नेभिगेशन
सबै कुरा

४६ वर्षपछि परिवार खोज्दै जन्मथलो फर्किए पुर्ते !

काठमाडौँ । कल्पना गर्नुहोस् त, यदि तपाईँ अहिले नै जन्मभूमि छोडेर ४६ वर्षपछि मात्रै सो ठाउँमा फर्कनु भयो । अब तपाईंले त्यो ठाउँ चिन्न सक्नु होला ?

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

अझ, यदि तपाईँ नेपाल छोडेर ४६ वर्षपछि नेपाल फर्किनुभयो भने अहिलेको नामोनिसाना के बाँकी रहला ?

यति भन्दै गर्दा दिमागमा केही तस्विर घुमे ?

काल्पनिक तस्वीरले मस्तिष्कमा पक्कै घर बनाए होलान् ।

तर आज हामी तपाईँलाई यस्तो एक कथा भन्दै र देखाउँदै छौँ, त्यो कथा काल्पनिक कथा नभएर वास्तविक कथा हो । अर्थात, त्यो कथा ४६ वर्षअघि नेपाल छोडेर पुनः नेपाल फर्किएका एक सिन्धुवासीको कथा हो ।

०००

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ तिनघरेका पुर्ते राना मगर, आजभन्दा करिब ४६ वर्षअघि कामको खोजीमा काठमाडौँ आएका थिए । यो अर्थात २०३५ सालतिरको कुरा हो ।   त्यो समयमा उनी जम्मा १७ वर्षका मात्रै थिए । 

अन्य २ जना साथी ‘साँइलो’ र ‘अम्बागुने’ सहित काठमाडौँ आएका उनीहरूले काठमाडौँकै एक स्थानीयको खेतमा काम गर्न थाले । २ दिन काम गरेपछि रत्नपार्क घुम्न पुगेका उनीहरु एक शेर्पाको नजरमा परे । ती शेर्पाले पुर्तेसहित तीनै जनालाई आफूले राम्रो काम लगाइदिने, कुर्सीमा बसेर अरुलाई काम लगाउने हो भन्दै फकाएपछि राम्रो अवसरको खोजीमा उनीहरु ती शेर्पासँग जान सहमत भए ।

‘हामीलाई गाउँबाट आएको हो भन्ने चिनेछ’, पुर्ते भन्छन्, ‘उसले म तिमीहरूलाई जागिर खिलाउँछु, सजिलो काम छ, कुर्सीमा बसेर अरुलाई काम लगाउने हो भन्यो । अल्लारे उमेर थियो, बसेर खान पाइन्छ भनेपछि किन नजाले भनेर हामीले उसलाई विश्वास गर्याैँ र उसैसँग गयौँ ।’

अपरिचित ती शेर्पाले पुर्ते र उनका साथीलाई ४ दिन लगाएर भारत र चीनको बोर्डरमा पुर्याए । कठ्याङ्ग्रिदो चिसो, त्रिपाल र पातीले बारेको कटेरोमा उनीहरूलाई राखियो । त्यस दिनपछि उनीहरूले ती शेर्पालाई कहिल्यै देखेनन् । 


काठमाडौँबाट लैजाँदा कुर्सीमा बसेर जागिर खाने बताइएकाे उनीहरूलाई त्यहाँ लगेर सडक खन्न लगाइयो । 

उनीहरूले ठेकेदारले भनेअनुसारकै काम गरे । महिना बितेपछि ठेकेदारले उनीहरूलाई पैसा बुझाउँथे तर पुर्ते र उनका साथीको पैसा समेत अर्कैले हातबाट खोसेर लग्थ्यो । उनीहरु खालीहात काम गर्न बाध्य थिए ।

उनीहरूलाई खानका लागि मुसुरोको दाल र पिठो दिइन्थ्यो । ठेकेदारले दिनरात काममा लगाउने, तर पैसा आफूले नपाएपछि उनीहरूलाई त्यहाँ बस्न पनि कठिन थियो, अन्त जान झनै सम्भव थिएन । 

२ वर्ष काम गरेपछि आफूहरुको लुगा फाटेको तर किन्न पैसा समेत नपाएको भन्दै एकदिन ठेकेदारलाई आफूहरु घर फर्कने बताए । तर, ठेकेदारले तिमीहरुलाई किनेको बताए । उनीहरुको होस उड्यो । आफू बिचिएको पत्तो पाएर उनीहरु निरास भए ।

‘लुगा फाटिसकेको थियो । एकदिन हामीले ठेकेदारलाई हामी तातो जग्गामा जान्छौँ भन्यौँ तर ठेकेदारले तिमीलाई ल्याउने मान्छेले तिमीहरुको पैसा लिएर गइसकेको छ । तिमीहरु जान पाउँदैनौँ भन्यो’, पुर्ते विगतका ती कहालिलाग्दा दिन सम्झिन्छिन्, ‘ठेकेदारले त्यसो भनेपछि पो आफूहरु बेचिएको रहेछौँ भन्ने पत्तो पायौँ ।’

उनीहरुले पानी समेत नथेग्ने कटेरो, थोत्रा कपडा, पिठो र मुसुरोको दालका भरमा थप डेढ वर्ष कटाए । अवस्था अत्यन्तै नाजुक भएपछि उनीहरु त्यहाँबाट रातारात भागेर ३ दिनपछि भारतको मनाली भन्ने ठाउँमा पुगे । 

भारतको हिमाचल प्रदेशमा पर्ने मनालीमा पुर्ते लगायत उनका साथी यसअघि बसेको बोर्डरको भन्दा केही न्यानो थियो तर चिसो भने कम थिएन ।

उनीहरु तीनै जनाले करिब डेढ महिना सोही मनाली भन्ने ठाउँमा सँगै काम गरे । त्यहाँ पनि उनीहरुले सडक बनाउने काम नै गरे । त्यस ठाउँमा आएपछि मात्रै पैसा लिन पाएको पुर्ते बताउँछन् । 

करिब डेढ महिना काम गरेपछि पुर्तेका साथी मनालीभन्दा तातो र राम्रो कामको खोजीमा हिँडे तर पुर्तेलाई मनाली नै उत्तम लाग्यो । उनले त्यहिँ बसेर काम गरे । पुर्तेले मनाली रोजे, साथीहरुले अन्तै अनि साथीको साथ पनि बाटोमै बिरायो । 

पुर्तेले आफ्नो ४ दशक बढी समय त्यही मनालीमा बिताए । भारतीय मुलकै एक युवतीसँग विवाह पनि गरे, २ छोरी, १ छोरा समेत जन्माए । तर, पारिवारिक बन्धनका कारण जन्मेको देश र गाउँ फर्कन मेसो मिलेन । 


‘उमेरमै आफ्नो देश फर्कन मन नलागेको त होइन नि तर के गर्नु, विहेबारी भयो, छोराछोरी भए ।’, पुर्ते भन्छन्, ‘मनालीमा काम गरेको पैसाले घरपरिवार हुर्काउन त धौधौ पर्थ्याे । यता आएको भए सबैको बिचल्ली हुन्थ्यो । अरु नेपाली आउँदै जाँदै गर्थे तर म भने मन मारेर बस्थेँ ।’

उनका २ छोरीहरुको भारतमै विवाह भयो, श्रीमतिको रोगले अल्पायुमा निधन भयो । श्रीमतिलाई देश लिएर आउने उनको सपनको देहवासन भयो । भाडाको कोठामा पुनः २ बाबु छोरा मात्रै रहे । 

देश छोडेको साढे ४ दशक बित्दासमेत उनले आफ्नो देश, गाउँ, ठाउँ र परिवेश भुल्न सकेका थिएनन् । मनाली पुगेका नेपालीलाई उनी आफ्नो गाउँ पञ्चायबारे सोध्थे तर त्यो पुरानो गाउँको नामले उनको गाउँको खबर कसैले पुर्याउन सकेनन् । 

पुर्ते जीवनको करिब साढे ६ दशक पहिचानविहिन बने अर्थात उनीसँग कुनै देशको नागरिकको परिचयपत्र समेत थिएन । उनलाई आफ्नो सन्तान पनि अनागरिक बन्छ कि भन्ने पिरले सँधै सताइरहन्थ्यो ।

युवा अवस्थामा प्रवेश गरेको छोरालाई आफ्नो देश देखाउनुपर्छ र आफ्नै देशको नागरिक बनाउनुपर्छ भनेर उनले ६३ वर्षको उमेरमा नेपाल फर्कने बाटो खोज्न थाले । उनको जेठी छोरी र ज्वाईँले उनलाई नेपाल पठाउन सहयोग गरे । 

उनी र उनको छोरा मनालीबाट दिल्लीको लागि गाडि चढे । दिल्लीबाट गाढी चढेर गत मंसिर १ गते काठमाडौँको स्वयम्भू ओलिएका उनलाई त्यसबखत आफू स्वर्ग आएको आभास भएको बताउँछन् ।

‘ओहो ! देश टेक्न पाउँदा त संसार जितेजस्तो भयो । जताततै नेपाली बोल्ने मानिसहरु ।’, पुर्तेले सिधाकुरासँग भने । 

उनले देश छोडेको साढे ४ दशक भएपनि गाउँका केही नाम भुलेका थिएनन्, ढाँडखोला, तेर्से, चिलाउने आदी । यी नाम लिएर काठमाडौँका मानिसहरुलाई सोधेपनि उनीहरुले यो विषयमा जानकारी नभएको बताए । त्यसपछि पुर्ते र उनका छोरा मेलम्चीको गाडी चढेर मेलम्ची बजार पुगे । 

त्यसपछि पुर्ते र उनका छोरा पुरानो बाटो पछ्याउँदै घरतर्फ उकालो लागे । घण्टौँ हिँडेपछि घरभन्दा केही तल ठूलो जङ्गल रहेको र त्यहाँ खेतमा मानिसहरु धानको बिटा लगाउँदै थिए । गाउँमा नौलौ मान्छे देखेपछि उनीहरूले पुर्तेलाई उनीहरुको पहिचान सोधे ।

पुर्तेले सबै पूराना मान्छेहरुको नाम लिए, कसैले चिन्न सकेनन् । उनी आफूले गाउँ छोड्दा सानै रहेको उनको भतिजोको नाम लिए । त्यसपछि भने गाउँलेहरुले उनको पहिचान गरे र उनको भतिजोलाई बोलाइदिए । 

‘मेरो तक्दिर बलियो रहेछ, धन्न भतिजोको नाम थाहा थियो र ति काम गर्ने मान्छेहरुले मेरो भतिजोलाई बोलाइदिए,’ पुर्ते मुस्काउँछन् । 

भतिजोले आफ्ना बाबु अर्थात पुर्तेका सानो भाईलाई समेत लिएर त्यही खेतमा आइपुगे । भाई र आफ्नो अनुहार एउटै भएपछि भाईले उनलाई चिन्न समय लगाएनन् । उनले आफूले आफ्नो घर रहेको ठाउँ, जग्गाको साँध सबै छुट्याएपछि आफन्तले पनि आफूलाई आफ्नै मान्छे भएको स्विकारेको उनी बताउँछन् ।

४६ वर्षपछि गाउँघर खोज्दै सिन्धुपाल्चोक पुगेका एक सिन्धुवासीदेखि खुसी भएर वडा कार्यालयले समेत प्रक्रिया पुराएर उनलाई नागरिकता दिलाइदिएको छ । यत्तिका वर्ष अनागरिक बनेका पुर्ते शिरमा सगरमाथाजस्तै अटल ढाकाटोपी लगाएको तस्विर अंकित नागरिकता पाउँदा दङ्ग छन् । 


जिल्ला प्रशासन र वडा कार्यालयले ३५ दिन कटेपछि छोराको समेत नागरिकता बनाइदिने बताएको पुर्ते बताउँछन् । 

उनी अब भारत नफर्कने बाचा गर्छन् । त्यस्तै छोरालाई समेत आफूले दुःख गरेर बि.कम अर्थात ब्याच्लर्स इन कमर्स पढाएको बताउने उनी छोरालाई नेपालमै कतै रोजगारी पाए बस्न सहज हुने बताउँछन् । 

जीवनको उत्तरार्धमा घर फर्किएका पुर्ते र उनका छोरा अहिलेसम्म त आफन्तको शरणमा बसेका छन् । उनीहरुसँग खान लाउन आर्थिक अभाव छ । आफन्तले गाउँमा जग्गा उपलब्ध गराइदिने बताएका छन् तर घर बनाउन समेत पैसाकाे समस्या छ । देश विदेशमा छरिएर रहेका नेपालीसामू उनी सहयोगको याचना गर्छन् । 


पुर्ते मगर उनका छोरालाई सहयोग गर्नका लागि :

सम्पर्क नम्बर : ९७६३३३६९०५, ९८०८४५३१२८

खाता नम्बर : 

बैंकः ग्लोबल आइएमई बैंक (अनामनगर ब्रान्च)

खाता नम्बर : ०३९०७०१०९४८२३४

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निजामती कर्मचारीमा व्यापक 'रिफम' गर्दै सरकार, सचिव सहित पुराना १० हजार कर्मचारीलाई एकैपटक घर पठाइँदै

निजामती कर्मचारीमा व्यापक 'रिफम' गर्दै सरकार, सचिव सहित पुराना १० हजार कर्मचारीलाई एकैपटक घर पठाइँदै

विशेषगरी सचिव, सहसचिव र उपसचिव तहका अधिकांश कर्मचारीहरू यो प्रावधानले अवकाशमा जानेछन् । यो व्यवस्था लागु हुँदा साथ ५० भन्दा सचिव स्वत अवकाशमा जाने छन् भने ६० प्रतिशतबढी...
रवि–मोदी ‘डिप्लोम्याटिक डिपार्चर’

रवि–मोदी ‘डिप्लोम्याटिक डिपार्चर’

भेटमा सहभागी नेपाली प्रतिनिधि मण्डलका सदस्यहरुका अनुसार, यी सबै विषयमा खुलेर वार्ता भएको छ । अविश्वासको अन्त्य गर्दै सम्बन्ध सुधार गर्न दुवै देशका नेता तयार देखिएका छन् ।...
भारतमा रविलाई ‘रेड कार्पेट’

भारतमा रविलाई ‘रेड कार्पेट’

भारतीय मिडियाहरुले रविलाई जेनजी आन्दोलनले स्थापित गरेका नेताका रुपमा चर्चा गरिरहेका छन् । उनीहरुको तर्क एक हदसम्म के ठीक छ भने– जेनजी आन्दोलनले रास्वपालाई सबैभन्दा ठूलो दलका रुपमा...
रवि–मोदी कूटनीति

रवि–मोदी कूटनीति

भारतले रवि लामिछानेलाई किन बोलायो ? रविले नयाँ दिल्लीमा को को सँग भेटवार्ता गर्दैछन् ? रविको दिल्ली भ्रमणको सन्देश के हो ? दुई देशका बीचमा रहेका विवाद समाधानका...

भर्खरै