सक्छ, सिलिण्डर चट्टानसँग ठोक्किएर कुच्चिएको हुनसक्छ । पानी छिरेका र कुच्चिएका सिलिण्डर प्रयोग गर्नु तपाईंका लागि मात्रै होइन, तपाईंको परिवार र तपाईंको समाजका लागि पनि घातक हुनसक्छ । सम्भावित जोखिमबाट जोगिन पनि यसरी बाढीमा बगेर आएका सिलिण्डर प्रयोग गर्नु हुँदैन ।

दुःखमा सँगै रुने र खुसीमा सँगै रमाउने नेपाली समाजको चरित्र हो, अभ्यास हो, परम्परा हो । भोटेकोशी बौलाउँदा सयौँ परिवार निमिट्यान्न भएको छ । सयौँको जीवन निमोठिएको छ । भनिन्छ नि– दुःख बाँडे घट्छ, सुख बाँडे बढ्छ । अहिले हामीले दुःख बाँड्ने हो । सकेसम्म बाढीबाट प्रभावितलाई सहयोग गर्ने हो । जो जहाँ छौँ त्यहीँबाट, जसले जे सक्छौँ त्यसैले सहयोग गर्ने हो ।

अहिले रसुवा र नुवाकोटमा विपत्ति आइलाग्यो । के थाहा– यस्तै विपत्ति भविष्यमा तपाईं हाम्रो गाउँ ठाउँमा पनि आउँछ कि ? यत्ति मात्रै सोच्न सकियो भने पक्कै पनि सहयोगी भाव पलाउने छ, मानवीयता जाग्ने छ ।

हामीले हेक्का राख्नुपर्ने अर्को विषय पनि छ र त्यो हो– बजार । यस्तै बेला कालोबजारी मौलाउँछ । व्यापारी साना हुन् कि ठूला, सामान लुकाउने र महँगो मूल्यमा बिक्री गरेर कालोबजारी गर्न सक्छन् । भोटेकोशी बाढीका कारण संघीय राजधानी काठमाडौँकै लाइफलाइन मानिने पृथ्वीराजमार्ग अवरुद्ध छ । धादिङ, नुवाकोट र रसुवामा पनि आवतजावत र सामान ढुवानी सजिलो छैन । प्रभावित जिल्लामा त आधा दर्जन बजारै बगाएको छ । नाफाखोर केही व्यक्तिले यही मौका छोपेर जुनसुकै बेला पसलमा सामान छैन भन्न सक्छन् । राजधानीकै बजारमा यसका केही संकेत देखिन थालिसकेको छ । बढी मुल्य लिन थालेको गुनासो आउन थालेको छ ।

पहिलो कुरा त स्वयम् व्यापारीले यसो गर्न भएन । कोही कसैले धेरै पैसा मागे उपभोक्ताले नै उनीहरुलाई सचेत गराउनु पर्यो । यति गर्दा पनि भएन भने राज्यका निकायहरु सक्रिय हुनुपर्यो । राज्य बाढी प्रभावितको राहत र उद्धारमा सक्रिय छ । यसमा कमजोरी हुन दिने छुट छैन । तर, बजार नियमनमा पनि ध्यान दिनुपर्छ । बजारमा राज्यको सक्रियतासँगै आम उपभोक्ताको साथको पनि खाँचो छ । राज्यका निकाय र उपभोक्ता सक्रिय भएमा कालोबजारी मौलाउन पाउने छैन ।

हाम्रो फेरि आग्रह छ– यो मानवीयता देखाउने समय हो । सकेसम्म सहयोग गर्ने समय हो । बाढीबाट प्रभावितको अनुहार हेरौँ, जे सक्छौँ त्यही सहयोग गरौँ ।        
  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो...
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

एम्बुलेन्सको ओहोरदोहोर बाक्लो छ । शव ओसार्न भ्याइनभ्याइ छ । रसुवा बाढीमा परेर हराएकाहरु चितवनको नारायणी किनारमा भेटिइरहेका छन् । नारायणीमा भेटिएका शव भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग...
रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावरहरु प्रभावित भएर सेवामा असर परेको थियो । ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै...